काठमाडौं। विद्युतीय सवारी साधन (ईभी)को प्रयोगमा नेपालले ठूलो फड्को मारिरहँदा प्रयोगकर्तामाझ मर्मत सम्भार र विशेषगरी ब्याट्री परिवर्तनको विषय चर्चाको केन्द्रमा छ। चार पांग्रे ईभीको तुलनामा दुई पांग्रेमा ब्याट्रीको वारेन्टी कम हुन्छ। छोटो समयमा परिवर्तन गर्नुपर्ने हुन्छ। सामान्यतया, एउटा विद्युतीय सवारीको कुल मूल्यको ३० देखि ५० प्रतिशतसम्म हिस्सा ब्याट्रीको मूल्यले ओगटेको हुन्छ।
विद्युतीय स्कुटरको सबैभन्दा महत्त्वपूर्ण र महँगो भाग भनेकै ब्याट्री हो। बजारमा उपलब्ध विभिन्न ब्रान्ड र क्षमताका आधारमा ब्याट्रीको मूल्य फरक-फरक हुन्छ। एउटा लिथियम आयोन ब्याट्रीको मूल्य स्कुटरको कूल मूल्यको करिब ३० देखि ४० प्रतिशतसम्म पर्ने देखिन्छ।
पछिल्ला केही वर्षमा नेपालमा विद्युतीय दुई पांग्रे सवारी साधनप्रतिको आकर्षण तीव्र रूपमा बढेको छ। तर, बजारमा प्रवेश गरेका सबै ब्रान्डहरू सफल भएका छैनन्। स्कुटर राम्रोसँग बिक्री हुन थालेदेखि अहिले धमाधम ब्याट्री फेर्नुपर्ने समय धेरै उपभोक्ताको भइसकेको छ।
नेपाली बजारमा पछिल्लो समय मार्केट लिडर बन्न सफल ब्रान्ड याडियाको ब्याट्री मार्केटमा जहाँसुकै नपाइने याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपालका प्रतिनिधि बिजने कोइराला बताउँछन्।
‘हाम्रो ब्याट्री सामान्य मार्केटमा जहाँसुकै पाइने खालको होइन। अहिले बजारमा सेम टाइपको ब्याट्री चाइनाबाट मगाएर बेच्नेहरू छन्,’ उनी भन्छन्, ‘तर हाम्रो याडियाको ब्याट्री भने ग्राफाइट टेक्नोलोजीमा आधारित हुन्छ र त्यसमा थप सेफ्टी फिचर्स पनि एड गरिएको हुन्छ। याडियाको ग्राफाइट ब्याट्री हामीले आधिकारिक शोरुम र सर्भिस सेन्टरमार्फत मात्र उपलब्ध गराउँछौँ।’ बाहिर कतै पनि याडियाको आधिकारिक ब्याट्री नदिएको उनको भनाइ छ।
यसमा इन्धन खर्च जोगिने भए पनि ब्याट्री फेर्नुपर्ने समयमा ठूलो रकम खर्च हुने चिन्ताले धेरैलाई सताउने गरेको छ।
उनका अनुसार याडियाको स्कुटर किनेका ग्राहकले ब्याट्री फेर्नु परेमा याडियाको आधिकारिक शोरुम वा सर्भिस सेन्टरमै जानुपर्छ। बजारमा ३८ एम्पियरको ग्राफाइट ब्याट्री अरु कम्पनीले पनि निकाल्छन्। कसैले आफ्नो मर्जीले बाहिरको ब्याट्री हाल्छन् भने त्यसको वारेन्टी र जिम्मेवारी ग्राहककै हुन्छ। बाहिर एक वर्षको वारेन्टी दिने ब्याट्री याडियाले दुई वर्षसम्मको वारेन्टी दिन्छ। बाहिरभन्दा ब्याट्री राम्रो हुने भएकाले महँगो हुने कोइराला बताउँछन्।
‘याडियाले लिथिएम ब्याट्री पनि आयात गर्छ। त्यो एक-दुई लाख पर्छ। अन्य कम्पनीले सस्तोमा पनि दिन्छन्। तर, सस्तोमा दिनेहरुले वारेन्टी कम दिने गर्छन,’ उनले भने। यसमा इन्धन खर्च जोगिने भए पनि ब्याट्री फेर्नुपर्ने समयमा ठूलो रकम खर्च हुने चिन्ताले धेरैलाई सताउने गरेको छ।
स्कुटरको ब्याट्री ब्रान्डअनुसार मूल्य फरक हुने बिजी भिडियो एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक बज्राचार्य बताउँछन्। ‘दुई वर्ष वारेन्टी भएको ब्याट्रीको मूल्य कम्तिमा पनि एक लाख पर्छ,’ उनले भने, ‘ब्रान्डअनुसार मूल्य फरक–फरक हुन्छ।’ उनका अनुसार ईभीको ब्याट्री ब्रान्डअनुसार कुनै ब्रान्डको ब्याट्री नयाँ स्कुटर खरिदको आधा लाग्छ। कुनै ब्याट्री सस्तो पर्छ।
नेपाली बजारमा उपलब्ध स्कुटरको ब्रान्ड, क्षमता र ब्याट्रीको प्रकारअनुसार यसको खर्च फरक-फरक हुन्छ। नेपाली बजारमा मुख्यतया लिथियम आयन ब्याट्री र लिड एसिड ब्याट्री भएका स्कुटर उपलब्ध छन्। यी स्कुटरमा प्रयोग भएका ब्याट्रीको आयु र मूल्य फरक छ।
अन्यको तुलनामा लिथियम-आयन ब्याट्रीको आयु लामो हुन्छ। तर, मूल्य पनि महँगो पर्छ। यो ब्याट्रीको मूल्य कम्तीमा ८० हजारदेखि एक लाख ५० हजारसम्म पर्नेछ।
नेपालमा ब्याट्रीहरू विदेशबाट आयात गर्नुपर्ने र यसमा लाग्ने भन्सार शुल्कले मूल्य बढाउने उनको भनाइ छ।
नेपालमा उपलब्ध सस्ता स्कुटरमा लिड एसिड ब्याट्री प्रयोग भएर आएका छन्। लिड एसिड ब्याट्रीको मूल्य ४० हजारदेखि लाख पर्नेछ। ईभीको संचालन खर्च एकदमै कम छ। तर, यसको ब्याट्री परिवर्तन गर्न नयाँ स्कुटर खरिदको आधा लाग्ने लुयान स्कुटरको आधिकारिक बिक्रेता जेरो एमिसन राइड एनका प्रतिनिधि शंकर शर्मा बताउँछन्।
‘नेपालमा धेरै ईभी स्कुटर भित्रिएका छन्। ती सबैको ब्याट्री वारेन्टी र परिवर्तन खर्च फरक-फरक हुन्छ,’ उनले भने। नेपालमा ब्याट्रीहरू विदेशबाट आयात गर्नुपर्ने र यसमा लाग्ने भन्सार शुल्कले मूल्य बढाउने उनको भनाइ छ।
नेपालमा लोकप्रिय ब्रान्ड एथर, याडिया, टिभिएस, सेगवेलगायतका ब्रान्डमा लिथिएम आयोन ब्याट्री प्रयोग गरिएको छ। यी स्कुटरको ब्याट्री परिवर्तन गर्न एक लाखदेखि माथि पर्नेछ।
ब्याट्री कहिले फेर्नुपर्छ?
धेरैजसो कम्पनीले ब्याट्रीमा १८ महिनादेखि ५ वर्षसम्मको वारेन्टी दिने गर्छन्। सामान्यतया, लिथियम आयोन ब्याट्रीको आयु ५ देखि ८ वर्षसम्म हुन्छ।
यदि, ब्याट्रीको स्वास्थ्य ७०-८० प्रतिशतभन्दा तल झर्यो भने माइलेज कम हुन थाल्छ। जुन समयमा ब्याट्री फेर्नुपर्ने हुन सक्छ। धेरै ईभी स्कुटरमा वारेन्टी सकिने वित्तिकै ब्याट्री फेर्नुपर्ने हुन्छ।