काठमाडौं। पछिल्लो समय नेपाली बजारमा भित्रिएको राइड सेयरिङ एप ‘ याङ्गो’को प्रभाव तीव्र गतिमा बढिरहेको छ। करिब ८ महिनाअघि नेपालमा सेवा सुरु गरेको यो एपले पठाओ र इनड्राइभ जस्ता स्थापित कम्पनीहरूलाई कडा टक्कर दिइरहेको छ। विद्यार्थी र न्यून आय भएका उपभोक्तालाई लक्षित गर्दै ४० रुपैयाँको सुरुवाती भाडा तोकेका कारण यो अहिले सबैको रोजाइमा पर्न थालेको छ।
याङ्गोको सुरुवात रुसी प्रविधि जायन्ट ‘यान्डेक्स’को अन्तर्राष्ट्रिय ब्रान्डको रूपमा भएको थियो। तर, हाल यो ‘याङ्गो ग्रुप’मार्फत विश्वका ३० भन्दा बढी देशहरूमा स्वतन्त्र रूपमा सञ्चालन भइरहेको छ। त्यस्तै नेपालमा पनि यसको कुनै आधिकारिक कम्पनी भने छैन। सुरुवाती समयमा ट्याक्सीमाण्डुसँगको सहकार्यमा नेपाली बजारमा भित्रिएको यसले यहाँका स्थानीय ट्रान्सपोर्ट कम्पनीहरू र एजेन्सीहरूसँग ‘पार्टनरसिप मोडेल’मा काम गरिरहेको छ। नेपालमा यसको कुनै छुट्टै एकल ‘नेपाली मालिक’ छैन।
नेपालमा यांगोको विस्तार र लोकप्रियताका कारण यसको लगानीका विषयमा अहिले बजारमा विभिन्न किसिमका चर्चा र कौतूहलताहरू उत्पन्न भएका छन्।
याङ्गोले नेपाली बजारमा प्रवेश गर्दाका बखत चालकहरूलाई प्रतिट्रिप १०० रुपैयाँसम्म बोनस र यात्रुहरूलाई ५० प्रतिशतसम्मको छुट दिएर सुरुवात गर्यो। नेपालका स्थापित राइड सेयरिङ कम्पनीहरू ‘पठाओ’ र ‘इनड्राइभर’लाई विस्थापित गर्ने रणनीतिसहित उसले करोडौँ रुपैयाँ विज्ञापनमा खर्च गरिरहेको छ। कुनै पनि नयाँ कम्पनीले बजार छिर्न लगानी गर्नु स्वाभाविक हो, तर आम्दानी शून्य हुँदा पनि महिनाौंसम्म यसरी पैसा ओइर्याउनुले शंका उत्पन्न गराएको छ।
अहिले पनि नेपाली बजारमा राइड सेयरिङका नाममा धेरै कम्पनी खुल्ने तथा भित्रिने गरे पनि बजारमा केही मात्रै राम्रोसँग चलिरहेका छन्।
यो राइड सेयरिङ एपले बजारमा आफ्नो पकड जमाउन पैसाको खोलो बगाइरहेको छ। तर, यसको तीव्र विस्तार र खर्च गर्ने शैलीका कारण धेरैमा संखा उब्जिएको हो।
अहिले पनि नेपाली बजारमा राइड सेयरिङका नाममा धेरै कम्पनी खुल्ने तथा भित्रिने गरे पनि बजारमा केही मात्रै राम्रोसँग चलिरहेका छन्। धेरै कम्पनी बजारमा टिक्न नसकेर बन्द पनि भइसकेका छन्।
विना कमिसन कसरी चल्छ याङ्गो?
यांगोले अहिले राइडरहरूबाट धेरै कमिसन नलिने र उल्टै बोनस दिने गरेको छ। नयाँ बजारमा प्रवेश गर्दा सुरुमा नाफा भन्दा पनि प्रयोगकर्तामाझ लोकप्रिय हुन जरुरी हुन्छ। जसका कारण कम्पनीले गरिरहेको खर्चलाई मार्केटिङ इन्भेस्टमेन्टका रूपमा हेरिन्छ।
पठाओ, इनड्राइभले १५-२० प्रतिशतसम्म कमिसन लिँदा यांगोले भने कमिसन नलिकन निश्चित समयका लागि फ्री सेवा दिएर राइडरहरूलाई आकर्षित गरिरहेको छ।
यांगोमा कम्पनीले चालकबाट कमिसन नलिई बोनस दिने गरेको प्रब्रन्ध निर्देशक अर्जुन केसी बताउँछन्। ‘कम्पनीले आफ्नो बिजनेस प्रमोसन प्लान अनुसार आवश्यक फन्ड जेनेरेट गरेको हुन्छ,’ उनले भने, ‘त्यही योजना र बजेटअनुसार कस्टमरलाई डिस्काउन्ट र राइडरलाई बोनस प्रदान गरिँदै आएको छ।’ याङ्गोमा बोनस राइडरले गरेको राइडको संख्यामा निर्भर गर्ने उनको भनाइ छ।
उनकाअनुसार यांगोमा राइड संख्या सामान्यतया ३ ट्रिपदेखि ३२ ट्रिपसम्म हुन्छ। चालकले आफुले गरेको राइड संख्याको आधारमा बोनस पाउँछन्।
याङ्गो राइडरले कति पाउँछन् कमिसन?
याङ्गोमा राइडरलाई दिइने बोनसका कारण अहिले धेरै राइडरहरु पठाओ र इनड्राइभ छोडेर यांगोतिर आकर्षित भइरहेका छन्। कम्पनीले राइडरहरुलाई आकर्षित गर्नको लागि सुरुवाती समयमा बोनस दिए पनि सस्तो र विना कमिसनको यो मोडल कति समय टिक्छ भन्ने कुरा भने कम्पनीले भविष्यमा लिने नीतिमा निर्भर गर्ने छ।
यांगो चलाउने राइडरले एक दिनमा बोनस बाहेक ३ हजारदेखि ३ हजार ५०० सम्म कमाउने याङ्गो चालक युवराज चौधरी बताउँछन्। ‘याङ्गो चलाउँदा दैनिक ३ हजारदेखि ३५ सयसम्मको कमाइ हुन्छ,’ उनी भन्छन्, ‘त्यसमा कम्पनीले बोनस पनि दिँदा भने ५ हजारसम्म कमाई हुन्छ।’ कम्पनीले दिने बोनस र राइडबाट दैनिक ५ हजारसम्म कमाई हुने चौधरीको भनाइ छ।
याङ्गोमा चालकले जति धेरै टिप गर्यो त्यति धेरै बोनस आउँछ। बोनसको लागि चालकले ३ टिप अनिवार्य गर्नुपर्ने हुन्छ। तिन टिप गरेपछि कम्पनीले चालकलाई बोनस दिने गरेको छ।