काठमाडौं। भारतमा निजी क्षेत्रको सबैभन्दा ठूलो विमान कम्पनी इन्डिगोले १ हजार बढी पाइलट भर्ती गर्ने तयारी सुरु गरेको छ। यो कुनै पनि भारतीय विमान सेवाद्वारा गरिएको पाइलट भर्ती अभियानमध्येको सबैभन्दा ठूलो हो।
गत डिसेम्बरमा नयाँ नियम कार्यान्वयनमा आएपछि पाइलट अभावका कारण कम्पनीले सात दिनभित्र करिब ५,००० उडान रद्द गर्नुपरेको थियो। नयाँ भर्ना छनोटमा प्रशिक्षार्थी फर्स्ट अफिसर, वरिष्ठ फर्स्ट अफिसर र क्याप्टेन रहेका छन्।
टाइम्स अफ इन्डियाका अनुसार कम्पनीले एयरबस ए३२० विमानमा अनुभव नभएका पाइलटलाई पनि आवेदन दिन आग्रह गरेको उल्लेख छ।
संशोधित नियमले मध्यरातदेखि बिहान ६ बजेसम्मका उडानमा पाइलटले गर्न सक्ने ल्यान्डिङ संख्यामा सीमा तोकेको छ। साथै, साप्ताहिक विश्राम समय पनि बढाइएको छ।
भारतीय नागरिक उड्डयन महानिर्देशनालयले गरेको अनुसन्धानमा एयरलाइन्सले नयाँ प्रावधानअनुसार जनशक्ति नथप्दा लामो समयसम्म पाइलटले काम गर्नुपरेको उल्लेख छ। लगातार उडान गर्दा कम्पनीका पाइलटको कार्यव्यस्तता बढेको र यात्रु सुरक्षामा चिन्ता थपिएको रिपोर्टमा उल्लेख छ।
इन्डिगोले अहिले दैनिक करिब २ हजार ३०० उडान सञ्चालन गर्छ। गत वर्ष मात्र यसले झन्डै १२ करोड यात्रु बोकेको थियो। इन्डिगोको भारतको हवाई बजारमा राम्रै दबदबा छ।
एक अधिकारीका अनुसार इन्डिगोले तीव्र गतिमा भइरहेको नयाँ विमान थप प्रक्रियालाई सन्तुलनमा राख्न दीर्घकालीन पाइलट पाइपलाइन तयार गर्ने रणनीति बनाइरहेको जनाइएको छ। कम्पनीले आन्तरिक तालिम प्रणालीमार्फत हरेक महिना करिब २० देखि २५ जना फस्र्ट अफिसरलाई क्याप्टेनमा पदोन्नति दिने प्रक्रिया सञ्चालन गरिरहेको छ।
इन्डिगोले हवाई यात्रा र बजार विस्तारका लागि नयाँ–नयाँ विमान थप्दै आएको छ। तर, सोहीअनुसार पाइलट पर्याप्त छैनन्।पाइलटको संख्या बढाउन निरन्तर तालिम प्रक्रिया आवश्यक पर्छ, जसमध्ये प्रशिक्षार्थी फर्स्ट अफिसर, पूर्ण फर्स्ट अफिसर बन्न कम्तीमा ६ महिनाको तालिम पूरा गर्नुपर्ने प्रावधान छ।
फर्स्ट अफिसरलाई क्याप्टेन हुन कम्तीमा १ हजार ५ सय घन्टा उडान भरेको अनुभव आवश्यक हुन्छ। भारतीय एयरलाइन्स नियामक भारतीय नागरिक उड्डयन महानिर्देशनालयले हरेक विमानका लागि एक क्याप्टेन र एक फर्स्ट अफिसरसहित तीन समूहमा पाइलट राख्नुपर्ने प्रावधान राखेको छ।
डिसेम्बरको उडान संकटबारे गरेको छानबिनमा महानिर्देशनालयले इन्डिगोलाई २ हजार ४ सय २२ क्याप्टेन आवश्यक थियो तर कम्पनीसँग २ हजार ३ सय ५७ जना मात्र थिए। यो संकटपछि नियामकले अस्थायी रूपमा रातीको समय ड्युटीमा हुने प्रतिबन्ध नियम फेब्रुअरी १० सम्मका लागि हटाउन अनुमति दिएको थियो।
अहिले कम्पनीले आफ्नो उडान सञ्जाल पुनर्संरचना गर्दै रणनीति बनाउँदै गएको छ। सोही कारण फेब्रुअरीमा ३ प्रतिशतमा वृद्धि गरिएको छ भने तयारी अवस्थामा चालक दल कम्तीमा १५ प्रतिशतमा पुर्याइएको टाइम्स अफ इन्डियाले जनाएको छ।
त्यस्तै, विमान महानिर्देशनालयका अनुसार लामो समयसम्मको कामको अवधि, डेडहेडिङ र कम मर्मतको समय राखिएको थियो। सोही कारण कार्यतालिकाको स्थायित्व कमजोर बनाउँदा यसमा नकरात्मक प्रभाव परेको बताइएको छ।
इन्डिगोले अहिले दैनिक करिब २ हजार ३०० उडान सञ्चालन गर्छ। गत वर्ष मात्र यसले झन्डै १२ करोड यात्रु बोकेको थियो। इन्डिगोको भारतको हवाई बजारमा राम्रै दबदबा छ।
२००६ मा सुरु भएको इन्डिगोले यसबीच बजारको करिब दुई तिहाइ भाग ओगटिसकेको छ। सन् २०२४ मा कम्पनीले ५८ नयाँ विमान थपेको थियो।
(द टाइम्स अपफ इन्डियाबाट)