काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विद्युत केन्द्रमा आक्रमण केही दिनका लागि स्थगित गर्ने घोषणा गरेपछि विश्व तेल बजारमा मूल्य ह्वात्तै घटेको छ भने युरोपेली तथा अमेरिकी सेयर बजार माथि उक्लिएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्–अमेरिका र इरानबीच मध्यपूर्वको द्वन्द्वको ‘सम्पूर्ण र पूर्ण’ समाधानका लागि सप्ताहन्तमा वार्ता भएको छ। यी वार्ताको स्वर र भाव अत्यन्त गहन, विस्तृत र रचनात्मक रहेकाले सेनालाई इरानका विद्युत केन्द्र र ऊर्जा पूर्वाधारमाथिको आक्रमण पाँच दिनका लागि स्थगित राख्न निर्देशन दिएको छु।’
ट्रम्पले यस्तो घोषणा गरे पनि इरानले यो दाबी पूर्ण रूपमा अस्वीकार गरेको छ। ट्रम्प दाबीलाई इरानले फेक भनेको छ। ‘अमेरिकासँग कुनै वार्ता भएको छैन, यो वित्तीय र तेल बजार हेरफेर गर्न तथा अमेरिका र इजरायल फसेको दलदलबाट उम्किन फैलाइएको झुटो समाचार हो’, इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जालमा यो खण्डन सार्वजनिक गरे।

यसअघि ट्रम्पले होर्मुज समुद्री बाटो ४८ घन्टाभित्र नखुले इरानका विद्युत केन्द्र नष्ट पारिने धम्की दिएका थिए। इरानले पनि जवाफमा क्षेत्रका प्रमुख पूर्वाधारलाई निशाना बनाइने चेतावनी दिएको थियो। सप्ताहन्तमा भएका यी तिखा कूटनीतिक आदानप्रदानले विश्व वित्तीय बजारलाई हल्लाइदिएको थियो र द्वन्द्व लामो समयसम्म खिँचिने चिन्ता झनै गहिरिएको थियो।
तेल मूल्यको कुरा गर्दा, सोमबार एक बिन्दुमा अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य प्रतिब्यारेल ११३ अमेरिकी डलरसम्म पुगेको थियो। तर ट्रम्पको बयान सार्वजनिक भएलगत्तै यो मूल्य तीव्र गतिमा घटेर ९६ डलर प्रतिब्यारेल झरेको छ। यद्यपि विश्लेषक अझै पनि एक सय डलरमाथि रहेकाले उपभोक्ता र व्यावसायिक प्रतिष्ठानहरूलाई ऊर्जाको बोझ अत्यधिक नै बनिरहने बताउँछन्।
सेयर बजारमा पनि सुधार देखिएको छ। बेलायतको प्रमुख सेयर सूचकांक दिनको सुरुमा दुई प्रतिशतभन्दा बढी ओर्लिएकोमा सामान्य अवस्थामा बन्द भयो। जर्मनीको प्रमुख शेयर सूचकांक सवा एक प्रतिशतले र फ्रान्सको प्रमुख शेयर सूचकांक झन्डै एक प्रतिशतले बढेर बन्द भएको छ। अमेरिकाका प्रमुख सेयर सूचकांक पनि सकारात्मक क्षेत्रमा बन्द भएका छन्। एउटा सूचकांक एक दशमलव एक प्रतिशत र अर्को झन्डै डेढ प्रतिशतले माथि उक्लिएको छ।
ट्रम्पले यस्तो घोषणा गरे पनि इरानले यो दाबी पूर्ण रूपमा अस्वीकार गरेको छ। ट्रम्प दाबीलाई इरानले फेक भनेको छ।
एसियाली बजार भने ट्रम्पको बयान आउनुअघि नै कारोबार बन्द भइसकेकाले भारी गिरावटबाट जोगिन पाएनन्। जापानको प्रमुख सेयर सूचकांक साढे तीन प्रतिशत र दक्षिण कोरियाको प्रमुख सेयर सूचकांक साढे ६ प्रतिशतभन्दा बढीले ओर्लिएको छ।
जापान र दक्षिण कोरिया होर्मुजबाट हुने ऊर्जा आपूर्तिमा अत्यधिक निर्भर रहेका देश हुन्, त्यसैले ती देशका बजारमा झनै असर परेको हो। होर्मुज जलसन्धि विश्वको सबैभन्दा व्यस्त तेल ढुवानी मार्गमध्ये एक हो, जसबाट विश्वको झन्डै २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास ढुवानी हुने गर्छ। यो द्वन्द्व फेब्रुअरी अन्त्यमा सुरु भएयता इरानले बन्द गरिदिएको छ, जसले विश्वभर इन्धनको मूल्य अकासिएको छ।

अन्तर्राष्ट्रिय ऊर्जा निकायका प्रमुख फातिह बिरोलले अस्ट्रेलियामा एक कार्यक्रममा बोल्दै यो संकटलाई सन् १९७० को दशकको तेल संकट र रुसले सन् २०२२ मा युक्रेनमाथि गरेको आक्रमणपछि उत्पन्न ऊर्जा संकट दुवैसँग तुलना गरेका छन्। उनले भने, ‘अहिलेको अवस्थामा यो संकट दुईवटा तेल संकट र एउटा ग्याँस संकट एकसाथ जोडिएजस्तो छ।’
उनको यो चेतावनीले विश्वभरका नीति निर्मातालाई झस्काएको छ। बेलायतका प्रधानमन्त्री सर किर स्टार्मरले आइतबार ट्रम्पसँग टेलिफोन वार्ता गरी होर्मुज जलसन्धि पुनः खोल्नुपर्ने आवश्यकतामाथि गम्भीर छलफल गरे।
सोमबार स्टार्मरले सरकारको आपतकालीन उच्चस्तरीय समिति बैठक बोलाएका थिए, जसमा राष्ट्रिय केन्द्रीय बैंकका गभर्नरसमेत उपस्थित थिए। यो बैठक ट्रम्पको बयान आउनुअघि नै निर्धारण गरिएको थियो र यसमा ऊर्जा सुरक्षा, आपूर्ति शृंखलाको मजबुती र युद्धले जनजीवनको खर्चमा पार्ने असरबारे गहन छलफल भएको थियो।
बेलायतमा सरकारी ऋणको ब्याजदर शुक्रबार सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछिको उच्चतम स्तरमा पुगेको थियो। सोमबार यो दर एक बिन्दुमा पाँच दशमलव १२ प्रतिशतसम्म पुगेको थियो। तर, ट्रम्पको बयानपछि घटेर चार दशमलव ९ प्रतिशतमा झरेको थियो।
लगानी विशेषज्ञ सुसानाह स्ट्रिटरले भनिन्, ट्रम्पका बयानले बजारलाई जंगली सवारीमा राखेका छन्। ट्रम्पका शब्दमा अत्यधिक भर पर्नु जोखिमपूर्ण छ, किनभने विगत चार हप्तामा आशा बारम्बार उठेका र धराशयी भएका छन्।’
उनका अनुसार कुनै युद्धविराम भएको खण्डमा पनि आपूर्ति मार्गमा भएको क्षति र सुविधालाई पुगेको नोक्सानीका कारण व्यापारी मध्यपूर्वबाट तेलको आपूर्ति उल्लेखनीय रूपमा कम हुने अपेक्षा गरिरहेका छन्। यो संकटले विश्व अर्थतन्त्रमा पारेको असर अझै लामो समयसम्म महसुस गरिनेछ।