काठमाडौं। पछिल्लो समय विश्वव्यापी रूपमै चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) स्टार्टअपबीच प्रतिस्पर्धा चलेको छ। कतिपय कम्पनी आर्थिक समस्याका कारण टाट पल्टिएर बन्द हुन पुगेका छन् भने कति कम्पनी गुणस्तरहीन सामानका कारण बन्द भएका छन्। यसको असर नेपाली अटो बजारमा पनि परेको छ।
नेपाली अटो बजारमा व्यवसायलाई सजिलो ठानेर गाडी आयात गरिहाल्ने प्रवृत्तिले नेपालमा ल्याएका धेरै कम्पनी बन्द भएको दिगो ग्रुप अफ कम्पनीका अध्यक्ष राजन रायमाझी बताउँछन्।
‘धेरैले गाडी उत्पादक कम्पनी (ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर)सँग काम नगरी सेकेन्डरी कम्पनीसँग सम्झौता गरेका हुन्छन्,’ अध्यक्ष रायमाझी भन्छन्, ‘नेपालमा भन्दा चीनमा काम गर्ने शैली अलि फरक छ, जुन हाम्रोमा चल्दैन। अटो उद्योग र सप्लायरबारे नबुझी आयात गर्दा यस्तो समस्या आएको हो।’ नेपाली गाडी आयातकर्ताले ब्रान्ड र बजारबारेमा अध्ययन नगरी गाडी आयात गरेकाले यस्तो समस्या आएको उनको भनाइ छ।
रायमाझीका अनुुुसार दिगो ग्रपले नेपाली बजारमा भित्र्याएको दिगो ई–८ को उत्पादन नेपाल र चीन दुवैतिर बन्द भइसकेको छ। बन्दको हुनुको मुख्य कारण चीन सरकारको नीति हो। उनीहरूले अहिले ‘लो स्पिड टेक्नोलोजी’लाई निरुत्साहित गरेपछि त्यो मोडलको उत्पादन रोकियो। नेपाली बजारमा दिगो ई–८ ५० युनिट भित्रिएको थियो।
‘करिब ५० युनिट बिक्री भएको दिगो ई–८ को उत्पादन बन्द भएपनि हामीले ग्राहकलाई सेवा दिइरहेका छौं,’ उनले भने, ‘हामीले सेकेन्डरी मार्केटबाट पार्टपुर्जा ल्याएर अहिलेसम्म ती गाडीलाई सर्भिस दिइरहेका छौं। गाडी चलिरहेका छन्। तर यस्तो नेटवर्क नहुने कम्पनीका लागि भने व्यवसाय टिकाउन गाह्रो हुन्छ।’
कुनै समय तामझामका साथ सार्वजनिक गरिएका कतिपय ब्रान्ड आज नामोनिसाना मेटिएका अवस्थामा छन्। यसले उपभोक्ताको करोडौं लगानी जोखिममा पारेको छ भने बजारमा नयाँ ब्रान्डप्रतिको विश्वासमा पनि प्रश्न उठाएको छ। गाडी बेच्नु ठूलो कुरा होइन, तर त्यसको मर्मत र पार्टपूर्जा उपलब्ध गराउनु मुख्य चुनौती हो। धेरै चिनियाँ ब्रान्डले बिक्रीपछिको सेवामा ध्यान दिएनन्। जसका कारण धेरै ईभी ब्रान्ड बन्द भएका हुन्।
कतिपय चिनियाँ इभी कम्पनी आर्थिक समस्याका कारण टाट पल्टिएर बन्द हुन पुगेका छन् भने कतिपय गुणस्तरहीन सामानका कारण बन्द भएका छन्। यसको असर नेपाली अटो बजारमा पनि परेको छ।
नेपालमा विद्युतीय सवारीको इतिहास पुराना ट्रली बस र सफा टेम्पोबाट सुरु भए पनि ‘प्यासेन्जर सेग्मेन्टका कार’ को ट्रेन्ड भने केही वर्षदेखि मात्र बढेको हो। विश्व बजारमा चिनियाँ कम्पनीहरूको दबदबा बढेसँगै नेपालमा पनि दर्जनौं नयाँ ब्रान्ड भित्रिए।
तर, धेरैजसो इभी बिना अध्ययन अनुसन्धान नै नयाँ व्यापारिक घरानाले भित्र्याउदा उपभोक्तालाई सबैभन्दा ठूलो असर परेको एक व्यवसायीको भनाइ छ। चीनमा नयाँ स्टार्टअप कम्पनीले उत्पादन गरेको सस्तो ईभी ल्याएर नेपालमा बिक्री गर्ने प्रवृत्तिले गर्दा ती कम्पनी चीनमै बन्द हुँदा नेपालमा पनि असर पुगेको ती व्यवसायीको दाबी छ।
नेपालमा हाल ४ दर्जन बढी विद्युतीय गाडीका ब्रान्ड उपलब्ध छन्। चीन, भारत र अन्य मुलुकबाट दैनिक नयाँ ब्रान्ड र नयाँ–नयाँ मोडल भित्रिरहेका छन्। तर, अटोमोबाइल विज्ञका अनुसार सबै ब्रान्ड लामो समयसम्म टिक्ने अवस्था छैन। विशेषगरी साना र नयाँ स्टार्टअपले ‘आफ्टर सेल्स सर्भिस’ (बिक्रीपछिको सेवा) र पार्टपुर्जा उपलब्ध गराउन नसक्दा बजारबाट बाहिरिनु परेको छ।
नेपाली बजारमा आएर बन्द भएका कम्पनी
दिगो ई–८
दिगो ग्रुपले २०७७ असोज महिनामा नेपाली बजारमा भित्र्याएको ई–८ ह्याचब्याक बन्द भइसकेको छ। उक्त समय दीगो ई–८ नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार मध्ये सबैभन्दा सस्तो इलेक्ट्रिक कार मानिन्थ्यो। उक्त बेला सरकारले विद्युतीय सवारी साधनमा लाग्ने कर कटौती गरेपछि कम्पनीले आफूसँग स्टकमा रहेका गाडी मूल्य २४ लाख ९४ हजार रुपैयाँबाट घटाएर २१ लाख ९४ हजार ५०० रुपैयाँ निर्धारण गरि बिक्री गरेको थियो।
नेटा
चीनियाँ ईभी ब्रान्ड नेटा २०७९ मा नेपाली बजारमा प्रवेश गरेको थियो। नेपालमा सिजी मोटर्सले भित्र्याएको नेटा ब्रान्ड छोटो समयमा नै राम्रो बिक्री भएको गाडी हो। चिनियाँ ईभी ब्रान्ड नेटा बैंकरप्सीमा परेका कारण चीनमा यसको उत्पादन बन्द भइसकेको छ।नेपाली बजारमा सिजीले ल्याएको नेटा भी र नेटा एक्स गरी ७८८ युनिट गुडिरहेका छन्। छोटो समयमा राम्रो बिक्री भएको नेटा ब्रान्ड चीनमा यसको उत्पादन बन्द भएपछि धेरै उपभोक्तालाई अन्योलता सृजना भएको छ।
रेसेन्स
नेपाली बजारमा २०७९ फागुनमा नेपाल भित्रिएको रेसेन्स ईभी चिनियाँ ब्रान्ड हो। रेसेन्स ईभी नेपाली बजारमा जिमिनी इन्कर्पोरेट प्रालिले ल्याएको थियो। सिटि कारको रुपमा नेपाल आएको रेसेन्स उच्च ग्राउन्ड क्लियरेन्सका करण एकदमै चर्चा चलेको थियो। तर, नेपाल आएको छोटो समयमा नै यो ब्रान्ड बन्द हुन पुग्यो।
ईभीमा उच्च ग्राउन्ड क्लियरेन्स भएका कारण निकै चर्चा कमाएको यो ब्रान्डको आयु भने थोरै रह्यो। नेपाल भित्रिएको सुरुवाती समयमा केही युनिट उपभोक्तालाई बिक्री गरेसँगै बन्द भएका कारण यसको स्पेयर पार्टसलगायतका कुनै पनि सामान उपभोक्ताले बजारमा भेट्याउँदैनन्।
डेरी ब्रान्ड
नेपाल आएर बन्द भएको अर्काे ब्रान्ड डेरी हो। यो २०७७ तिर नेपाली बजारमा भित्रिएको थियो। नेपाली बजारमा अटोहोस्ट नामक कम्पनीले डेरी ब्राण्डका ईभी–७ र ईएम–७ गरी दुई मोडल बिक्री गरिएको थियो।
कम्पनीले ल्याएको ईएम–७ मा सोलार पनि उपलब्ध थियो। त्यतिबेला ईभी–७ को मूल्य २५ लाख ९९ हजार र ईएम–७ को मूल्य २६ लाख ५० हजार रुपैयाँ थियो। यो कम्पनी पनि बन्द भएका कारण डेरी ब्रान्डका गाडी खरिद गर्ने उपभोक्ता पनि विचल्ली भएका छन्।

यसबाहेक नेपाली बजारमा आएर बन्द भएको चर्चा चलेको ब्रान्ड डायुन पनि हो। सिजी मोटर्सले नेपाल भित्र्याएको डायुन ‘युएहु’ ह्याचव्याक नेपाल ल्याएर बिक्री सुरु गर्ने तयारी थाल्दा नै कम्पनीको उत्पादन बन्दको समाचारहरु बाहिर आए। चीनमा नै दायून ब्रान्ड समस्यामा परेको र उत्पादन बन्द भएको समाचारले नेपालमा पनि चर्चा पायो।
नेपाली बजारमा प्रवेश गर्नेवित्तिकै उत्पादन बन्द भएको समाचारले आयातकर्ता उपभोक्ता सबै अन्योलमा परे। सिजी मोटर्सले ३० लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरू भएको घोषणा गरेपनि आउने वित्तिकै बन्दको हल्लाले यसले बजार लिन सकेन।
दायूनले सन् २०२५ को जनवरीबाट आफ्नो उत्पादन पुनः सुरु हुने र नेपाली उपभोक्ताले भोलिका दिनमा सबै किसिमका कम्पनीबाट पाउनुपर्ने सेवा र सुविधा पाउने ब्योहोराको पत्र नेपाल पठाएको सिजी मोटर्सले जनाए पनि यसको उत्पादन पुन सुरु भए नभएको भने जनाएको छैन। यसको उत्पादन कम्पनी समस्यामा परेका कारण यसको नयाँ मोडल नेपाल भित्रिएका छैनन्।
चीनमा बन्द भएका ईभी कम्पनी
चीनमा उत्पादन भएका धेरै ईभी ब्रान्ड बन्द भइसकेका छन् भने २०२६ मा झन् धेरै ब्रान्ड बन्द हुने देखिएको छ। अहिलेसम्म चीनमा हिपही, डब्लुएम मोटर, बाइटोन, सिगुलटो मोटर्स, ली ईको ईभी, लिभेन्डो, ब्रोडिन मोटर्स, सालिन चाइना, क्वीनटु मोटर्स बन्द भएका छन्।