सरकारले अटोमोबाइल क्षेत्रलाई केवल आयात र करको रुपमा मात्रै हेर्दै आएको छ। अटोमोबाइल क्षेत्रलाई केवल राजस्व संकलन गर्ने माध्यमको रुपमा मात्र हेर्नुहुँदैन। सवारीसाधन, सडक संरचना र मानव संसाधन संयोजनले नै अर्थतन्त्रको वास्तविक इन्जिन निर्माण गर्दछ। यो क्षेत्र यातायातको साधन मात्र नभई उत्पादन, सेवा, रोजगारी र प्रविधिसँग प्रत्यक्ष रूपमा जोडिएको बहुआयामिक प्रणाली हो।
यदि अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन सोचसहित व्यवस्थापन गर्न सकियो भने यसले आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिन सक्छ। सवारीसाधनको सहज उपलब्धताले ढुवानी र आवतजावतलाई छिटो बनाउँछ, जसले व्यापारिक गतिविधि र उत्पादनशीलता बढाउँछ। यस क्षेत्रले आर्थिक वृद्धि बढाउन, कार्य संस्कृति सुधार्न र युवालाई विदेश पलायन हुनबाट रोक्दै बौद्धिक पलायन कम गर्न सहयोग पु¥याउँछ।
अटोमोबाइल र सडकः अर्थतन्त्रको मेरुदण्ड
राम्रो सडकबिना सवारीसाधनको कुनै अर्थ हुँदैन। सडक केवल भौतिक संरचना मात्र नभई आर्थिक गतिविधिलाई गति दिने मेरुदण्ड हो। सडकले गाउँलाई बजारसँग, किसानलाई उपभोक्तासँग, पर्यटकलाई गन्तव्यसँग र युवालाई रोजगारीसँग जोड्दछ। जहाँ राम्रो सडक र सहज यातायात पहुँच हुन्छ, त्यहाँ विकास आफैं पुग्छ। राम्रो सडक र गतिशीलतामा खर्च गरिएको प्रत्येक रुपैयाँले स्थानीय व्यापार, पर्यटन, कृषि र सेवा क्षेत्रको आर्थिक गतिविधिलाई स्वतः कैयौं गुणा वृद्धि गरिदिन्छ। किसानले उत्पादन समयमै बजारमा पुर्याउन सक्छन्, पर्यटन व्यवसाय फस्टाउँछ, साना उद्योग र उद्यम सञ्चालन गर्न सहज हुन्छ। यसले स्थानीय रोजगारी सिर्जना गर्दै आयातमा निर्भरता कम गर्नसमेत मद्दत गर्दछ।
सडक र अटोमोबाइल क्षेत्रको विकासले सामाजिक जीवनमा पनि सकारात्मक प्रभाव पार्दछ। शिक्षा, स्वास्थ्य र आपतकालीन सेवामा नागरिकको पहुँच सुधार हुन्छ। समय र लागतको बचतले कार्यक्षमता बढाउँछ र समग्र कार्य संस्कृति सुधार्न सहयोग पुर्याउँछ। साथै, सुरक्षित, वातावरणमैत्री र योजनाबद्ध सडक तथा सवारी व्यवस्थापनले दिगो विकासको आधार तयार गर्छ। विद्युतीय सवारी, सार्वजनिक यातायात र स्मार्ट ट्राफिक प्रणालीलाई प्राथमिकता दिन सकेमा प्रदूषण घट्दै जीवनस्तर उकासिन्छ।
गतिशीलताले कार्य संस्कृति र उत्पादकत्व निर्धारण
भरपर्दो र सुरक्षित यातायात प्रणालीले काम गर्ने शैलीमा प्रत्यक्ष प्रभाव पार्छ। जब यात्रा सहज, सुरक्षित र छिटो हुन्छ, मानिसहरू समयमै कार्यालय पुग्न सक्छन्, कामप्रति जिम्मेवार हुन्छन् र अनुशासन स्वतः विकास हुन्छ। व्यवसाय लामो समयसम्म सञ्चालन हुन सक्छन्, सेवा समय बढाउन सक्छन् र ग्राहक सन्तुष्टि सुधार्न सक्छन्। साथै, पर्यटनजस्तो क्षेत्र जहाँ समय र पहुँच अत्यन्त महत्त्वपूर्ण हुन्छ, त्यहाँ यातायात सुधारले सकारात्मक प्रभाव पार्छ। आपतकालीन सेवा एम्बुलेन्स, दमकल, प्रहरीले छिटो प्रतिक्रिया दिन सक्दा जीवन र सम्पत्तिको सुरक्षा हुन्छ। यसले बिस्तारै अनुशासन, विश्वसनीयता र उत्पादकत्व संस्कृति निर्माण गर्छ, जसको कमी अहिले कमजोर यातायात प्रणालीका कारण नेपालले झेलिरहेको छ।
आयातबाट मूल्य सिर्जनातर्फको यात्रा
नेपालले लामो समयदेखि सवारीसाधन आयात मात्र गर्दै आएको छ। अबको बाटो उपभोगबाट उत्पादनतर्फ मोडिनुपर्छ। आयात मात्र गर्नुको सट्टा नेपालले स्थानीय एसेम्बल र आन्तरिक उत्पादनका अवसर विकास गर्न सक्छ। बस र ट्रकको बडी निर्माण, विद्युतीय सवारी साधनको सर्भिसिङ र पार्टपुर्जा निर्माण जस्ता क्षेत्रले ठूलो सम्भावना बोकेका छन्। दीर्घकालीन रूपमा हेर्दा यसले औद्योगिक आधार बलियो बनाउँछ। अब ईभीको बढ्दो बजारलाई ध्यानमा राख्दै ब्याट्री मर्मत र चार्जिङ उपकरण निर्माणमा ध्यान दिनु आवश्यक छ। यसले नेपाली पुँजी बाहिरिनबाट रोक्छ। पैसा देशभित्रै घुमाउँछ र दक्ष जनशक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्छ।
सवारीसाधन, सडक संरचना र मानव संसाधन संयोजनले नै अर्थतन्त्रको वास्तविक इन्जिन निर्माण गर्दछ। यो क्षेत्र यातायातको साधन मात्र नभई उत्पादन, सेवा, रोजगारी र प्रविधिसँग प्रत्यक्ष रूपमा जोडिएको बहुआयामिक प्रणाली हो।
नीतिगत स्थिरताः लगानी र विश्वासको आधार
नेपालको अटोमोबाइल क्षेत्र प्रायः अस्थिर कर नीति र नियमको चपेटामा पर्ने गरेको छ। लगानीकर्ताले दीर्घकालीन योजना बनाउन स्पष्ट र स्थिर नीति खोज्छन्। अस्थिर नीत, बारम्बार परिवर्तन हुने कर नीति र अस्पष्ट कानुनले लगानीकर्तालाई निरुत्साहित गरेको छ। यसको प्रत्यक्ष असर युवाको भविष्यमा पर्ने गरेको छ। यसले गर्दा उनीहरू विदेश पलायन हुन बाध्य हुन्छन्। स्पष्ट दीर्घकालीन अटोमोबाइल र सडक नीतिले व्यवसायीलाई स्थानीय रूपमा लगानी गर्न प्रोत्साहित गर्छ। जब लगानी बढ्छ, रोजगारी सिर्जना हुन्छ र बसाइँसराइको दबाब कम हुन्छ। नीति स्थिरता भनेको केवल कानुनी कुरा होइन; यो भविष्यप्रतिको भरोसा हो।
पुराना सवारीसाधनको विस्थापन र प्रणालीको दक्षता
पुराना सवारीसाधनले इन्धन बढी खपत गर्छन्, पटक–पटक बिग्रिन्छन् र दुर्घटनाको जोखिम उच्च हुन्छ। यसले सडक सुरक्षा कमजोर बनाउनुका साथै सञ्चालन लागत पनि बढाउँछ। एक व्यवस्थित प्रतिस्थापन प्रणालीले सडक सुरक्षा सुधार्छ। यातायात दक्षता बढाउँछ र चालकको आम्दानी स्थिर बनाउँछ। राम्रो प्रणाली भएमा चालक र व्यवसायीले स्वदेशमै सम्मानजनक कमाइ गर्न सक्छन्, जसले विदेश जाने बाध्यता घटाउँछ।
सार्वजनिक यातायातलाई प्राथमिकता अधिकतम सामाजिक प्रभाव
कुनै पनि विकसित देशको पहिचान त्यसको सडकमा गुड्ने निजी कारबाट होइन, बरु त्यहाँको गुणस्तरीय सार्वजनिक यातायातबाट हुन्छ। बस, ट्याक्सी र ढुवानीका साधनलाई आधुनिक बनाउँदा दैनिक हजारौं मानिसको जीवन प्रत्यक्ष रूपमा प्रभावित हुन्छ। प्रभावकारी सार्वजनिक यातायातले जीवनयापनको लागत घटाउँछ, ट्राफिकको तनाव कम गर्छ र सहरी संस्कृति सुधार्छ। राम्रा सहरले प्रतिभालाई टिकाइराख्छन्, जबकि अव्यवस्थित सहरले मानिसलाई बाहिरिन बाध्य बनाउँछन्। त्यसैले सार्वजनिक यातायात सुधार भनेको केवल यातायात नीति होइन, यो मानव संसाधन संरक्षणको रणनीति पनि हो।
चार्जिङ पूर्वाधार सार्वजनिक सम्पत्तिको रूपमा
विद्युतीय सवारी साधनको भविष्य राम्रो छ, तर यसको सफलताका लागि भरपर्दो चार्जिङ पूर्वाधार अनिवार्य छ। चार्जिङ स्टेसनलाई सडक वा टेलिकम टावरजस्तै सार्वजनिक पूर्वाधारको रूपमा हेरिनुपर्छ। जब पूर्वाधार भरपर्दो हुन्छ, निजी लगानी र सार्वजनिक निजी साझेदारी बढ्छ, सेवा क्षेत्रमा रोजगारी सिर्जना हुन्छ र प्रविधिप्रति जनताको विश्वास बढ्छ। यसले नेपालभित्रै भविष्यका लागि तयार ‘इकोसिस्टम’ निर्माण गर्छ।
बौद्धिक पलायन रोक्न सीप विकास
धेरैजसो युवा रहरले होइन, दक्ष रोजगारी अभावका कारण नेपाल छोड्छन्। विद्युतीय सवारी प्रविधि, डायग्नोसिस, इलेक्ट्रोनिक्स र सफ्टवेयरजस्ता क्षेत्रमा प्रमाणित तालिम व्यवस्था गर्न सकियो भने स्वदेशमै राम्रो आम्दानी हुने रोजगारी सिर्जना हुन्छ। यसले वैदेशिक निर्भरता घटाउँछ र युवालाई नेपालमै बस्ने वातावरण बनाउँछ।
उत्पादनमूलक सवारी फाइनान्सिङले रोजगारी सिर्जना गर्छ
व्यावसायिक सवारी साधनका लागि सुलभ ऋण र वित्तीय पहुँचले युवाहरूलाई यातायात, ढुवानी र पर्यटन जस्ता व्यवसाय सुरु गर्न मद्दत गर्छ। उत्पादनमूलक फाइनान्सिङ भनेको उपभोग होइन, आय सिर्जनाको माध्यम हो। जब मानिसले नेपालमै सम्मानका साथ कमाउन सक्छन्, तब विदेश पलायनको गति स्वतः कम हुन्छ।
नेतृत्वदायी सरकारी भूमिका
परिवर्तनको सुरुआत सधैं माथिबाट हुनुपर्छ। सरकारी निकायले आधुनिक र सुरक्षित सवारीसाधनको प्रयोगमा उदाहरण पेस गर्नुपर्छ। सरकारी कार्यालयले ईभी प्रयोग बढाउने र ट्राफिक नियमको कडाइका साथ पालना गर्ने हो भने मात्र आम जनतामा प्रणालीप्रति विश्वास जाग्छ। भाषणले होइन, व्यवहारले परिवर्तन आउँछ। सरकारी निकायले देखाएको उदाहरणले निजी क्षेत्र र सर्वसाधारणलाई पनि अनुशासित बन्न प्रेरित गर्छ।
गुणस्तर, सुरक्षा र सेवाको दीर्घकालीन प्रभाव
यातायात प्रणालीमा कडा सुरक्षा मापदण्ड र गुणस्तर सुनिश्चित गर्दा उपभोक्ताको विश्वास बढ्छ। जब एउटा प्रणाली भरपर्दो हुन्छ, त्यहाँ मानिसले आफ्नो करियर देख्न थाल्छन्। सुरक्षित सडक र आधुनिक यातायातले नागरिकको औषत उमेर र कार्यक्षमतामा समेत वृद्धि गर्छ।