काठमाडौं। नेपाल अटोमोबिल इम्पोर्टर्स एण्ड म्यान्यूफ्याक्चरर्स एसोसिएशन (नाइमा)ले काठमाडौं उपत्यकाका एक हजार ६५१ जना ट्राफिक प्रहरीलाई पाँच वर्ष तालिम दिने भएको छ।
नाइमा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच भएको सम्झौता अनुसा ट्राफिक प्रहरीलाई व्यवहारकुशल सीप तथा नयाँ सवारी प्रविधिसम्बन्धी नियमित तालिम प्रदान गरिने भएको हो।
ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा-केन्द्रित व्यवहार, जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री अभ्यासमा निरन्तर रुपमा अद्यावधिक गराउने उद्देश्यसहित पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारी पत्रमा हस्ताक्षर गरिएको नाइमाले जनाएको छ।
ट्राफिक सप्ताह २०८२ अन्तर्गत 'सडक दुर्घटना न्यूनीकरण विशेष अभियान'को उद्घाटन कार्यक्रमका अवसरमा उक्त समझदारी पत्रमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की र नाइमाका बोर्ड सदस्य सौरभ ज्योतिबीच हस्ताक्षर तथा आदान प्रदान गरिएको हो।
समझदारीअनुसार नाइमाले आफ्ना सदस्य कम्पनीहरूको विशेषज्ञता उपयोग गर्दै नयाँ सवारी साधन प्रविधि, सडक सुरक्षा, नवीन प्रविधिको प्रयोग तथा सवारी तथा यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयमा तालिम सामग्री, प्राविधिक स्रोत, विशेषज्ञ सहजीकरण तथा आवश्यक समन्वय उपलब्ध गराउनेछ।
यसैगरी, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा तालिमको गुणस्तर सुनिश्चितता गर्नेछ।
समझदारी कार्यान्वयनअन्तर्गत पहिलो चरणको तालिम २०८२ माघ ४ गते आइतबारदेखि सुरु हुने छ। तालिम १७ कार्यदिन निरन्तर सञ्चालन हुने र प्रत्येक सत्रमा १०० जना ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ।
तालिममा तनाव व्यवस्थापन तथा ध्यान, सञ्चार र द्वन्द्व व्यवस्थापन, नयाँ सवारी साधन प्रविधिको सैद्धान्तिक तथा प्रत्यक्ष अवलोकन, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा आवश्यक ह्यान्ड जेस्चर सीप लगायतका विषय समेटिनेछन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरीलाई नयाँ सवारी प्रविधि र जनसम्पर्क केन्द्रित सेवाका विषयमा निरन्तर शिक्षित बनाउनु आवश्यक रहेको बताए। 'ट्राफिक प्रहरी दैनिक रूपमा नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहन्छन्, त्यसैले उनीहरूको व्यवहारकुशल सीप सुदृढ गर्नु र नयाँ सवारी प्रविधिबारे अद्यावधिक गराउनु जरुरी छ,' उनले भने।