काठमाडौं। पछिल्लो समय व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारी साधन (ईभी)को लोकप्रियता बढ्दो छ। नेपालमा कमर्सियल ईभीको लोकप्रियता बढेसँगै नयाँ-नयाँ ब्रान्डको आउने क्रम बढ्दै गएकाले प्रतिस्पर्धा पनि बढ्दै गएको हो।
सार्वजनिक यातायातमा ईभीको प्रयोग बढेसँगै बजारमा नयाँ ब्राण्ड थपिने क्रम पनि बढेको हो। अहिले छोटो तथा मध्यम दूरीका रुटमा विद्युतीय माइक्रोबस र डेलिभरी भ्यानको प्रयोग बढ्दो छ। आइसीई गाडीको तुलनामा विद्युतीय सवारीमा कर कम लाग्ने, संचालन खर्च कम हुने र नाफा बढ्ने भएकाले सवारी किन्नेहरू ईभीमा आकर्षित हुन थालेका हुन्। साथै, फैलिँदो चार्जिङ नेटवर्कका कारण पनि ईभीको प्रयोग सहज हुँदै गएको छ।
नेपाली बजारमा कमर्सियल ईभीको आयात २०७६ देखि आउन सुरु भएको थियो। सुरुवाती दिनमा २ युनिट आयात भएको ईभी अहिले हजारौँको संख्यामा आउन थालेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा बताउँछन्।
‘नेपालमा व्यावसायिक प्रयोजनका लागि ईभी पहिलो पटक हामीले ल्याएका थियौँ,’ उनले भने, ‘सुरुवातमा ४ युनिट मगाए पनि दुई युनिट मात्र आइपुगेको थियो। विगतको तुलनामा अहिले एकदम धेरै बढेको छ।’ पहिले जति डिजेल÷पेट्रोलका गाडी आयात हुन्थ्यो त्यसको आयात अहिले ६० प्रतिशत कम भएको थापाको भनाइ छ।
‘अहिले कमर्सियल गाडीको आयात तथा प्रयोग बढ्नु यो एकदमै सकारात्मक भए पनि जुन हिसाबले कमर्सियलमा विभिन्न ब्रान्ड भित्रिएको छ। त्यो एकदम दुःखद कुरा हो,’ उनले थपे। पछिल्लो समय जुन हिसाबले जस्तो पाए त्यस्तै ब्रान्ड भित्रिएको छ, त्यसले नकारात्मक असर पार्ने उनले बताए।
कमर्सियल ईभीको आयात बढेसँगै यसको प्रतिस्पर्धा तीव्र रुपमा हुन थालेको छ। प्रतिस्पर्धासँगै बजारमा माग पनि बढ्दै गइरहेको छ।
कमर्सियल ईभीको संख्या बढ्नु राम्रो कुरा हो। विशेष गरी व्यावसायिक प्रयोजनका लागि आएका गाडी उपयुक्त रहेको उनको बुझाइ छ। यसका साथै तीव्र प्रतिस्पर्धाले सेवा सुविधाको गुणस्तरमा पनि सुधार ल्याउँछ। ब्रान्डले बिक्रीपछिको सेवा, स्पेयर पार्टसको उपलब्धता र चार्जिङ पूर्वाधार विस्तारमा बढी ध्यान दिन थाल्छन्। यसले ईभी प्रयोगकर्ता व्यवसायीले भरपर्दो सेवा पाउन सक्छन्।
कमर्सियल ईभीको आयात बढेसँगै यसको प्रतिस्पर्धा तीव्र रुपमा हुन थालेको छ। प्रतिस्पर्धासँगै बजारमा माग पनि बढ्दै गइरहेको छ। प्रतिस्पर्धी मूल्य र कम सञ्चालन खर्चका कारण विद्युतीय माइक्रोबस तथा भ्यानको बिक्री बढेको व्यवसायीहरुको भनाइ छ। व्यवसायीहरु इन्धनको गाडी छाडेर धमाधम इभी भ्यानमा सिफ्ट भइरहेसँगै नयाँ/नयाँ ब्राण्डहरु भित्रिने लहर चलिरहेको छ। नेपाली बजारमा हाल करिब ४ दर्जन हाराहारी कमर्सियल ईभी ब्रान्ड उपलब्ध छन्।
अहिले विद्युतीय कमर्सियल सवारीमा भ्यान, माइक्रोबस, मिनिबस, विद्युतीय पिकअप तथा ट्रक रहेका छन्। कमर्सियल ईभी धेरै चीनबाट आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। आयात भएका कमर्सियल ईभीमा ठूलो हिस्सा ११ सिट क्षमताको भ्यान र १४ सिटसम्मका माइक्रोबसको रहेको छ। पछिल्लो पटक भने १५ सिटदेखि २५ सिट क्षमताका विद्युतीय मिनिबसको आयात संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ।
कमर्सियल ईभी आयातको ट्रेन्ड
नेपालमा कमर्सियल ईभीको आयात २०७६ बाट आउन सुरु भएको हो। सुरुवाती चरणमा आर्थिक वर्ष २०७७/७८ को एक वर्षको अवधिमा २६ युनिट आयात भएको कमर्सियल ईभी २०८१/८२ मा आइपुग्दा ३ हजारभन्दा बढी आयात भएको भन्सार विभागको तथ्यांकमा देखिएको छ। चालू आर्थिक वर्ष २०८२/८३ को ६ महिना (साउनदेखि पुससम्म) मा मात्र ६२७ युनिट कमर्सियल ईभी आयात भएको छ।
डिजेल÷पेट्रोल गाडीको तुलनामा ईभीमा सञ्चालन खर्च कम हुने भएकाले यसको प्रयोगकर्ता संख्या निरन्तर बढ्दै गएको हो। अहिले नेपालमा कमर्सियल क्षेत्रमा ११ सिटर र १४ सिटरका कमर्सियल ईभीको आयात तथा प्रयोग धेरै भएको देखिन्छ।
आर्थिक वर्ष २०७८/७९ मा ९२ युनिट कमर्सियल ईभीको आयात भएको थियो। त्यस्तै आर्थिक वर्ष ०७९/८० मा ४५१ युनिट आयात भएको थियो। भने २०८०/८१ मा यसको आयात ह्वात्तै बढेर एक हजार ३० युनिट पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
त्यसैगरी, आर्थिक वर्ष ८१/८२ को एक वर्षको अवधिमा तीन हजार १३२ युनिट कमर्सियल ईभी आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार कमर्सियल ईभीको आयात बढ्दो क्रमम रहेको छ।