काठमाडौं। ‘स्वदेशी उत्पादन हाम्रो पहिचान’ नारासहित इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले गण्डकी प्रदेशमा पहिलो पटक प्रथम हस्तकला तथा गार्मेन्ट मार्ट–२०८२ आयोजना गर्ने भएको छ।
मार्ट नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना र एगा पोखराको सह–आयोजनामा पुस १४ र १५ गते पोखराको लेकसाइडमा हुने संस्थाले पत्रकार सम्मेलनमामार्फत जानकारी गराएको हो।
एगा पोखरा २०६१ मा स्थापना भएदेखि नै हेम्प, अल्लो, सिस्नो, ऊन, केरालगायत प्राकृतिक लोकताजन्य रेशा प्रयोग गरी बनेका कपडा र सुभिनियर सामग्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने अभियानमा सक्रिय रहँदै आएको अध्यक्ष गोकर्ण लम्सालले बताए। उनका अनुसार हाते तान उद्योग, हस्तकला र घरेलु उत्पादनमा संलग्न उद्यमीलाई तालिम, सीप विकास, बजार अभिमुखीकरण र उत्पादन विस्तारका कार्यक्रम सञ्चालन गर्दै आएको एगाले मार्टमार्फत कास्की, स्याङ्जा, लमजुङ, म्याग्दी, नवलपुर, पर्वत र रुकुम पूर्वलगायत जिल्लाका घरेलु उत्पादन एकै स्थानमा प्रदर्शन गर्नेछ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले पर्यटकीय सहर पोखरामा अंग्रेजी नयाँ वर्षको समयमा लेकसाइडमा हुने मार्टले पर्यटन प्रवर्द्धनसँगै स्वदेशी उत्पादनलाई विश्वबजारसम्म पुर्याउन सहयोगी हुने विश्वास व्यक्त गरे।
उनले भने, ‘ग्रामीण भेगमा उत्पादन भइरहेका हस्तकला र स्थानीय कपडालाई मुख्य बजारसँग जोड्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार गर्ने तथा स्वदेशी उत्पादनलाई स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ।’
कार्यक्रम संयोजक सुरेन्द्र पौडेलका अनुसार मार्टमा करिब १२ वटा स्टल र ४ वटा हाते तान रहनेछन्। स्वदेशी कच्चा पदार्थबाट बनेका औषधीय गुणयुक्त कपडा तथा सामग्री हालै पर्यटन बजारमा लोकप्रिय बन्दै गएको उल्लेख गर्दै मार्टले यसको बजार विस्तारमा टेवा पुर्याउने बताए।
मार्टमा सहभागी उद्यमीले हाते तानमा कपडा बुन्ने प्रक्रिया प्रत्यक्ष प्रदर्शन गर्नेछन्। गण्डकी प्रदेश पर्यटन रणनीति अनुसार हरेक वर्ष २५ लाख पर्यटक भित्र्याउने र प्रदेशको जीडीपीमा ७% योगदान पुर्याउने लक्ष्यअनुसार हस्तकला तथा घरेलु उत्पादन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत गरिएको छ।
स्वदेशी उत्पादन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना, युवा पलायन रोकथाम र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा मार्ट महत्त्वपूर्ण हुने पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारीले बताए।
मार्टमा जानकारीमूलक स्लाइड सो, सांस्कृतिक प्रस्तुति, टक–सोमार्फत व्यवसायी तथा घरेलु उद्यमीबीच सम्भावना, अवसर तथा समस्या समाधानबारे छलफल हुनेछ। साथै ब्रोसर तथा सूचना सामग्री वितरण गरी हस्तकला र गार्मेन्ट क्षेत्रबारे विस्तृत जानकारी प्रदान गरिनेछ।
मार्टमा स्वदेशी तथा विदेशी पर्यटक, विद्यार्थी, व्यवसायी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, स्थानीय तहका पदाधिकारी, नीति निर्माता तथा सञ्चारकर्मीको सहभागिता रहने जनाइएको छ। मार्ट वार्षिक कार्यक्रम मात्र नभई स्वदेशी उत्पादन प्रवर्द्धनका लागि दीर्घकालीन अभियानका रूपमा अघि बढाइने लक्ष्य राखिएको सचिव माया सुवेदीले जानकारी दिइन्।
कार्यक्रममा उपाध्यक्ष गिता ढकाल, प्राज्ञिक व्यत्तित्व दीपेन्द्र पहारीलगायतका वक्ताले मार्टको महत्वमाथि प्रकाश पारेका थिए। सो अवसरमा पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले मार्टको लोगो सार्वजनिक गरेका थिए।