काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल उकास्दै विश्वास पुनःस्थापना गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन्।
नवलपुर उद्योग वाणिज्य संघको ११औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले राजनीतिक अस्थिरता, असुरक्षा र नीतिगत अन्यौलका कारण आर्थिक गतिविधि अपेक्षाअनुसार चलायमान हुन नसकेको बताए। निजी क्षेत्र निरन्तर दबाब र भयको वातावरणमा रहेसम्म अर्थतन्त्रले गति लिन नसक्ने उनको भनाइ थियो।
हरेक आन्दोलन र प्रदर्शनका क्रममा निजी क्षेत्रका उद्योग व्यवसायलाई निशाना बनाइने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष ढकालले यसले लगानी वातावरण गम्भीर रूपमा कमजोर बनाइरहेको धारणा राखे। व्यवसायीले देशको रोजगारी, राजस्व र उत्पादनमा दिएको योगदान ओझेलमा पारेर नकारात्मक धारणा फैलाइने प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको उनले जोड दिए।
'देशमा सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने र राज्यलाई ठूलो मात्रामा राजस्व बुझाउने निजी क्षेत्र बारम्बार आन्दोलनको निशाना बन्नु दुःखद हो,' अध्यक्ष ढकालले भने, 'अब जुनसुकै किसिमका आन्दोलन वा प्रदर्शनमा उद्योग व्यवसायमा आगजनी र तोडफोड नगर्ने संस्कृतिको विकास गर्नु पर्छ।'
भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा गलत घुसपैठका कारण उद्योग व्यवसायदेखि उद्यमी व्यवसायीका निजी निवाससम्म आगजनी, लुटपाट र अर्बौं रुपैयाँ बराबरको क्षति भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस्ता घटनामा दण्डहीनताले प्रश्रय पाउन नहुनेमा जोड दिए।
महासंघको पहलमा पछिल्ला वर्षहरूमा विभिन्न नीतिगत सुधार सम्भव भएको उल्लेख गर्दै उनले नेपालमा अपार सम्भावना रहेको र ती सम्भावनाबाट स्वदेशमै अवसर सिर्जना गर्न सकिने विश्वास व्यक्त गरे। ठूला पूर्वाधार परियोजनाका लागि केवल प्रत्यक्ष वैदेशिक लगानीमा निर्भर रहनु उपयुक्त नहुने भन्दै देशभित्र छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै पूर्वाधार विकास र उद्यमशीलता प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याए।
यसै उद्देश्यका लागि महासंघको पहलमा १० अर्ब रुपैयाँ पूँजीको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरी काम सुरु गरिएको जानकारी दिँदै अध्यक्ष ढकालले यसले ठूला पूर्वाधार परियोजना तथा उद्यमशील गतिविधिका लागि पुँजी अभाव कम गर्ने विश्वास व्यक्त गरे। उनले नवलपरासीको धौवादी फलाम खानी सञ्चालनका लागि पनि सहकार्य गर्न सकिने सम्भावना रहेको बताए।
महासंघको आग्रहमा जिल्ला सुरक्षा समितिमा महासंघको प्रतिनिधि सहभागी गराइएको जानकारी दिँदै अध्यक्ष ढकालले यसको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला तहको नेतृत्वलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
नवलपुर जिल्लामा कृषि, पर्यटन, ऊर्जा तथा साना तथा मझौला उद्योगमा उल्लेख्य सम्भावना रहेको उल्लेख गर्दै उनले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय बढाएर ती सम्भावनालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।