काठमाडाैं। अमेरिकाको जर्जिया राज्यको गेनसभिल सहरमा सोमबार एक सानो प्रशिक्षण विमान आपतकालीन अवतरण गर्ने क्रममा व्यस्त सडकमा दुर्घटनाग्रस्त भएको छ।
स्थानीय प्रहरीका अनुसार एक इन्जिनयुक्त हकर बिचक्राफ्ट बीई–३६ विमानमा प्राविधिक समस्या आएपछि पाइलटले सडकमा आकस्मिक अवतरण गराएका थिए। विमानमा पर्याप्त शक्ति नहुँदा नजिकैको विमानस्थलसम्म फर्किन नसकेपछि सडकमा अवतरण गर्नुपरेको प्रहरीको भनाइ छ।
अवतरणका क्रममा विमानले सडकमा गुडिरहेका तीनवटा सवारी साधनमा ठक्कर दिएको थियो। प्रहरीका अनुसार विमानको दायाँ पखेटाले एउटा सवारी साधनलाई छोएको र त्यस क्रममा इन्धन ट्यांकी छुट्टिएर एउटा एसयुभीको पछाडिको भाग हुँदै अर्को सवारी साधनसम्म पुगेको थियो।
दुर्घटनामा केही व्यक्ति सामान्य घाइते भएका छन् भने सबै घाइतेको अवस्था खतरा बाहिर रहेको जनाइएको छ। घटनापछि उक्त सडक अस्थायी रूपमा बन्द गरिएको छ र स्थानीय प्रशासनले लामो समयसम्म ट्राफिक जाम हुन सक्ने भन्दै सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ, जसमा विमान व्यस्त सडकमा अवतरण गरेपछि क्रमशः सवारी साधनहरूमा ठोक्किँदै गएको देखिन्छ।
नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटिएसबी) का अनुसार विमान गेनसभिलस्थित ली गिल्मर मेमोरियल विमानस्थलबाट क्यान्टनको चेरोकी काउन्टी क्षेत्रीय विमानस्थलतर्फ जाँदै गर्दा उडानको केही समयमै इन्जिनमा समस्या आएको थियो। पाइलटले गेनसभिलमै फर्केर अवतरण गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्।
संघीय नागरिक उड्डयन प्रशासन (एफएए) का अनुसार विमानले स्थानीय समय अनुसार सोमबार दिउँसो १२:१० बजे आपतकालीन अवतरण गरेको हो। एफएएले घटनाबारे औपचारिक छानबिन सुरु गरेको जनाएको छ।