रुपन्देही। चेम्बर अफ कमर्स तथा उद्योग व्यापार संगठन, रुपन्देहीको आयोजनामा भैरहवामा सञ्चालित सातौं लुम्बिनी महोत्सव सम्पन्न भएको छ। उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजारको प्रवद्र्धन गरौँ, स्वदेशी वस्तुको प्रयोग गरौँ, स्वाभिमानी नेपालीको पहिचान बनाऔँ’ मूल नाराका साथ मंसिर ३ देखि सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा सञ्चालित महोत्सव मंसिर २१ गते समापन भएको हो।
महोत्सवमा करिब १२ करोड बराबरको कारोबार भएको जिल्लास्थित चेम्बर अफ कमर्सका अध्यक्ष एवं महोत्सव मूल आयोजक समिति संयोजक सचिन रोक्काले जानकारी दिए। उनका अनुसार महोत्सव एक लाख २० हजार दर्शकले अवलोकन गरेका छन्।
संयोजक सचिन रोक्काले आगामी दिनमा यस्ता महोत्सव सरकारले स्वामित्व लिएर आयोजना गर्नुपर्नेमा जोड दिँदै त्यसमा निजी क्षेत्र सहभागी हुने बताए।
संस्थाका वरिष्ठ उपाध्यक्ष राममिलन यादवले महोत्सव सफल बनाउन साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। उनले चेम्बर अफ कमर्स निजी क्षेत्रको क्रियाशील र सशक्त संस्था भएको बताए।
महोत्सव समापन गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले मण्डप बनाउनु ठूलो कुरा नभए पनि मण्डप निर्माणपछि महोत्सवबाहेक अन्य बेला स्थान कत्तिको प्रयोग हुन्छ भन्नेतर्फ पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।
मन्त्री कार्कीले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानका लागि प्रदेश स्तरबाट पहल भइरहेको जानकारी दिए।
लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरण प्रसाद कलवारले मण्डपको समस्या समाधानका लागि अघि बढ्न अर्थमन्त्री कार्कीलाई आग्रह गरे। युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयले पर्यटन र खेलकुदमार्फत मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान सकिने धारणा राखे।
नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले हरेक हिसाबले सातौं लुम्बिनी महोत्सव सफल भएको बताए। उनले निजी क्षेत्रको मनोबल उठाउनुपर्नेमा जोड दिए। चेम्बर अफ कमर्स, रुपन्देहीका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले भैरहवामा स्थायी मण्डपको अत्यन्तै आवश्यकता रहेको बताए।
यसपटकको महोत्सवको मुख्य आकर्षण नेपालमै पहिलोपटक भियतनामबाट ल्याइएको जलपरी र फिस टनेल थिए। यस्तै, महोत्सवमा राष्ट्रिय, घरेलु तथा साना उद्योगको उत्पादन, अटो, बैंक तथा वित्तीय संस्थालगायतको प्रवद्र्धन गरिएको थियो।
महोत्सव भैरहवा र यस आसपासको बजार चलायमान बनाउन कोशेढुंगा सावित भएको आयोजकको दाबी छ। महोत्सवमा ३०० स्टलले सहभागिता जनाएका थिए।–रासस