काठमाडौं। ललितपुरको ग्वार्कोस्थित ‘बीएन्डबी’ हस्पिटलले एक वर्षमै साढे २ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। हस्पिटलले सन् २०२५ मा २ अर्ब ५७ करोड रुपैयाँ बढी आम्दानी गरेको हो। अघिल्लो वर्षको तुलनामा अस्पतालको आम्दानी ३१ प्रतिशतले बढेको हो।
सन् २०२४ मा हस्पिटलले १ अर्ब ९६ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। साथै, सन् २०२३ मा १ अर्ब ४२ करोड ६० लाख, सन् २०२२ मा १ अर्ब ३७ करोड ७० लाख र सन् २०२१ मा ९८ करोड ८० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो।
अस्पतालको व्यापारिक वृद्धिको मुख्य आधार सेवामा गरिएको विविधीकरण र फार्मेसी इकाइको मर्जर देखिएको छ। सन् २०२५ मा अस्पतालको फार्मेसी आम्दानीमा मात्र ६० प्रतिशतको वृद्धि देखिएको छ। यस्तै, अस्पतालको सञ्चालन आम्दानी पछिल्लो तीन वर्षमा औषत २५ प्रतिशतले बढेको रिपोर्टले देखाएको छ।
अस्पतालको वित्तीय र सञ्चालन अवस्थामा आएको सुधारका कारण रेटिङ एजेन्सी इक्रा नेपालले यसको क्रेडिट रेटिङलाई ‘अपग्रेड’ गरेको छ। इक्राले अस्पतालको कुल ९४ करोड ४१ लाख रुपैयाँ बराबरको ऋण सुविधाका लागि दीर्घकालीनतर्फ ‘इक्रा एनपी एल ट्रिपल बी’ र अल्पकालीनतर्फ ‘इक्रा एनपी ए थ्री प्लस’ रेटिङ प्रदान गरेको छ।
व्यापार बढेसँगै अस्पतालको नाफाको अवस्था र ऋण तिर्न सक्ने क्षमतामा पनि सुधार आएको छ। सन् २०२५ मा अस्पतालको सञ्चालन नाफा मार्जिन २२ प्रतिशत कायम भएको छ। आम्दानी बढेपछि अस्पतालले सन् २०२४ को मध्य जुलाईसम्म कायम रहेको कुल म्यादी ऋणको करिब २२ प्रतिशत हिस्सा समय अगावै भुक्तानी गरेको छ।
अस्पतालको ऋण र इक्विटीको अनुपात सन् २०२४मा १.९ गुणा रहेकोमा सन् २०२५ मा सुधार भएर १.१ गुणामा झरेको छ। यस्तै, ऋणको ब्याज र किस्ता तिर्न सक्ने क्षमता पनि २.६ गुणा पुगेको छ, जुन अघिल्लो वर्ष १.९ गुणा मात्र थियो।
सन् १९९४ मा स्थापित बी एन्ड बी हस्पिटल विशेषगरी हाडजोर्नी सेवाका लागि प्रख्यात छ। स्थापनाको तीन दशक लामो इतिहास बोकेको यस अस्पतालको नेतृत्व संस्थापक डा. अशोककुमार बाँस्कोटा र डा. जगदीशलाल वैद्यले गर्दै आएका छन्।
अस्पतालले पछिल्लो समय आफूलाई केवल हाडजोर्नीमा मात्र सीमित नराखी ‘मल्टी–स्पेसालिटी’ अस्पतालको रूपमा अघि बढाएको छ। हाल यहाँ मुटु रोग, न्युरोलोजी, अंकोलोजीजस्ता नयाँ सेवा थपिएका छन्। यद्यपि, अझै पनि अस्पतालको कुल राजस्वमा हाडजोर्नी र जनरल सर्जरीको हिस्सा करिब ४७ प्रतिशत रहेको छ।
व्यापारिक वृद्धि लोभलाग्दो देखिए पनि अस्पतालसामु केही चुनौती पनि छन्। अस्पतालको ‘करेन्ट रेसियो’ सन् २०२५ मा ०.३ गुणा मात्र छ, जसले अल्पकालीन दायित्वको तुलनामा चालू सम्पत्ति निकै कम रहेको देखाउँछ। यो समस्या पछिल्लो पाँच वर्षदेखि निरन्तर देखिएको छ।
साथै, काठमाडौं उपत्यकामा खुल्ने नयाँ र आधुनिक सुविधायुक्त मल्टी–स्पेसालिटी अस्पतालका कारण बढ्दो प्रतिस्पर्धा र दक्ष चिकित्सकलाई टिकाइराख्नु अस्पतालका लागि मुख्य चुनौती हुने इक्राको विश्लेषण छ। अस्पतालले ३ सय बेडको इजाजत पाए पनि हाल २ सय ३० बेड मात्र सञ्चालनमा छन्, जसको अकुपेन्सी दर करिब ६१ प्रतिशत छ।
आगामी दिनमा नयाँ थपिएका सेवाबाट कसरी आम्दानी बढाउने र सेवाको गुणस्तर कसरी कायम राख्ने भन्ने कुरा नै अस्पतालको भविष्यको कडी हुने देखिएको छ।