कैलाली। सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘सुदूरपश्चिम महोत्सव’ सुरु भएको भएको छ। सुदूरपश्चिम महोत्सवको १९औं संस्करण सोमबारदेखि कैलालीको धनगढीमा सुरु भएको हो।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा ‘पर्यटन, संस्कृति, उद्योग र व्यापारः समृद्ध सुदूरपश्चिमको आधार’ मूल नाराका साथ उक्त महोत्सव सञ्चालनमा आएको हो।
संघका अध्यक्ष पुुष्करराज ओझाले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए।
यस क्षेत्रका समग्र सम्भावना उजागर गरी आर्थिक, सामाजिक प्रतिकूलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुनःस्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने अध्यक्ष ओझाको भनाइ छ। महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषि प्रविधिलाई व्यवसायमा जोड्न जोड दिइने उनको भनाइ छ।
महोत्सव आयोजना गर्न तीन करोड लागत लाग्ने अनुमान गरिएको जनाउँदै ओझाले १५ करोड बराबरको कारोबार हुने विश्वास व्यक्त गर्नुभयो। उनका अनुसार यस वर्षको महोत्सवमा करिब सात लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी ५०० बढी स्टल रहेका छन्। सधैँका संस्करणमा झैँ यसपटक पनि महोत्सवमा बिक्री हुने टिकटको केही रकम सामाजिक क्षेत्रका विषयका कार्य छुट्याइएको छ।
महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० र अन्यलाई रु १०० राखिएको छ भने ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई प्रवेश निःशुल्क गरिएको छ।
महोत्सवको मुख्य प्रायोजक निःशर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर रहेको छ भने संरक्षक नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश रहेका छन्। सोमबारदेखि सुरु भएको महोत्सव आगामी पुस २ सम्म सञ्चालन हुनेछ।
उद्योग, वाणिज्य कृषि, उद्योग, व्यापार पर्यटनलगायतको प्रवर्द्धन गरी समृद्ध सुदूरपश्चिम बनाउने अभियानअन्तर्गत विसं २०६३ देखि सुदूरपश्चिम महोत्सव थालनी गरिएको थियो।–रासस