काठमाडौं। नेपाली कांग्रेसको इतिहासमै दोस्रो विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। यो महाधिवेशनलाई राजनीतिक दलहरूले मात्र होइन, देशको निजी क्षेत्रले पनि विशेष चासो र उत्सुकताका साथ नियालिरहेको छ। खासगरी, देशका उद्योगपति, व्यवसायी र आर्थिक क्षेत्रका प्रतिनिधिहरूको नजर कांग्रेसबाट कस्तो नेतृत्व आउँला र त्यसले देशको आर्थिक नीति निर्धारणमा कस्तो भूमिका खेल्ला भन्नेमा केन्द्रित छ।
गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनले भ्रष्टाचार अन्त्य सहितको विभिन्न माग राखेको थियो। त्यसपछि राजनीतिक दलभित्र परिवर्तनको माग व्यग्र रूपमा उठ्न थालेको थियो। यस्तै अवस्थामा नेपाली कांग्रेसले विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो। तर, यो विशेष महाधिवेशन पार्टीको मूल नेतृत्व अर्थात् सभापति शेरबहादुर देउवा सहितका केही पदाधिकारी र संस्थापन पक्षसँगको सहमतिमा भने गरिएको छैन। नेतृत्वले नियमित महाधिवेशन ढिलाइ गर्न खोजेको र प्रतिनिधि सभाको निर्वाचनपछि मात्र महाधिवेशन गर्न सकिने अडान लिएपछि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित यो विशेष महाधिवेशन बोलाइएको हो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी कार्यालयको तर्फबाट आह्वान गरेको यस विशेष महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता हुने दाबी आयोजकहरूले गरिरहेका छन्। महाधिवेशनमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधि पुग्छ वा पुग्दैन र नेतृत्व परिवर्तन हुन्छ वा हुँदैन भन्ने विषयलाई विशेष चासोका साथ निजी क्षेत्रका प्रतिनिधिहरूले हेरिरहेका छन्। यसै विषयले निजी क्षेत्रलाई विशेष चिन्तित र आशावादी बनाएको छ।
निजी क्षेत्रले हरेक राजनीतिक दलको महाधिवेशनलाई सामान्यतया विशेष चासोकै रूपमा हेर्ने गर्छ। तर, नेपाली कांग्रेसको सन्दर्भमा यो चासो झन् बढी हुने गरेको निजी क्षेत्रका प्रतिनिधिहरू बताउँछन्। कुनै पनि राजनीतिक दलको नेतृत्व कस्तो आउँछ र उसले आफ्नो दलको नीति निर्धारणमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण कस्तो राख्छ भन्ने विषयमा व्यवसायीहरू विशेष ध्यान दिएको हुन्छन्। किनभने, सरकारमा गएपछि कस्तो आर्थिक नीति नियम बनाउँछ वा बनाउँदैन, लगानीमैत्री वातावरण निर्माण गर्छ वा गर्दैन, उद्योग व्यापारलाई कस्तो सहयोग गर्छ भन्ने सबै कुरा नेतृत्वको दृष्टिकोणमा भर पर्ने भएकाले निजी क्षेत्रले यसलाई गम्भीरताका साथ लिने गरेको हो।
देशका उद्योगपति र व्यवसायीहरू नेपाली कांग्रेसप्रति विशेष लोयल हुने गरेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताउँछन्। यो लोयल्टी र विश्वासको मुख्य आधार कांग्रेसको आर्थिक नीति र खुला अर्थतन्त्रप्रतिको दीर्घकालीन प्रतिबद्धता हो। नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै खुला अर्थतन्त्र, निजी क्षेत्रको विकास र बजारमुखी अर्थव्यवस्थाको पक्षमा खडा भएको छ। यही नीतिगत स्पष्टताले गर्दा व्यवसायीहरू कांग्रेसलाई आफ्नो हितको रक्षक मान्ने गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका एक पूर्व अध्यक्षका अनुसार अन्य पार्टीको नेतृत्वभन्दा कांग्रेसको नेतृत्व कस्तो आउँछ भन्ने चासो बढी मात्रामा निजी क्षेत्रलाई हुने गरेको छ। किनभने कांग्रेसको नीतिसँग सहमति जनाउने र देश कांग्रेसको नेतृत्वमा हुँदा आफूहरू सुरक्षित महसुस गर्ने गरेको उनीहरूले बताउँछन्।
कांग्रेस खुला अर्थतन्त्रको पक्षमा निरन्तर रहेको कारणले पनि निजी क्षेत्र बढी मात्रामा कांग्रेसको नेतृत्व कस्तो आउँछ भनेर नियालिरहेका हुन्छन्। व्यवसायीहरूले यो पार्टीबाट आउने नीति र निर्णयमा एक किसिमको भरोसा र स्थिरता पाउने विश्वास गर्छन्। सरकारमा कांग्रेसको नेतृत्व हुँदा नयाँ उद्योग स्थापना गर्ने, लगानी गर्ने र व्यवसाय विस्तार गर्ने वातावरण बन्ने अपेक्षा उनीहरूले राख्ने गरेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताउँछन्। यसैले आजको यो विशेष महाधिवेशनबाट कस्तो नेतृत्व आउँछ, त्यसले खुला अर्थतन्त्रप्रतिको प्रतिबद्धता कायम राख्छ कि राख्दैन भन्ने विषयमा निजी क्षेत्रको ठूलो चासो रहेको छ।
अहिले विशेष महाधिवेशनमा निजी क्षेत्रले बढी चासो राख्नुको मुख्य केन्द्रबिन्दु भने महामन्त्री गगन थापा हुन्। महाधिवेशनबाट थापाले पार्टीको नेतृत्व सम्हाल्नेमा धेरैको विश्वास छ र निजी क्षेत्र पनि यसै आशामा लागिरहेको छ। यो आशावाद र विश्वासको आधार गगन थापाले विगतमा देखाएको काम र व्यवहार हो। भूकम्पबाट देश तहसनहस हुँदा होस् वा कोभिड-१९ महामारी र त्यसपछि जारी आर्थिक मन्दीको कठिन बेला होस्, निजी क्षेत्रलाई परेको समस्या समाधानका लागि महामन्त्री थापाले निर्वाह गरेको भूमिका निजी क्षेत्रका प्रतिनिधिहरूको स्मरणमा छ। संसदमा निजी क्षेत्रको समस्या र चुनौतीलाई प्रभावकारी ढंगले राखेको, त्यसका लागि नीतिगत समाधान खोजेको र सरकारसँग समन्वय गरेको थापाको भूमिकालाई निजी क्षेत्रले सधैं सम्मान गरिरहेको छ।
यस्तै, लगानीमैत्री नीति निर्माण र व्यवसायिक वातावरण सुधारका लागि थापाले देखाएको प्रतिबद्धता पनि निजी क्षेत्रले बिर्सेको छैन। यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा विभिन्न अध्यादेशहरू ल्याएर गरिएको कानून संशोधनमा पनि महामन्त्री थापाको भूमिका अहम रहेको निजी क्षेत्रका प्रतिनिधिहरूले स्मरण गर्दै आएका छन्। लगानी बोर्ड ऐनदेखि लिएर विभिन्न व्यवसाय सम्बन्धी कानुनमा सुधार गर्दा थापाको सकारात्मक भूमिकाले व्यवसायीहरूमा उनीप्रति विशेष आस्था जगाएको हो। त्यसैले अहिले भइरहेको विशेष महाधिवेशनबाट थापाले नेतृत्व सम्हालोस् भन्ने चाहना निजी क्षेत्रले राखिरहेको छ।
विशेष महाधिवेशनमा आउने अधिकांश प्रतिनिधिहरूले नीति र नेतृत्व फेरेर गगनको नेतृत्वमा प्रतिनिधि सभाको निर्वाचनमा जाने उद्घोष गरिरहेका छन्। झाँक्री बाजागाजासहितको र्यालीमा 'नेपाली कांग्रेस के भन्छ? गगन-विश्व ले भन्छ' भन्ने नारा गुञ्जिरहेको छ। यति मात्र होइन, यसअघि नै अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगनलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेर कांग्रेस चुनावी मैदानमा जानुपर्ने धारणा सार्वजनिक रूपमा राखिरहेका छन्। जेनजी आन्दोलनपछि युवा पुस्ताले देखाएको आक्रोश र परिवर्तनको चाहना पूरा गर्न मुलुक सम्हाल्ने जिम्मेवारी गगनको काँधमा सुम्पिनुपर्ने धारणा पार्टीभित्र र बाहिर जोडतोडले उठिरहेको छ। यस्तो माहोलमा निजी क्षेत्र पनि त्यसैको आशा र अपेक्षामा लागिरहेको छ।
यद्यपि, विशेष महाधिवेशनले नेतृत्वनै परिवर्तन गर्छ वा गर्दैन भन्ने टुंगो भने अहिले भइसकेको छैन। विभिन्न नीतिहरू पारित गर्ने तयारी भने गरिरहेको छ। सोमबारसम्म चल्ने यस विशेष महाधिवेशनको बन्दसत्रबाट नेतृत्व परिवर्तन होला वा नहोला भन्ने अहिलेसम्म निश्चित भइसकेको छैन। तर, देशभरबाट आइपुगेका प्रतिनिधिहरूको मनोभाव र माहोललाई हेर्दा नेतृत्व परिवर्तनको सम्भावना प्रबल देखिन्छ।
विशेष महाधिवेशनबाट कांग्रेसमा कस्तो नेतृत्व आउँछ, त्यसले खुला अर्थतन्त्रप्रतिको प्रतिबद्धता कायम राख्छ कि राख्दैन, निजी क्षेत्रका समस्या समाधानमा कस्तो भूमिका खेल्छ, लगानीमैत्री वातावरण निर्माणमा कत्तिको गम्भीर रहन्छ र देशको आर्थिक विकासमा निजी क्षेत्रलाई कस्तो स्थान दिन्छ भन्ने जस्ता महत्वपूर्ण प्रश्नहरूको उत्तर पाउन देशको निजी क्षेत्र उत्सुक छ। यी सबै प्रश्नहरूको उत्तर सोमबारको बन्दसत्रले दिने अपेक्षा निजी क्षेत्रले गरेको छ। नयाँ नेतृत्व आए त्यसले देशको आर्थिक विकासमा कस्तो नयाँ दिशा दिन्छ र पुरानो नेतृत्व कायम रहे त्यसले व्यवसायिक वातावरणमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा निजी क्षेत्रको नजर अहिले भृकुटीमण्डपमा केन्द्रित छ।