हामीले भनेको मात्र सही, हामीलाई समर्थन गर्नु मात्र सही। यदि लोकतन्त्रको यही अर्थ हो भने, हामीले अब ढिलो नगरी आफैलाई सोध्नुपर्छ - के हामी लोकतन्त्र अभ्यास गरिरहेका छौं कि भीडतन्त्रलाई वैधता दिइरहेका छौं? लोकतन्त्रको आधार फरक विचारको सम्मान हो। फरक सोच, फरक दृष्टिकोण र स्वस्थ असहमति लोकतन्त्रका कमजोरी होइनन्, शक्ति हुन्।
तर आजको नेपाली राजनीतिक परिवेशमा फरक मत राख्नु साहसको विषय बन्दै गएको छ। असहमतिलाई तर्कले होइन, आरोपले उत्तर दिने प्रवृत्ति बढेको छ। आलोचनालाई सुधारको अवसर नठान्ने, शत्रुताको संकेत ठान्ने गरिन्छ। उच्च लोकतन्त्र त्यहाँ सम्भव हुन्छ, जहाँ विचार टकराउँछन् तर मानवीय सम्मान, संवाद र संस्थागत मर्यादा जोगिन्छ।
आजको नेपाली राजनीति क्रमशः भीडको मनोविज्ञानबाट निर्देशित हुँदै गएको देखिन्छ। भीडले जुन बाटो देखायो, त्यही बाटो नहिँड्नेहरूलाई अनेक उपनाम दिइन्छ। लोकप्रियता क्षणिक हुन्छ भन्ने बोध हुँदाहुँदै पनि त्यसैलाई क्षमता र नेतृत्वको मापदण्ड बनाइन्छ। नीति, दृष्टि र निरन्तरताभन्दा ठूलो स्वर, भावनात्मक उत्तेजना र गालीगलौजलाई राजनीतिक सक्रियता ठान्ने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक संकेत हो। राजनीतिमा संलग्न व्यक्तिहरू सडकमा होस् वा संसदमा जनताको प्रतिनिधि भएर होस्, उनीहरूको काम चर्को भाषण गर्नु मात्र होइन।
सडकमा नेतृत्व गरिरहेकाहरूले सदनमा भएका प्रतिनिधिहरूलाई गलत बाटोमा लाग्न नदिने, आफ्नो आवाजमार्फत साथीहरूको मार्गदर्शन गर्ने जिम्मेवारी हुन्छ। प्रतिनिधिहरूको मूल भूमिका देशका लागि दीर्घकालीन नीति निर्माण गर्नु, कानून बनाउनु, संस्थालाई बलियो बनाउनु र भावी पुस्ताप्रति उत्तरदायी हुनु हो। तर हाम्रो राजनीतिक संस्कारमा कामभन्दा हल्ला, परिणामभन्दा आरोप र नीतिभन्दा व्यक्तिपूजालाई प्राथमिकता दिने क्रम बढ्दै गएको छ।
राजनीतिक इतिहासले हामीलाई एउटा महत्त्वपूर्ण पाठ दिन्छ। थोरै समयका लागि जिम्मेवारी पाएका व्यक्तिहरूले पनि यदि स्पष्ट दृष्टि र नीतिगत सोच राखे भने छोटो अवधिमा पनि दीर्घकालीन प्रभाव पार्न सक्छन्। छोटो समय मन्त्रीको कार्यभार सम्हालेर पनि दीर्घकालीन रूपमा मजबुत हुने नीति बनाउनेहरूको उदाहरण हामीले यत्रतत्र भेटाउन सक्छौं। यसैबीच, लोकतन्त्रको मर्यादित अभ्यास गरिरहेका पहलहरूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने तथा अतिरञ्जित रूपमा चित्रण गर्ने प्रवृत्ति पनि तीव्र हुँदै गएको छ।
यस्ता प्रवृत्तिहरूले लोकतान्त्रिक मूल्य, स्वस्थ राजनीतिक बहस र दीर्घकालीन राष्ट्रनिर्माण प्रक्रियालाई कमजोर बनाउने खतरा सिर्जना गर्छन्।
भेडा बन्ने कि विवेकशील नागरिक?
कुनै समय स्वर्गीय नेता गणेशमान सिंहले नेपाली जनतालाई "भेडा" भन्नुभएको प्रसङ्गले आज झन् गहिरो अर्थ बोकेको देखिन्छ। त्यो शब्द अपमानजस्तो लागे पनि आज बुझिन्छ त्यो चेतावनी थियो। किनभने आज पनि हामी धेरैजसो आफैं तथ्य खोज्दैनौं, आफैं प्रश्न गर्दैनौं। भीडले जसलाई राम्रो भन्यो, त्यसैलाई राम्रो मान्छौं, भीडले जसलाई महान बनायो, आँखा चिम्लेर पछ्याउँछौं। राजनीतिमा कुनै व्यक्ति कुनै दलसँग जोडिएको मात्रले उसलाई स्वतः दोषी ठान्ने प्रवृत्ति बलियो हुँदै गएको छ।
छोटो समय जिम्मेवारीमा रहेर दीर्घकालीन प्रभाव पार्ने काम गरे पनि त्यसलाई नजरअन्दाज गरिन्छ। अझ चिन्ताजनक कुरा के हो भने कानून, नीति र संस्थागत सुधारभन्दा बाहिर रहेर केवल चर्को भाषण, भावनात्मक उत्तेजना र क्षणिक लोकप्रियताबाट बनेका छविलाई सजिलै नेतृत्व मानिन्छ।
अब के गर्नुपर्छ?
अब समय आएको छ भोट हाल्नका लागि मात्र भोट हाल्ने राजनीतिक सोचबाट बाहिर निस्कने। चुनाव जित्नका लागि मात्र चुनाव लड्ने संस्कारलाई प्रश्न गर्ने। अब देशलाई आवश्यक छ - दीर्घकालीन सोच राख्ने नेतृत्व, आलोचनाबाट नडराउने साहस, संस्थागत सुधारमा विश्वास, र क्षणिक तालीभन्दा भविष्यलाई प्राथमिकता दिने राजनीतिक चरित्र। किनभने देशको सार्वभौमिकता, स्वाभिमान र लोकतान्त्रिक स्थायित्व नाराले सुरक्षित हुँदैन। त्यसका लागि स्पष्ट नीति, प्रमाणित काम र निरन्तरता आवश्यक हुन्छ। विगतमा काम गरेर देखाइसकेका आलोचनालाई सुधारको माध्यम मात्र ठान्ने र भीडमा अलपत्र परेकाहरूलाई सही दिशा देखाउन सक्ने नेतृत्वलाई चिन्नु आजको सबैभन्दा ठूलो नागरिक दायित्व हो।
लोकतन्त्र नाराले होइन, नीतिले बलियो हुन्छ। लोकतन्त्र चर्को आवाजले होइन, जिम्मेवार सोचले टिक्छ। भीडबाट बाहिर निस्केर स्वअध्ययन गर्ने, ठीकलाई ठीक र गलतलाई गलत भन्न सक्ने जनता बन्न सक्यौं भने मात्र देशले साँचो नेताको नेतृत्वमा खोजेको आमूल परिवर्तन र दिगो विकास सम्भव हुन्छ।