काठमाडौं। नेपाल उद्योग वाणिज्य संघ काठमाडौंद्वारा आयोजना हुने ‘काठमाडौं महोत्सव २०८२ माघ १४ देखि १७ सम्म भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना गरिने भएको छ।
आर्थिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा रहेका उपत्यकाको पहिचानलाई अझ सबल बनाउन, स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यवसाय र नवप्रवर्तनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी रूपमा प्रवर्द्धन तथा उद्यमशीलता, स्टार्टअप, घरेलु तथा साना उद्योगको बजार विस्तार उद्देश्यले महोत्सव आयोजना गरिने भएको हो।
करिब २०० व्यावसायिक स्टलको सहभागिता रहने महोत्सवमा स्थानीय उत्पादन र सेवाको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड–फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विभिन्न रूपको प्रदर्शन, विषयगत झाँकी, पर्यटन प्रवर्द्धनलगायत गतिविधि समावेश गरिनेछन्।
महोत्सवमा १ लाख अवलोकनकर्ताको सहभागिता रहने आयोजकको अपेक्षा छ। स्वदेशी औद्योगिक उत्पादन कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स, हस्तकला, कृषि उत्पादन, फुड एन्ड बेभरेज, सूचना प्रविधि, ट्राभल एन्ड टुर सेवा, रियलस्टेट, बैंक तथा वित्तीय संस्थालगायतले महोत्सवमा सहभागिता जनाउने आयोजक काठमाडौं महोत्सवका अध्यक्ष दिनेश श्रेष्ठले बताए।