काठमाडौं । पुँजी बजारका केही नक्कली अभियन्ताले रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा बार्गेनिङ गरेर स्वार्थ लुट्न खोजेको भन्दै कम्पनीमा कार्यरत कर्मचारीले आक्रोश पोखेका छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत नक्कली धन्दा बन्द गर्न कडा चेतावनी दिएका छन्।
रिलायन्समा २९ वर्षदेखि कार्यरत मधुसूदन लुइँटेलले पुँजी बजारका स्वघोषित लकगानीकर्ता, नक्कली अभियन्ता, नामधारी ‘रिटबहादुरहरू’ ले बार्गेनिङ गर्ने उद्देश्यले पटक–पटक रिटको सहारामा २०औं हजार लगानीकर्ताको लगानी बन्धक बनाएको र सयौं श्रमिकको रोजगारी खोस्ने तथा औद्योगिक वातावरण ध्वस्त पार्ने दुष्प्रयास गरेका बताएका छन्।

‘उद्योगले मलगायत उद्योगमा कार्यरत कर्मचारी र तिनका परिवारलाई प्रत्यक्ष लाभ पुगेको छँदै छ भने अप्रत्यक्ष रूपमा लाखौंलाई लाभ पुगेको छ,’ उनले भनेका छन्, ‘मुलुकको अर्थतन्त्रमा पनि ठूलो योगदान पुगेको छ। तसर्थ यो स्तरको राष्ट्रिय उद्योगको संरक्षण गर्नु तपाईं–हामी सबैको कर्तव्य हो ।’ उनले बार्गेनिङ र नकारात्मक भाष्य बेचेर आफ्नो झोला भर्न खोज्नेका पछि नलाग्न र ढुक्कसँग लगानी गर्न आह्वान पनि गरेका छन्।
-1765349714.jpg)
१५ वर्षदेखि कार्यरत अर्का कर्मचारी एसपी उप्रेतीले केही सीमित व्यक्तिले ‘सार्वजनिक हित’ को नाममा ‘बार्गेनिङ’ गरेर देशको यति ठूलो उद्योग र उद्योगमा आश्रित कर्मचारी तथा मजदुरको भविष्यमाथि खेलवाड गरिरहेका बताए।
‘हामीले यहाँ केवल तलब मात्र होइन, प्रत्येक वर्ष कम्पनीको नाफाबाट राम्रो बोनस पनि पाउँदै आएका छौं। कम्पनीले गर्दा आज म स्वदेशमै रहेर श्रम गरी आफ्नो घर–परिवार पाल्न सकेको छु,’ उनले केही व्यक्तिको नामै उल्लेख गरेर भनेका छन्, ‘तर आज केही ‘नक्कली अभियन्ता’हरूले झुटा मुद्दा र मिडियाबाजी गरेर हाम्रो रोजीरोटी खोस्न खोज्दैछन्।’
आफूहरू उत्पादन र रोजगारीको पक्षमा रहेको बताउँदै उनले ‘बार्गेनिङ बन्द गर र देश बन्न देऊ’ भनेका छन् । करिब ४ हजार ५ सयलाई रोजगारी दिएको, वार्षिक ५० करोड डलरको वस्तु निर्यात गरेर अर्थतन्त्रमा टेवा पुर्याएको र तीव्र नाफामा गएको रिलायन्स स्पिनिङ मिल्सले धितोपत्र बोर्डबाट आईपीओ निष्कासन स्वीकृति पाएसँगै पुँजी बजारलाई बार्गेनिङ गरेर खान पल्केका केही व्यक्तिले कम्पनीविरुद्ध भ्रम सिर्जना गरेका थिए । यसकै विरोधमा रिलायन्समा कार्यरत कर्मचारी प्रतिरोधमा उत्रिएका हुन्।
-1765349758.jpg)
आईपीओ निष्कासनसँगै कम्पनीमा आफूहरूको सेयर रहने र पब्लिक लिमिटेडका कर्मचारी/मजदुर हुने भएपछि उनीहरू उत्साही छन्। तर, कम्पनी बाहिरबाट नकारात्मक सन्देश प्रवाह हुन थालेपछि कार्यरत कर्मचारी र मजदुर प्रतिरोधमा उत्रिएका हुन्।
कम्पनीमा कार्यरत ममता गिरीले रिलायन्स एक उद्योग मात्र नभई हजारौं परिवारको आशा, वर्षौंको पसिना र भविष्यको सपना भएको बताएका छन्। ‘यो उद्योग मेरो मात्र होइन, हजारौं नेपाली परिवारको रोजगारी, राजीरोटी र भविष्यसँग जोडिएको छ। यही कारण हाम्रो परिवार चलेको छ, घरको सपना पूरा भएको छ,’ उनले भनेकी छन्, ‘म व्यक्तिगत रुपमा भन्न चाहन्छु– विवाद, बार्गेनिङ र भ्रमले होइन, समाधान, संवाद र उत्पादनले देश अघि बढोस्।’
-1765349806.jpg)
ममताको जस्तै भनाइ रमेश अधिकारीले राखेका छन्। उनले कोही नक्कली अभियन्ता बनेर समाज र सिंगो देशको औद्योगिक क्षति र आर्थिक तथा सामाजिक वातावरणलाई धमिलो बनाउन लागिरहेको बताए। ‘रिलायन्समा म १५ वर्षदेखि काम गरिरहेको छु। यहाँ मजस्तै ४५०० जनाले पसिना बगाउनुभएको छ,’ उनले प्रश्न गरेका छन्, ‘तर आज आईपीओ बन्द गराउने खेलमा लाग्नु देश, समाज र परिवारको हितमा छ त?’
अर्का कर्मचारी कञ्चन पौडेलले केही नक्कली अभियन्ताका कारण आफूहरूको रोजगारी संकटमा परेको चिन्ता व्यक्त गरेका छन्। ‘हामी यहाँ काम गरेर परिवारलाई खुसी र समृद्धि दिन्छौं’, उनले भनेका छन्, ‘तर केही नक्कली अभियन्ताले झुटा आरोप र मिडियाबाजी गरेर हाम्रो रोजगारी एवं उद्योगलाई संकटमा पार्दैछन्।’
रिलायन्समा कार्यरत कर्मचारी तथा मजदुरले सामाजिक सञ्जालमार्फत उत्पादन, रोजगारी र देशको समृद्धिको पक्षमा आफ्नो आवाज बुलन्द पारेका छन्। उनीहरूले बार्गेनिङको विरोध गर्दै त्यसविरुद्ध सामूहिक रुपमा लड्ने चेतावनी पनि दिएका छन्।
उनीहरूले व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर नेपालको पुँजी बजारमा बार्गेनिङ गर्ने, अदालतको आशय र आदेशलाई अटेर गर्दै पटक–पटक अदालतमा रिट लिएर जाने केही व्यक्ति तथा समूहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन्।