काठमाडाैं। काभ्रेपको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ कोलटार लामाडाँडाका सिकान शङ्खलाल थोकर विदेशबाट फर्केपछि कफीखेती गर्दै आएका छन्। उनीसँगै गाउँका अरु किसानले पनि कफीखेतीलाई आर्थिक उपाजर्नको माध्यम बनाएका छन्।
अहिले कफीको दाना टिप्ने मौसममा डाँडैभरि कफीको बगैँचाका बोटभरि लटरम्म फलेका फलले बोट लर्केको देख्न पाइन्छ। मकै, कोदोलगायत खेतीभन्दा कफीबाट आम्दानी बढी हुने भएकाले थोकरले कफीखेतीलाई निरन्तरता दिँदै आएको बताए। उनी अहिले कफी टिप्ने, पल्पिङ गर्ने र सुकाउने काममा व्यस्त छन्। यस वर्ष करिब २५ लाखसम्म आम्दानी हुने अनुमान गरिएको थोकरले उल्लेख गरे। ‘गत वर्षभन्दा यो वर्ष प्रशस्त मूल्य पाइएको छ’, उनले भने, ‘खाना, लाउन र छोराछोरीलाई पढाउन सबै खर्च व्यवस्थापन हुँदै आएको छ।’ गाउँमा थोकरको परिवारले पहिलोपटक व्यावसायिक कफीखेती सुरु गरेका हुन्।
सोही ठाउँका ज्ञानबहादुर बोम्जनले छ वर्षदेखि व्यावसायिक कफीखेती गर्दै आएका छन्। ‘कोदो, मकै लगाउँदा वर्षभरि खट्नुपर्छ, कफीखेतीमा तीन महिना खट्दा लाखौँ आम्दानी हुन्छ”, उनले भने, ‘छ रोपनी जग्गामा करिब दुई हजार बोट रोपेर त्यसबाट आम्दानी लिँदै आएको छु।’ गत वर्ष रु पाँच लाख आम्दानी गरेको जनाउँदै उनले यस वर्ष करिब १० लाख आम्दानी हुने बताए।
महाभारतको महादेवराटका पातली माया घिसिङले धान रोप्न छोडेर कफीखेती गरिन्। दश वर्षदेखि खेती गर्दै आएकी उनले धानभन्दा दोब्बर आम्दानी हुने भएकाले कफीखेतीलाई प्राथमिकता दिएको बताइन्। ‘पहिलापहिला मकै, कोदो रोप्दा खानालाई मात्रै ठिक हुन्थ्यो। छोराछोरीलाई पढाउन ऋण लिनुपर्ने अवस्था थियो। त्यसलाई छोडेर कफीखेती गर्न थालेपछि खर्च कटाएर मनग्य आम्दानी हुन्छ’, उनले भनिन्। उनका अनुसार वर्षको करिब एक हजार ५०० किलोसम्म कफी उत्पादन हुन्छ।
गाउँपालिकाका कृषि शाखा प्रमुख खिम डाँगीले विसं २०७८ देखि कफीको बिरुवा वितरण गर्न थालेकामा अहिलेसम्ममा तीन लाख ३१ हजार वितरण गरिसकिएको बताइन्। उनका अनुसार गाउँपालिकाको चार हजार ५०० रोपनी क्षेत्रफलमा कफीखेती हुँदै आएको छ। पालिकाका एक हजार ९२० परिवारले कफीखेती गर्दै आएका जनाउँदै पछिल्लोसमय यसप्रति किसानको आकर्षण बढ्न थालेको उनले बताइन्।