दुई प्रतिशत विन्दुले ब्याज छुट दिँदा वाणिज्य बैंकहरूको औसतमा १४ करोड रूपैैयाँले नाफामा कमी आउने देखिएको छ ।
प्राप्त तथ्यांक, चैतसम्मको बैंकको नाफा र ब्याज छुट दिने बैशाख–असारमा छुट दिने हिस्सासँग गत वर्षको नाफा समेत हेर्दा समग्रमा ३ अर्ब ७८ करोड रूपैयाँले नाफामा आउने आंकलन गरिएको हो । हाल २७ ओटा बैंक सञ्चालनमा छन् । तर, बैंकअनुसार नाफाको संकुचन भने कम बढी हुनेछ ।
चालू आर्थिक वर्ष बैंकहरुले ८० अर्ब रुपैयाँ नाफा गर्ने आंकलन गरिएको छ । तर, राष्ट्र बैंकले विभिन्न क्षेत्रमा २ प्रतिशत विन्दुले व्याज छुट दिने नीति अघि सारेपछि बैंकहरुको नाफामा ठूलो गिरावट आउने दावी गरिरहेका बेला प्राप्त तथ्य र तथ्यांकहरुलाई केलाउँदा खासै ठूलो असर नपर्ने देखिएको हो ।
आधार दर कम भएका बैंकहरुको नाफामा उच्च गिरावट आउँछ भने आधार दर उच्च भएका बैंकहरुको नाफाम कम गिरावट आउँछ । विशषगरि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नबिल, स्ट्यान्डर्ड चार्टर्ड बैंक र एभरेस्ट बैंकहरुको आधार दर तुलनात्मक रुपमा कम छ । सरकारी दुई ठूला बैंकको नाफामा मात्रै ६० करोडले कमी आउने केन्द्रीय बैंकको अनुमान छ । गत आर्थिक वर्षमा २८ ओटा वाणिज्य बैंकले ६६ अर्ब रुपैयाँ हाराहारी नाफा कमाएको तथ्यांक केन्द्रीय बैंकसँग छ ।
केन्द्रीय बैंकले दुई प्रतिशत बिन्दूले ब्याज घटाउन निर्देशन दिएसँगै पछिल्लो समय बैंकर र राष्ट्र बैंकबीच दूरी बढ्दै गएको छ । बैंकरहरुले मनलाग्दी रुपमा केन्द्रीय बैंकले २ प्रतिशत बिन्दूले ब्याज घटाउन निर्देशन दिएकाले नाफामा गम्भीर धक्का लाग्ने बताईरहेका छन् । कोरोना महामारीसँगै केन्द्रीय बैंकको नीतिले बैंकहरको नाफा आधाले घट्ने दावी गर्दै बैंकरहरु नियामक निकायमाथि खनिँदै आएका छन् ।
केन्द्रीय बैंकले कोरोना महामारीबाट थिल्थिलो बनेको अर्थतन्त्रलाई पुनर्रुत्थान कोरोना प्रभावित क्षेत्रलाई लक्षित गर्दै बैंकको ब्याजमा सहुलियत दिन निर्देशन ल्याएको थियो । तर, केन्द्रीय बैंकले भने व्याज छुटले बैंकहरुको नाफामा कुनै असर नपर्ने बताउँदै आएको छन् ।
व्याज छुटले किन ठूलो प्रभाव पार्दैन ?
केन्द्रीय बैंकका अनुसार हालसम्म बैंकहरुले ३६ खर्ब रुपैयाँ निक्षेप संकलन गरी ३२ खर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । केन्द्रीय बैंकका अधिकारीले बताएअनुुसार २ प्रतिशत ब्याज छुट दिन नपर्ने कर्जा अन्तर्गत करिब ६ खर्ब रुपैयाँ छ । भनेपछि २६ खर्ब रुपैयाँबराबरको कर्जामा बैंकहरुले २ प्रतिशत छुट दिनुपर्ने देखिन्छ ।
बैंकहरुले २६ खर्ब रुपैयाँ बराबरको ऋणमा एक वर्षसम्म २ प्रतिशत ब्याज छुट दिए, बार्षिक रुपमा ५२ अर्ब ब्याज छुट दिनुपर्छ । यसलाई आधार मान्दा (वैशाख–असार) तीन महिनामा जम्मा १३ अर्ब रुपैयाँ छुट दिनुपर्ने हुन्छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही दिन अघि संसदीय समितिमा भनेका थिए, ‘आधार दरभन्दा माथी व्याज लिएको हकमा अधिकतम २ प्रतिशत विन्दुले व्याज नघट्ने कर्जा करिब १० खर्ब भन्दा बढी छ ।’ आधार दरकै हाराहारीमा ऋण लगानी गरेका बैंकले २ प्रतिशत बिन्दुले ब्याज घटाउनै पर्दैन ।
जस्तो कुनै बैंकको आधार दर ९.४१ छ र उसले कर्जा १० प्रतिसत व्याजमा दिएको छ भने सो बैंकले जम्मा शून्य दशमलव ५९ प्रतिसत विन्दुले मात्रै व्याज घटाए पुग्छ । यस्तो अवस्थामा बैंकले एक प्रतिशत मात्रै व्याज बचत गरे भने बार्षिक रुपमा १० अर्ब रुपैयाँ जोगाउँछन् । वैशाख–असारमा उनीहरुले २ अर्ब ५० करोड भन्दा बढी बचत हुन्छ । ऋणीलाई २ प्रतिशत छुट नदिने वित्तिकै उनीहरुको नोक्सान कम भइहाल्छ ।
त्यसैगरी बैंकहरुले बैंशाख एक गतेदेखि नै निक्षेमा दिँदै आएको ब्याजमा एक प्रतिशत घटाइसकेका छन् । कुल निक्षेपमध्ये ३५ प्रतिशत बचत खातामा छ । यो भनेको १२ खर्व ६० अर्ब बचत खातामा भएको रकमको व्याज १ प्रतिशतले घट्दा बार्षिक रुपमा १२ अर्ब ६० करोड रुपैयाँ बचाउँछन् । वैशाख–असारमा उनीहरुले ३ अर्ब १५ करोड रुपैयाँ जोगाउने केन्द्रीय बैंकले दिएको तथ्यांकका आधारमा देखिएको छ । त्यस्तै बैंकले मुद्धति खाताबाट ब्याजदर घटाएका कारण पछिल्लो तीन महिनामा एक अर्ब रुपैयाँ बचत गर्नेछन् ।
त्यसैगरी, केन्द्रीय बैंकले एक प्रतिशत सीआआर घटाएरु ३ प्रतिसत कायम गरे हुने व्यवस्था गरेको छ । एक प्रतिशत अनिवार्य नगद मौज्दात (सीआआर) घटाउँँदा बजारमा ३६ अर्ब रुपैयाँ अन्य बन्डमा लगानी गर्न पाएका छन् । त्यसबाट बैंकले ३५ करोड रुपैयाँ अतिरिक्त नाफा कमाउन सक्छन् ।
बैंकहरुले २ प्रतिशत विन्दूले ब्याज छुट दिँदा १३ अर्ब रुपैयाँ नाफामा कमी आउने अवस्था भएपनि बैंकको आधार दर उच्च भएका र आधार दरकै हाराहारीमा ऋण दिएकाहरुले २ अर्ब ५० करोड जोगाउँछन् । त्यस्तै बचत र मुद्धति निक्षेपमा घटाएको ब्याजबाट ४ अर्ब १५ करोड रुपैयाँ जोगाउँछन् । सीआरआरबाट ३५ करोड जोगाउँछन् । यसरी बैंकहरुको ७ अर्ब जोगिन्छ ।
समग्रम हेर्दा २ प्रतिशत बिन्दुले ब्याज घटाउँदा बैैंकको नाफामा ६ अर्ब रुपैयाँ मात्रै कमी हुने देखिन्छ । ६ अर्ब रुपैयाँ कम नाफा गरेबापत बैंकले फेरी कर्मचारीलाई दिनु पर्ने १० प्रतिशत बोनस पनि जोेगिन्छ । त्यो ६० करोड रुपैयाँ हुन्छ ।
त्यो रकम घटाउँटा ५ अर्ब ४० करोड रुपैयाँ बाँकी रहन्छ । नाफा कम भएपछि बैंकहरुले तिर्नुपर्ने आयकर पनि घट्छ । यसरी नाफा कम गरेपछि तिर्नुपर्ने आयकर बापतको करीव १ अर्ब ६२ करोड रुपैयाँ पनि जोगिएकै मान्नुपर्ने हुन्छ । त्यसैले बैंकहरुको नाफामा तीन महिनाको अवधिमा जम्मा ३ अर्ब ७८ करोड रुपैयाँ कमी हुने देखिन्छ ।