काठमाडौं। स्वदेशमै उत्पादन विस्तार गर्दै एमएस प्लास्टिक उद्योगले आफ्नै ब्रान्डमा हेयर क्लचर उत्पादन सुरु गरेको छ। कम्पनीले औपचारिक रूपमा बजारमा प्रवेश गर्दै आफ्नो उत्पादन थोक तथा फुटकर दुवै माध्यमबाट उपलब्ध गराउने जनाएको छ।
नेपालमै उत्पादन हुने भएकाले गुणस्तरीय र दीगो सामग्री प्रयोग गरेर ग्राहकलाई उचित मूल्यमा हेयर क्लचर उपलब्ध गराउने लक्ष्य रहेको उद्योगका सञ्चालक सन्जीत कुमार शाहले जानकारी दिए। उनका अनुसार आकर्षक डिजाइन, सजिलो प्रयोग र टिकाउपनलाई प्राथमिकतामा राखेर उत्पादन गरिएको छ, जसले महिलाहरु र युवतीहरुबीच लोकप्रिय हुने अपेक्षा गरिएको छ।
हालसम्म नेपाली बजारमा यस्ता सौन्दर्य सामग्री प्रायः आयातमा निर्भर रहँदै आएको उल्लेख गर्दै शाह भन्छन्, ‘महिला तथा युवतीहरुले प्रयोग गर्ने हेयर क्लचरजस्ता सामग्री धेरैजसो भारतीय बजारबाट आइरहेका छन्। अब भने हामीले नेपालमै उत्पादन गरेर सस्तो र आकर्षक सामग्री उपलब्ध गराउनेछौं।’
उद्योगले हेयर क्लचर उत्पादनबाट सुरुवात गरे पनि आगामी दिनमा अन्य दैनिक प्रयोगका प्लास्टिक सामग्री उत्पादन विस्तार गर्ने योजना बनाएको छ। यसले आयातित उत्पादनको विकल्प प्रदान गर्नुका साथै स्थानीय उद्योग प्रवर्द्धनमा समेत टेवा पुग्ने कम्पनीको विश्वास छ।
हाल एमएस प्लास्टिक उद्योगका हेयर क्लचर नेपालभर थोक तथा फुटकर बिक्रीका लागि उपलब्ध छन्। ग्राहक, थोक व्यापारी तथा डिलरहरूसँग प्रत्यक्ष सम्पर्कमार्फत आवश्यक परिमाणमा अर्डर लिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीका अनुसार यो उत्पादनले नेपाली महिला तथा युवतीहरूका लागि सौन्दर्यसँगै प्रयोगमा सहजता थप्ने उद्देश्य राखेको छ। उद्योगले दर्जनौं युवालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराइसकेको छ भने आगामी दिनमा उत्पादन र लगानी दुवै विस्तार गर्ने तयारी गरेको जनाएको छ।
करिब १ करोड रुपैयाँको लगानीमा सुरु गरिएको यस उद्योगले भविष्यमा मोटरसाइकलको साइडलाइट तथा अन्य प्लास्टिक उत्पादनमा समेत प्रवेश गर्ने योजना बनाएको छ। एमएस प्लास्टिक उद्योगको यो पहलले नेपाली बजारमा स्वदेशी, गुणस्तरीय र टिकाउ सौन्दर्य सामग्रीको उपलब्धता बढाउने अपेक्षा गरिएको छ।