काठमाडौं। सन् २०२६ देखि चीनबाट आयात हुने विद्युतीय गाडीको मूल्य बढ्ने भएको छ। विदेशी मुद्रा अस्थिरता, कच्चा पदार्थको अभाव, ब्याट्री उत्पादन लागतमा वृद्धिसँगै चीनको अनुदान कटौतीका कारण उत्पादन मूल्य बढेपछि नेपाल आउने गाडीहरुको मूल्य बढ्ने भएको हो।
लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले चीनबाट आयात हुँदै आएको गाडीको मूल्य बढ्ने निश्चित भएको जानकारी दिएका हुन्। ब्याट्रीको मूल्य वृद्धिले पनि गाडीको मूल्यमा प्रभाव पार्ने निश्चित भएको उनको भनाइ छ।
‘लक्ष्मी इन्टरकन्टिनेन्टलले चिनियाँ गाडी काई, फोरथिङ बेचिरहेको छ। अहिले कति मूल्य बढ्ने भन्ने निश्चित भइसकेको छैन,’ महाप्रबन्धक थपलियाले भने, ‘मूल्य बढ्ने पक्का हो। यहाँको बजार र स्टक हेरेर निर्णय हुन्छ।’
पहिले १ युनिट ब्याट्रीको मूल्य करिब ६ सय डलर थियो। हाल करिब एक हजारदेखि एक हजार पाँच सय डलर पुगेको छ। उदाहरणका लागि २० युनिटको ब्याट्रीको मूल्य १२ हजार डलरबाट २० हजार डलरभन्दा बढी पुगेको छ।
चीनमा विद्युतीय गाडी निर्माणमा दिइने अनुदान कटौती हुनु अर्को कारण भएको उनले बताए। पहिले अनुदानले उत्पादन लागत कम देखिन्थ्यो। अब अनुदान घटेपछि वास्तविक उत्पादन लागत बजारमा देखिन थालेको छ। यसले आयात हुने गाडीको मूल्य बढाउने दबाब सिर्जना गरेको महाप्रबन्धक थपलियाको भनाइ छ।
यसले निर्माण कम्पनीहरूलाई उक्त देशमा कारखाना खोल्न, रोजगारी सिर्जना गर्न र ठूलो लगानी गर्न बाध्य बनाएको छ।
नेपालमा बिवाईडी गाडी बेचिरहेको साइमेक इंक्सका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले चीनमा मूल्य बढ्ने हल्ला चले पनि नेपालमा तत्कालै कुनै निर्णय नभएको बताइन। ‘अहिलेसम्म हामीलाई मूल्य बढाउने विषयमा कुनै पनि आधिकारिक जानकारी आएको छैन,’ उनलेल भनिन्, ‘अहिले चलेकै मूल्यमा गाडी बिक्री गरिरहेका छौँ।’
नेपालमा भारतीय रुपैयाँसँग जोडिएको प्रणाली भएकाले, भारतीय मुद्रा मूल्य परिवर्तनले पनि सीधै गाडीको मूल्यमा असर गरेको छ। विद्युतीय गाडीमा प्रयोग हुने लिथियम, कोबाल्ट र अन्य धातुहरुको उपलब्धता घट्दै गएको छ। कतिपय देशहरूले अब कच्चा पदार्थ विदेश लैजानु अघि त्यहाँ प्रशोधन अनिवार्य गरेका छन।
यसले निर्माण कम्पनीहरूलाई उक्त देशमा कारखाना खोल्न, रोजगारी सिर्जना गर्न र ठूलो लगानी गर्न बाध्य बनाएको छ। परिणाम स्वरूप उत्पादन लागत बढेको छ। कम्पनीहरूले मूल्य निर्धारण गर्दा विदेशी मुद्रा, कच्चा पदार्थको उपलब्धता, उत्पादन लागत र अनुदान परिवर्तनलाई ध्यान दिनुपर्ने देखिन्छ।
२० प्रतिशतसम्म बढ्न सक्छ मूल्य
सन् २०२६ देखि चीनबाट आयात हुने गाडीको मूल्यमा १० देखि २० प्रतिशतसम्म मूल्य बढ्ने भएको छ। व्यवसायीहरुका अनुसार अहिलेसम्म चेरीको आइकार, काई, नामी, दिपल ५, एटो २ को मूल्य बढ्ने छ।
बजारमा लिथियम र अन्य कच्चा पदार्थको मूल्यमा हुने उतारचढावका कारण चिनियाँ कम्पनीले ब्याट्रीको मूल्य बढाएका हुन।
यद्यपि, चीनबाट आयात हुने गाडीको संख्या धेरै रहेकाले यहाँका बिक्रेताले मूल्य बढाउने वा नबढाउने भन्ने निर्णय गरिसकेको छैन। अन्य ब्राण्डका गाडीहरुको पनि हालको भन्दा बढी मूल्य बढ्ने निश्चित भए पनि नेपालमा तत्कालै बढाउने वा नबढाउने भन्नेमा निर्णय हुन सकेको छैन।
लिथियम ब्याट्रीको मूल्य बढ्दा गाडीमा प्रभाव
चिनियाँ लिथियम ब्याट्रीको मूल्य १५ प्रतिशतसम्म बढेको छ। लिथियम ब्याट्री निर्माता डेजिया इनर्जीले कच्चा पदार्थ लागतमा उल्लेखनीय वृद्धि भएकाले सन् २०२५ डिसेम्बर १६ देखि हालको मूल्यको आधारमा ब्याट्री उत्पादनको बिक्री मूल्य १५ प्रतिशतले बढाइने घोषणा गरेको छ।
बजारमा लिथियम र अन्य कच्चा पदार्थको मूल्यमा हुने उतारचढावका कारण चिनियाँ कम्पनीले ब्याट्रीको मूल्य बढाएका हुन। चिनियाँ ब्याट्री निर्माता लिथियम आयोन ब्याट्रीको मूल्य बढाएसँगै ईभीको मूल्य पनि बढ्ने भएको छ।
हालै चीनका धेरै लिथियम ब्याट्री सामग्री आपूर्तिकर्ताले माथिल्लो तहका कच्चा पदार्थको लागत बढ्नु र विश्वव्यापी ऊर्जा रुपान्तरण एकसाथ भएको माग वृद्धिका कारण मूल्य वृद्धिको सूचना जारी गरेका छन। सोही आधारमा सन् २०२६ मा ईभीको मूल्य बढ्ने आंकलन गरिएको हो।