काठमाडौं। विद्युतीय स्कुटर (ईभी) को सञ्चालन खर्च कम हुने भएकाले धेरैको रोजाइमा ईभी परे पनि ब्याट्री फेर्नुपर्ने झन्झटका कारण उपभोक्ता दोहोर्याएर प्रयोग गर्न हिच्किचाउन थालेका छन्। नेपाली सडकमा ईभी स्कुटरको उपस्थिति बाक्लिँदै गए पनि ब्याट्री फेर्नुपर्ने झन्झटले दोहोर्याएर ईभी प्रयोग गर्न हिच्किचाउन थालेका हुन्।
ईभी प्रयोगकर्ता रामेश्वर अधिकारी ईभी स्कुटरको ब्याट्री फेर्न झन्झट लागेर अब ईभी प्रयोग नगर्ने सोच बनाएको बताउँछन्। ‘ईभी स्कुटर प्रयोग गर्दा सञ्चालन खर्च त कम हुन्छ,’ उनले भने, ‘तर ब्याट्रीको वारेन्टी सकेर फेर्न जाँदा यसको लागत सुनेर धक्का लाग्यो। यो ईभी बेचेर अब पेट्रोल वाला स्कुटर खरिद गर्ने सोच बनाएको छु।’ यही कारणले फेरि ईभी नकिन्ने सोच बनाएको उनको भनाइ छ।
धेरैको रोजाइमा ईभी परेको त छ। तर, एक पटक ईभी प्रयोग गरिसकेका उपभोक्ताहरू पुनः ईभी प्रयोग गर्न भने हच्किन थालेका छन्। ईभीको मुख्य हिस्सा मानिने ब्याट्रीको आयु कम हुने र छिट्टै फेर्नुपर्ने बाध्यताले उपभोक्तालाई आर्थिक तथा मानसिक दबाब परेको ईभी स्कुटर प्रयोगकर्ता बताउँछन्। ब्याट्री परिवर्तन गर्दा लाग्ने उच्च लागत, आवश्यक प्रविधि र दक्ष जनशक्तिको अभावले पनि समस्या परेको उपभोक्ताहरूले बताए।
ईभी स्कुटर खरिद गर्दा सबैभन्दा धेरै सोचिने महत्वपूर्ण कुरा भनेको ईभीमा पेट्रोल भर्नु पर्दैन। जसका कारण पेट्रोल भर्ने पैसा बच्छ। ईभी स्कुटरको लागि केवल चार्ज गर्नुपर्ने आवश्यक पर्छ। तर, इलेक्ट्रिक स्कुटरमा सबैभन्दा ठुलो खर्च ब्याट्रीमा हुन्छ। यदि स्कुटरको ब्याट्री बिग्रियो भने त्यसलाई बदल्नु निकै महँगो हुन्छ।
ईभी खरिद गर्दा पेट्रोल भर्नु पर्दैन भन्ने कुरा मात्र सोच्दा अहिले ईभी स्कुटरले दु:ख दिएको अर्काे ईभी प्रयोगकर्ता बताउँछन्। ‘इन्धन स्कुटरमा जस्तो पेट्रोल हाल्नु पर्दैन चार्ज गर्दा खर्च कम लाग्छ भनेर ईभी स्कुटर किने,’ उनी भन्छन्, ‘पेट्रोल भर्नु पर्दैन भन्ने कुरा मात्र सोचेर यसको ब्याट्री लाइफबारे नसोच्दा अहिले तनाव भएको छ।’
ब्याट्रीमा दिएको वारेन्टी सकिएपछि अहिले जति बेला पनि चार्जमा मात्र राख्नुपर्छ परिवर्तन गर्न पैसा धेरै लाग्ने भएकाले स्कुटर नै बिक्री गर्ने उनको भनाइ छ। उनका अनुसार ब्याट्री फेर्न लाखभन्दा बढी लाग्ने रहेछ। बिक्री गर्न पनि गाह्रो। अब यो बिक्री गरेपछि ईभी स्कुटर प्रयोग नगर्ने उनी बताउँछन्।
स्कुटरमा ब्रान्ड अनुसार ब्याट्रीको लागि १८ महिनादेखि ५ वर्षसम्मको वारेन्टी दिएको हुन्छ। ब्रान्डअनुसार यसको ब्याट्रीको वारेन्टी फरकफरक हुने भएकाले १८ महिना वारेन्टी दिएको स्कुटर २०–२१ महिनापछि ब्याट्री फेर्नुपर्ने हुन्छ। स्कुटरमा ब्याट्री फेर्नुपर्ने भएपछि उपभोक्ताहरुले ब्याट्री फेर्नुभन्दा पनि नयाँ स्कुटर खरिद गर्न बढी रुचि देखाउने गरेको मल्टीब्रान्ड स्कुटर बिक्री तथा सर्भिस दिदै आएको बिजी भिडियो एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक गृहेन्द्र बज्राचार्यले बताए।
‘ईभी स्कुटरको ब्याट्री परिवर्तन गरेर चलाउने ग्राहक नै हुँदैनन्,’ बज्राचार्य भन्छन्, ‘ब्याट्रीमा समस्या आएपछि त्यो स्कुटरको काम नै हुँदैन त्यसमा ब्याट्री परिवर्तन गरेर चलाउने भनेको संघसंस्थाले मात्र हो।’ आफैले प्रयोग गर्ने उपभोक्ताहरुले त्यो जसरी हुन्छ बिक्री गरेर इन्धन वाला स्कुटर खरिद गर्ने गरेको उनको भनाइ छ।