काठमाडौं। सार्वजनिक यातायातको विकल्पको रूपमा आएको राइड सेयरिङ सेवा 'यांगो' सुरुमा यात्रुहरूका लागि सस्तो र सुविधाजनक विकल्पको रूपमा उदीयमान भए पनि कतिपय चालकको मनमानीका कारण महँगो र तनावपूर्ण बन्न थालेको छ। कमिसन कम भएको र सस्तो भाडादरको प्रचार गर्ने यो प्लेटफर्मका केही चालकले यात्रुलाई छोटो र सिधा बाटोबाट नलगाई घुमाउरो तथा लामो बाटो प्रयोग गरी जबरजस्ती बढी पैसा असुल्ने गरेका छन्।
नेपालमा सञ्चालनमा रहेका अन्य राइड सेयरिङ कम्पनीहरू जस्तै यांगो पनि ट्याक्सीमाण्डूसँगको सहकार्यमा सेवा दिइरहेको छ। यांगो अन्य राइड सेयरिङ सेवा भन्दा सस्तो विकल्पको रूपमा रहेकाले धेरै यात्रु यो सेवातर्फ आकर्षित हुने गरेका छन्। यांगो एपमा यात्रुले गन्तव्य स्थान छान्ने बित्तिकै सीमित भाडादर देखिन्छ। यो भाडा सामान्यतः छोटो र सबैभन्दा व्यावहारिक रुटको आधारमा तय हुन्छ। तर यात्रु यांगोमा चढ्ने बित्तिकै चालकले जानीजानी एपमा देखाइएको सिधा बाटोभन्दा धेरै घुमाउरो बाटो प्रयोग गर्ने गरेको यात्रुहरूको गुनासो छ।
टिचिङ हस्पिटलबाट ज्ञानेश्वर आउन यांगो बुक गराएकी यात्रु सम्झना दुलालकाे तिताे अनुभव छ। चालकले उनलाई बिशालनगर हुँदै घुमाउँरो बाटोबाट ज्ञानेश्वर ल्याएको थियो। उनका अनुसार, ‘टिचिङ हस्पिटलबाट ज्ञानेश्वर आउन सिधा बाटो आउँदा पनि मिल्ने ठाउँमा मलाई घुमाउँदै लामो बाटोबाट ल्यायो। मैले किन यो बाटो आएको, सिधै जाँदा पुग्ने ठाउँमा भन्दा यो बाटो जाँदा जाम पर्छ भन्ने जिज्ञासा उठाएँ, तर चालकले झनै धेरै जाम हुने बाटो ल्यायो।’
टिचिङबाट ज्ञानेश्वर आउन ६८ रुपैयाँ देखाएकोमा घुमाउरो बाटो आएकाले १२० रुपैयाँ तिर्नु परेको उनको भनाइ छ। यांगोका चालकले सानो दूरीमा पनि अत्यधिक लामो घुमाउरो रुट प्रयोग गरी यात्राको दूरी र समय दुवै बढाउने गरेका छन्। यसको सीधा असर भाडादरमा पर्छ र अन्ततः यात्रुले बढी शुल्क तिर्नुपर्ने हुन्छ। रत्नपार्कबाट तीनकुने जानुपर्ने यात्रु विशाल शर्माको अनुभव पनि समान छ।
यांगोका चालकले सानो दूरीमा पनि अत्यधिक लामो घुमाउरो रुट प्रयोग गरी यात्राको दूरी र समय दुवै बढाउने गरेका छन्।
‘एपमा १८० रुपैयाँ भाडा देखाएको थियो। चालकले एयरपोर्टको बाटो हुँदै मलाई लगे। मैले प्रतिवाद गर्दा उल्टै ट्राफिक जाम छ, यो बाटो छिटो हुन्छ भन्दै लगे,’ उनले भने ‘ट्राफिक जाम नहुँदा पनि उनले घुमाएरै लगे। गन्तव्यमा पुग्दा २८० रुपैयाँभन्दा बढी चार्ज भयो। हामीसँग बढी भाडा तिर्नुको अरू विकल्प हुँदैन।’
यांगोले बजारमा उपलब्ध अन्य प्लेटफर्मभन्दा निकै कम कमिसन लिने घोषणा गरेको छ। यो घोषणाले सुरुमा चालकहरूलाई आकर्षित गर्यो र उनीहरूको आम्दानी बढ्ने अपेक्षा गरिएको थियो। तर, कतिपय चालक कम कमिसनले आफ्नो दैनिक खर्च र किस्ता पूरा गर्न नसक्ने भन्दै बढी आम्दानीका लागि छोटो रुटलाई बेवास्ता गरी लामो रुटको सहारा लिने गरेका छन्। यांगोमा डायनामिक भाडा सिस्टम लागू गरेको छ।
यांगोका प्रबन्ध निर्देशक अर्जुन केसीका अनुसार, चालकले ग्राहकलाई पर्खिएको खण्डमा तीन मिनेटसम्म प्रतीक्षा शुल्क लाग्दैन। तीन मिनेटभन्दा बढी वेट गर्नु परेमा वेटिङ चार्ज लाग्छ। ‘चालकले ग्राहकलाई पर्खिएको खण्डमा तीन मिनेटसम्म प्रतीक्षा शुल्क लाग्दैन। यदि गन्तव्य परिवर्तन गरिएको छैन भने चालकले घुमाएर बाटो हिँड्दा भाडा बढ्दैन,’ केसीले भने।
‘भाडा बढ्ने मुख्य कारण अनुमानित समयभन्दा बढी समय लाग्नु हो। यदि १० मिनेटको यात्रालाई चालकले घुमाएर १५ मिनेट लगाइदिएमा अतिरिक्त ५ मिनेटको शुल्क जोडिन्छ,’ उनले थप्पे। प्रत्येक अतिरिक्त मिनेटको लागि दुई वा तीन रुपैयाँ चार्ज लाग्छ। केसीका अनुसार, यांगोमा चालक आफैले भाडा परिवर्तन गर्न सक्दैन। तथापि, चालकले ग्राहकलाई गन्तव्य परिवर्तन गर्न लगाउन सक्छ, जसले भाडा पुनः गणना गर्दा भाडा बढ्छ। ग्राहकले फिक्स्ड रेट मोडालिटी वा समय-आधारित भाडा प्रणाली हटाइदिन सुझाव दिएका छन्। कम्पनीले हाल यो विषयमा अध्ययन गरिरहेको छ।
यांगो एपले आफ्नो सेवाको सुरक्षा र पारदर्शिता सुनिश्चित गर्न २० भन्दा बढी सुरक्षा फिचरहरू समावेश गरेको दाबी गरेको छ। यात्रु र चालकबीचको यो विवादले यांगो सेवाको विश्वसनीयतामा गम्भीर प्रश्न खडा गरेको छ।
केसीले भने, ‘चालकहरूले अतिरिक्त पैसा कमाउनका लागि जानीजानी लामो समय लिने र यसको फाइदा उठाउने प्रयास गरिरहेकोले कम्पनीले यो 'टाइमिङको केस' लाई हटाउने वा अन्य तरिकाबाट ट्र्याक गर्ने बारे सोचिरहेको छ।’
यांगो एपले आफ्नो सेवाको सुरक्षा र पारदर्शिता सुनिश्चित गर्न २० भन्दा बढी सुरक्षा फिचरहरू समावेश गरेको दाबी गरेको छ। यात्रु र चालकबीचको यो विवादले यांगो सेवाको विश्वसनीयतामा गम्भीर प्रश्न खडा गरेको छ। जुन प्लेटफर्मले सस्तो र सुरक्षित सेवाको नारा लिएर बजारमा प्रवेश गर्यो, त्यसको आधारभूत सिद्धान्तमाथि नै चुनौती देखिएको छ।
कम्पनीले प्रविधिमा आधारित सहज सेवा, प्रतिस्पर्धी भाडा दर र प्रयोगकर्ताको अनुभवलाई प्राथमिकता दिने बताउँदै नेपाली बजारमा आफ्नो स्थान बनाउन खोजेको छ। सेवा सञ्चालनको प्रथम वर्षसम्म ३ प्रतिशतभन्दा बढी कमिसन नलिने घोषणा गरेको छ। यांगोमा ट्याक्सीको आरम्भिक मूल्य १८० रुपैयाँ छ, जबकि बाइकमा यात्रा गर्ने यात्रुका लागि आरम्भिक मूल्य ४० रुपैयाँ छ।
यांगो राइड सेयरिङ एप विशेष गरी विद्यार्थी र निम्न वर्गका यात्रुलाई लक्ष्य गरेर ल्याएको थियो। तथापि, नेपालमा सञ्चालनमा रहेका अन्य राइड सेयरिङ एपभन्दा यांगो सस्तो भएकाले केही चालकले जानीजानी लामो रुट लगाई बढी पैसा असुल्ने गरेका छन्। यांगो एक विश्वव्यापी प्रविधि कम्पनी हो जसले अफ्रिका, ल्याटिन अमेरिका, युरोप र दक्षिण एसियालगायत क्षेत्रमा राइड, डेलिभरी, फुडटेक तथा डिजिटल सेवा प्रदान गर्दै आएको छ। यांगोले प्रविधि साझेदारीमार्फत स्थानीय ट्याक्सी र मोटरबाइक चालकलाई सहज रूपमा ग्राहकसँग जोड्ने काम गर्छ।