काठमाडौं। ठूला विद्युतीय सवारी साधन(ईभी)को मूल्य महँगो भएकै कारण नेपाली बजारमा सार्वजनिक यातायातको पहुँच कम भैरहेको छ। यातायात क्षेत्रमा आबद्ध व्यवसायीले अन्तर्राष्ट्रिय बजारमै ठूला ईभीको मूल्य महँगो हुँदा नेपालमा ल्याउन समस्या भइरहेको गुनासो गरिरहेका छन्।
विद्युतीय सवारीसाधान प्रयोगमा नेपाल अग्र स्थानमा रहे पनि सार्वजनिक यातायातको पहुँच कम भइरहेका बेला अहिले विस्तारै अन्तर्राष्ट्रिय बजारमा ईभीको मूल्य घट्दै गएको छ। उत्पादन वृद्धि, प्रविधिको विकास र ब्याट्री लागतमा आएको कमीका कारण ईभी बससस्तो बन्दै जादा नेपाली बजारमा सार्वजनिक यातायातको पहुँच बढ्ने अपेक्षा हुन थालेको छ।
सार्वजनिक यातायातका सवारीमा प्रयोग हुने ठूला बस नेपालमा अत्यधिक महँगा छन्। ठूला ईभी बस उत्पादन गर्दा नै महँगो पर्छन्। त्यसकारण अहिले नेपालमा यी सवारीसाधन प्रतिस्पर्धात्मक हुन सकेका छैनन्। अहिले ईभी भाडाका लागि प्रयोग गर्दा होस् वा निजी प्रयोजनका लागि। सुरुआती लागत निकै बढी पर्न जान्छ। यो खर्चिलोभन्दा पनि गाडी किन्दा नै सुरुमा धेरै पैसा तिर्नुपर्ने भएकाले बजारमा अन्य साधनसँग प्रतिस्पर्धा गर्न कठिन भएको हो। तर, अब विस्तारै यसको मूल्य पनि घट्दो क्रममा रहेको नाडाका पूर्व अध्यक्ष ध्रुव थापा बताउँछन्।
ईभी निर्माता कम्पनीले ठूलो संख्यामा उत्पादन गर्दा प्रतिबस लागत कम भएको छ। धेरै देशमा ईभीलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर छुट तथा अनुदान पनि दिइँदै आएको छ।
‘हिजोका दिनमा ४०–४५ सिटर ईभी बस नेपाल ल्याउँदा १ प्रतिशत मात्र भन्सार तिर्दा पनि २ करोडसम्म पर्न जान्थ्यो,’ पूर्वअध्यक्ष थापाले भने, ‘केही समयअघि त्यसको मूल्य डेढ करोडसम्म झरेको थियो भने अहिले अब १ करोड हाराहारीमा आउने अवस्था छ। यस्ता गाडी अहिले नेपाल भित्रिन सुरु गरिसकेका छन्।’ कतिपय कम्पनीले ठूला ईभी बस ल्याउन थालिसकेको उनको भनाइ छ।
थापाका अनुसार साना मिनीबस लगभग आइसकेका छन्। अबको दुई–तीन वर्षभित्र ठूला सवारीसाधन विद्युतीयमा रुपान्तरण हुने दर बढेर जान्छ। यो नेपालका लागि अत्यन्तै सकारात्मक कुरा हो।
‘अन्तर्राष्ट्रिय बजारमा ठूला ईभीको मूल्य घट्दै गइरहेको छ। यस्तो अवस्थामा यदि भन्सार दर स्थिर रह्यो भने नेपालमा ठूला गाडी आयात बढ्नेछ। यसका लागि नीतिगत स्पष्टता आवश्यक छ। अहिले पूर्वाधारमा निजी क्षेत्रले लगानी गरिरहेको छ तर, यसलाई अझै सहज बनाउने वातावरण सरकारले निर्माण गर्नुपर्छ। विद्युतीय सवारीसाधन प्रवर्द्धनमा निजी क्षेत्रको प्रयासले मात्रै पुग्दैन। यसमा सरकारको पनि उत्तिकै योगदान आवश्यक हुन्छ,’ थापाले भने।
मूल्य घट्दै जाँदा विशेषगरी ठूला क्षमताका विद्युतीय बस उत्पादन र बिक्रीमा उल्लेखनीय वृद्धि भएको छ। उत्पादन लागत घट्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा ठूला ईभी बसको मूल्य घटेका कारण नेपालमा केही कम्पनीहरूले ठूला ईभी बस भित्र्याउने तयारी पनि गरिरहेका छन्। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि ठूला ईभी बसको प्रयोग उल्लेखनीय रूपमा बढ्ने आकलन व्यवसायीले गरेका छन्।
अहिले ठूला ईभी बस प्रयोग बढ्न नसक्नुको मुख्य कारण उत्पादन लागत बढी हुनु हो। अहिले अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य घट्दै गएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा बताउँछन्। ‘अहिले ठूला ईभी बसको प्रयोग बढ्न नसक्नुको मुख्य कारण उत्पादन लागत बढी हुनु हो,’ उनले भने, ‘त्यही पनि अहिले अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य घट्दै गएको छ।’
उनका अनुसार ईभी माइक्रो भ्यानले पनि सुरुआती दिनमा खासै बजार लिन सकेको थिएन। तर, डिजेल/पेट्रोल माइक्रो भ्यानभन्दा कम मूल्यमा ईभी आउन थालेपछि यसको माग बढ्दै गयो र इन्धन माइक्रो भ्यान अर्थात् हायसलाई विस्थापित गर्यो। ईभी बस कम मूल्यमा आउने हो भने यसले डिजेल÷पेट्रोल बसलाई विस्थापित गर्नेछ।
सरकारले ईभी प्रवर्द्धनका लागि भन्सार र अन्तःशुल्कमा सहुलियत दिएको छ। सोही कारण नेपालमा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढ्दो छ। निजी प्रयोजनका साना ईभी कार र दुईपांग्रे बाइक तथा स्कुटर, माइक्रो भ्यान उल्लेख्य रूपमा भित्रिएका छन्। तर, ठूला क्षमताका सार्वजनिक बसको हकमा प्रयोग अझै सीमित छ।
ठूला बस आयात गर्दा उच्च प्रारम्भिक लागतका कारण निजी व्यवसायीले लगानी गर्न हिच्किचाउने गरेको पाइन्छ। यदि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने क्रम जारी रह्यो भने नेपाली व्यवसायीका लागि आयात लागत घट्न सक्छ। त्यसमा सरकारको स्पष्ट दीर्घकालीन नीति, सहुलियतपूर्ण कर्जा तथा चार्जिङ पूर्वाधार विस्तार जोडिए सार्वजनिक यातायात क्षेत्रमा ठूलो परिवर्तन सम्भव हुने व्यवसायी बताउँछन्।
अन्तर्राष्ट्रिय बजार अवस्था
चीन विश्वकै सबैभन्दा ठूलो ईभी उत्पादक राष्ट्र हो। विभिन्न कम्पनीले हजारौं विद्युतीय बस उत्पादन गरी विश्वभर निर्यात गरिरहेका छन्। ठूलो मात्रामा उत्पादन, सरकारी अनुदान तथा ब्याट्री प्रविधिमा सुधारका कारण उत्पादन लागत उल्लेख्य रूपमा घटेको छ।
हाल नेपाली बजारमा अधिकांश ईभी भारत र चीनबाट आयात हुने गरेको छ। छिमेकी मुलुक भारतमा पनि ईभीलाई प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक यातायातमा ईभीका हिस्सा बढाउँदै लगेको छ।
युरोपमा पनि हरित ऊर्जा नीति अन्तर्गत डिजेल बसलाई विस्थापित गर्दै ईभी बसको प्रयोग बढाइएको छ। युरोपिएन युनियनले सन् २०३० पछि कार्बन उत्सर्जन घटाउने लक्ष्यसहित सार्वजनिक यातायातलाई विद्युतीकरण गर्ने नीति अघि सारेको छ।
अमेरिकामा पनि संघीय र राज्यस्तरमा अनुदान कार्यक्रममार्फत विद्यालय बस र सहर यातायात बसलाई विद्युतीय बनाउने अभियान तीव्र पारिएको छ।
विश्व बजारमा ब्याट्री उत्पादनको लागत पछिल्ला दशकमा झन्डै ८० प्रतिशतसम्म घटेको विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन्। ईभी निर्माता कम्पनीले ठूलो संख्यामा उत्पादन गर्दा प्रतिबस लागत कम भएको छ। धेरै देशमा ईभीलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर छुट तथा अनुदान पनि दिइँदै आएको छ।