काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जा कोषबाट सहुलियत ऋण लिने सीमालाई घटाउने भएको छ । हालसम्म एक उद्योग प्रतिष्ठानले ५० करोड रुपैयाँसम्म पुनरकर्जा कोषबाट सहुलियत ऋण लिंदै आएकोमा यसलाई घटाउन लागेको हो ।
पुनरकर्जा कोषबाट ऋण लिने एकल कर्जा सीमालाई ५० करोड घटाएर १० करोड रुपैयाँमा सीमित गर्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन । उनले एकल ऋणीले १० करोड रुपैयाँ भन्दा बढी पुनरकर्जा लिन नपाउने व्यवस्था गर्न लागेको स्पष्ट पारे । उनले यस विषयमा छिट्टै निर्णय लिने उनले सुनाए ।
‘राम्रो नाफा कमाइरहेकालाई सस्तो कर्जा किन चाहियो ?’ उनले भने ‘अब घरेलु तथा साना उद्योग र कोरोना महामारीबाट बढी प्रभावित क्षेत्रलाई सघाउनु छ ।’ पुनरकर्जाको ब्याजलाई घटाउन निर्देशन दिएको छ ।
साना ऋणीलाई बढीमा ५ प्रतिशतसम्म ब्याज लिन निर्देशन दिइसकेको गभर्नर अधिकारीले बताए । गभर्नर अधिकारीका अनुसार, कोषबाट १८ अर्ब रुपैयाँ मात्र कर्जा गएको छ । अझै ४२ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा वचत रहेको छ ।
कोषको सीमा बढाउन छलफल सुरु
सरकारले पुनरकर्जाको सीमा बढाएर १ खर्ब रुपैयाँ पुर्याएपछि केन्द्रीय बढाउन प्रक्रिया अघि बढाएको छ । राष्ट्र बैंकले कोषको आकार बढाउन स्रोत जुटाउनका लागि आन्तरिक अध्ययन र छलफल सुरु गरेको छ ।
कारोना भाइरस महामारीले देशका उद्योग व्यवसाय बन्द भएपछि मन्त्रिपरिषदको बैठकले विद्यमान पुनरकर्जा कोषको आकारलाई ४० अर्ब थप गरेर १ खर्ब रुपैयाँ बनाउने निर्णय गरेको हो ।
सरकारको निर्णयअनुसार कोषमा थप रकम जुटाउन प्रक्रिया अघि बढेको राष्ट्र बैंकका प्रवत्ता डा.गुणाकर भट्टले बताए । उनका अनुसार कोषमा अहिले ४३ अर्ब रुपैयाँ वचत छ । बाँकी रकम जुटाउनका लागि विभिन्न प्रक्रियाका बारेमा छलफल जारी छ ।
सरकारले निर्णय गरे पनि कोषमा रकम थप्नका लागि गाह्रो पर्ने देखिएको छ । ‘केन्द्रीय बैंकले हरेक वर्षको वचतबाट कोषमा रकम राख्ने गरेकोमा अब त्यो अवस्था पनि देखिन्दैन’ उनले भने ‘कोषमा रकम सरकारले थपिदिने वा वहुपक्षिय दातृनिकायहरुबाट सहयोग लिने पनि हुन सक्छ ।’
कोषमा विश्व बैंकको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले कोषमा सहयोग गर्न सक्ने उनको भनाई छ । ‘अर्को मोडालिटी भनेको सकारले पैसा हाल्ने हो’ उनले भने ‘अहिले नै यसरी जुटाउन भन्ने गाह्रो देखिएको छ ।’
चालु आर्थिक वर्षको मौद्रिक नीतिपछि आएको पुनरकर्जा कार्यविधिले कडाइ गरेको छ । असल ऋणी तथा साना किसान, साना उद्योगीलाई पुनरकर्जा कोषको प्राथमिकतामा परेका छन । अहिलेको अवस्थामा पर्यटन क्षेत्रले पाउने संभावना बढी छ । केन्द्रीय बैंकले बैंकहरुलाई २ प्रतिशतमा दिएर ५ प्रतिशतसम्म ब्याजमा लगानी गर्न व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले थप राहात दिन गएको चैतमा कोषमा १० अर्ब थपेर ६० अर्ब रुपैयाँ पुर्याएको थियो । यसअघि केन्द्रीय बैंकले कोषको आकार बढाएर ५० अर्ब रुपैयाँ पुर्याएको थियो । मन्त्रिपरिषदले पुनरकर्जा कोषको ब्याजदर घटाउन केन्द्रीय बैंकलाई भनेको छ । घरेलु तथा साना उद्योगलाई आवश्यक चालुपुँजी कर्जा उपलब्ध गराउन केन्द्रीय बैंकलाई निर्देशन दिएको छ ।
कोरोना भाइरसको महामारीले उद्योग, व्यवसाय, सेवा, पर्यटनलगायत सबै क्षेत्रमा ठुलो प्रभाव परेकाले पुरनरकर्जा कोषको आकार बढाएको हो । निजी क्षेत्रले पुनरकर्जा कोषमा थोरै रकम भएको बताउँदै आर्थिक क्षेत्रको पुनरुथान गर्न न्युनतम १ खर्ब रुपैयाँको हुनुपर्ने बताउँदै आएका छन ।
पुनरकर्जाको ब्याज धेरै सस्तो हुन्छ । यस्तो कर्जाको अवधि बढीमा १ वर्ष हुने गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट उद्योग व्यवसायलाई यस्तो कर्जा प्रवाह हुँदै आएको छ । चालु आर्थिक वर्षको हालसम्म ३५ अर्ब १ करोड ६२ लाख रुपैयाँ पुनरकर्जा प्रवाह गरेको केन्द्रीय बैंकले जनाएका छ ।
जसमध्ये प्राथमिकताप्राप्त क्षेत्रतर्फ प्रवाहित असल कर्जाको धितोमा साधारण पुनरकर्जा ३१ अर्ब ५४ करोड, निर्यात पुनरकर्जा १ अर्ब ५४ करोड र भूकम्प पीडितलाई प्रदान गरिएको पुनरकर्जा १ अर्ब ९२ करोड प्रवाह भएको छ ।