काठमाडौं। नेपालमा सवारी साधन र त्यसका पार्टपुर्जाको आयात उच्च मात्रामा हुने गरेको छ। पछिल्लो समय सवारी साधनको आयात बढेसँगै यसका लागि प्रयोग हुने स्पेयर पार्ट्सको आयात बढ्दै गएको छ।
नेपालमै सवारी साधन एसेम्बल गर्ने उद्योगहरूको संख्या बढेसँगै ‘अन एसेम्बल’ पार्टसहरूको आयात बढेको हो। सवारी साधन र तिनका स्पेयर पार्ट्सको आयात बढे पनि बजारमा भने व्यापारिक उत्साह आउन सकेको छैन।
भन्सार विभागको तथ्यांकअनुसार सवारी साधन र पार्टपुर्जाको आयातको स्थिति वर्षैंपिच्छे फरक-फरक देखिए पनि यो सधैँ ठूलो मात्रामा हुने गरेको छ। नेपालमा अटोमोबाइल क्षेत्रको विस्तार भएसँगै स्पेयर पार्ट्सको बजार दिन प्रतिदिन बढ्दै गएको छ। अटो बजारलाई हेरेर स्पेयर पार्ट्सको माग बढ्नु स्वभाविक हो। तर, जुन रेसियोमा गाडीको संख्या बढी रहेका छन्। त्योअनुसार स्पेयर पार्ट्सको व्यवसाय बढ्न सकेको छैन।
विगतमा खस्किएको स्पेयर पार्ट्सको आयात अहिले सुधार हुँदै गएको सत्यदिप इन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक दिपेन्द्रकुमार मिश्र बताउँछन्। ‘कोरोना महामारीपछि खस्किएको सवारी साधन तथा स्पेयर पार्ट्सको आयात अहिले लयमा फर्कंदै गएको छ,’ उनले भने, ‘यसलाई आयात बढेको भन्न मिल्दैन। पहिलाको करेक्सन भइरहेको हो।’ अहिले आयात बढे पनि यसको व्यवसायमा खासै उत्साह नभएको उनको भनाइ छ।
कोरोना महामारीपछि खस्किएको स्पेयर पार्ट्सको आयात अहिले भने लयमा फर्कंदै गएको छ। स्पेयर पार्ट्सको आयात लयमा फर्किए पनि व्यापारमा भने उत्साह नदेखिएको व्यवसायीहरूको भनाइ छ।
पेट्रोलियम गाडीको तुलनामा महँगो हुने गरेको गुनासो सुनिन्छ। यसमा उच्च भन्सार शुल्क र एड्भान्स प्रविधिको प्रयोग पनि एक कारण हो।
अहिले स्पेयर पार्टसको आयात निरन्तर बेसिसमा भइरहेको जोया ट्रेड कन्सर्नका प्रबन्ध निर्देशक पंकज अग्रवाल बताउँछन्। ‘गत भदौमा भएको जेनजी आन्दोलनका कारण व्यवसायीमा अलिअलि मनोबल घटेको छ,’ उनले भने, ‘व्यापारीहरू निरुत्साहित भएका नै छन्। सधैँभरि केही न केही हुँदा हामीलाई असर परिरहने अग्रवाल बताउँछन्।
पछिल्लो समय विद्युतीय सवारी साधन आयात उल्लेखनीय रूपमा बढेको छ। तर, विद्युतीय सवारी साधनको ब्याट्री र पार्टपुर्जाहरू पेट्रोलियम गाडीको तुलनामा महँगो हुने गरेको गुनासो सुनिन्छ। यसमा उच्च भन्सार शुल्क र एड्भान्स प्रविधिको प्रयोग पनि एक कारण हो। कोरोना महामारीपछि खस्किएको स्पेयर पार्ट्सको आयात लयमा फर्कंदै गएको छ।
नेपालमा स्पेयर पार्ट्स आयातको ट्रेन्ड
चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा दुई अर्ब १३ करोड २१ लाख रुपैयाँ बराबरको स्पेयर पार्ट्सको आयात भएको छ। उक्त आयातबाट सरकारले ७६ करोड ९० लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
आर्थिक वर्ष २०८१/८२ मा तयारी सवारी साधनबाहेक विभिन्न प्रकारका पार्टपुर्जा मात्रै कुल १० अर्ब ९९ करोड रुपैयाँ बराबरको आयात भएको छ। उक्त पार्टपुर्जाको आयातबाट ४ अर्ब १७ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको छ।
यस अवधिमा ५ अर्ब ५५ करोड ५८ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी साधनका लागि आवश्यक पार्टपुर्जा आयात भएको भन्सार विभागले जनाएको छ। त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को एक वर्षमा ११ अर्ब ३९ करोड २९ लाख रुपैयाँ बराबरको पार्टपुर्जा आयात भएको छ। उक्त आयातबाट सरकारले ४ अर्ब २१ करोड ५४ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो।
उक्त आयातबाट सरकारले ४ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
आर्थिक वर्ष २०८१/८२ मा नेपालमा पार्टपुर्जा र पार्ट सबैभन्दा धेरै ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको आयात भएको छ। जसबाट १ अर्ब ४० करोड रुपैयाँ राजस्व उठेको छ। बस र ट्रकका लागि इञ्जिन जडान गरिएको च्यासिस मात्रै २ अर्ब ६७ करोड रुपैयाँ बराबरको आयात भएको छ। यसबाट सरकारले १ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
यसैगरी आर्थिक वर्ष २०७९/८० को एक वर्ष अवधिमा ७ अर्ब ५६ करोड २९ लाख रुपैयाँ बराबरको स्पेयर पार्ट्सको आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। यसबाट सरकारले २ अर्ब ७९ करोड ५२ लाख रुपैयाँ बराबर राजस्व संकलन गरेको थियो।
ट्यांक र सैनिक गाडीका पार्टपुर्जा २ अर्ब ३२ करोड रुपैयाँको आयात भएको छ। जसबाट ३० करोड २७ लाख रुपैयाँ राजस्व संकलन भएको छ। ब्रेक र त्यसका पार्टपुर्जा ४४ करोड ७३ लाख रुपैयाँ, गाडीको बडी र क्याबिन ४३ करोड ४५ लाख रुपैयाँ, क्लच र त्यसका पार्टपुर्जा ४१ करोड ६० लाख रुपैयाँ र गियर बक्स तथा त्यसका पार्टपुर्जा २० करोड रुपैयाँ बराबरको आयात भएको भन्सार विभागले जनाएको छ।
त्यस्तै, अन्य सस्पेन्सन, टायर, बम्पर, सिट बेल्ट, साइकल तथा मोटरसाइकलका पार्टपुर्जा जस्ता सयौँ अन्य वस्तुको आयात पनि ठूलो मात्रामा भएको छ। आर्थिक वर्ष २०७८/७९ मा ११ अर्ब ९२ करोड ३३ लाख रुपैयाँ बराबरको स्पेयर पार्ट्स आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। उक्त आयातबाट सरकारले ४ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।