काठमाडौं। विश्व अर्थतन्त्रका दुई खम्बा अमेरिका र चीनबीच राजनीतिक मतभेद हुँदै आए पनि आर्थिक, प्राविधिक, सामरिक रणनीति, प्रविधि र पछिल्लो समय विद्युतीय सवारी उत्पादनमा समेत प्रतिस्पर्धा बढ्दै गएको देखिएको छ।
साम्यवादी निरंकुश शासन व्यवस्था अँगालेको छिमेकी चीन र प्रजातन्त्र, कानुनी एवं नागरिक शासनमा उदाहरणीय बनेको अमेरिकाबीच पछिल्लो केही समय ‘ट्यारिफ वार’ भए पनि अहिले भने कुरो मिलेको छ। अमेरिकामा समेत बजार पिट्दै आएको चिनियाँ ईभी उत्पादनले विश्वभर बजार खाँदै गरेको रिपोर्ट सार्वजनिक भइरहेका छन्।

सन् २०२५ पनि चिनियाँ ईभीको बजार विश्वभर फैलिएको आँकडा निकालिएका छन्। अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सन् २०२५ मा आफ्ना विश्वव्यापी सवारी डेलिभरी अघिल्लो वर्षको तुलनामा करिब ८.६ प्रतिशतले घटेको शुक्रबार जनाएको छ। यससँगै वार्षिक विद्युतीय सवारी बिक्रीमा चीनको बीवाईडीले पहिलो पटक टेस्लालाई उछिनेको छ।
कम्पनीको तथ्यांकअनुसार टेस्लाले सन् २०२५ मा करिब १६ लाख ५५ हजार विद्युतीय सवारी उत्पादन गरेको थियो भने करिब १६ लाख ३६ हजार सवारी डेलिभर गरेको थियो । सन् २०२४ मा भने कम्पनीले करिब १७ लाख ७३ हजार सवारी उत्पादन र १७ लाख ८९ हजार सवारी डेलिभर गरेको थियो।
अमेरिकामा समेत बजार पिट्दै आएको चिनियाँ ईभी उत्पादनले विश्वभर बजार खाँदै गरेको रिपोर्ट सार्वजनिक भइरहेका छन्।
अमेरिकामा विद्युतीय सवारी खरिद गर्न प्रोत्साहन दिने कर छुट सन् २०२५ को सेप्टेम्बरमा हटाइएपछि टेस्ला बिक्रीमा नकारात्मक असर परेको कम्पनीले जनाएको छ। सन् २०२५ को चौथो त्रैमासिकमा टेस्लाले करिब ४ लाख ३४ हजार सवारी उत्पादन गरेको थियो भने ४ लाख १८ हजार बढी सवारी डेलिभर गरेको थियो । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १६ प्रतिशतले कम हो ।
यसैबीच चिनियाँ कम्पनी बीवाईडीले सन् २०२५ मा विश्वव्यापी रूपमा करिब २२ लाख ५७ हजार विद्युतीय सवारी बिक्री गरेको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २७.६ प्रतिशतले बढी हो। बिवाईडीका अनुसार चीनबाहिर एसिया, युरोप र ल्याटिन अमेरिकाजस्ता बजारमा पनि यसको बिक्री तीव्र रूपमा बढिरहेको छ।
टेस्ला अझै पनि अमेरिकाको सबैभन्दा ठूलो विद्युतीय सवारी निर्माता कम्पनी हो र घरेलु विद्युतीय सवारी बजारको करिब ४५ प्रतिशत हिस्सा ओगटेको छ। तर, बिक्री घट्दै जानुले अमेरिकी विद्युतीय सवारी बजारमा समग्र सुस्तता देखिएको संकेत गरेको छ।
अटोमोबाइल अनुसन्धान संस्था कक्स अटोमोटिभका अनुसार सन् २०२५ को नोभेम्बरमा अमेरिकामा सबै ब्रान्डका विद्युतीय सवारी बिक्री अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतभन्दा बढीले घटेको थियो। उद्योग विश्लेषकका अनुसार सन् २०२६ मा पनि अमेरिकामा विद्युतीय सवारी बिक्री कमजोर नै रहने अनुमान गरिएको छ।–एजेन्सी