काठमाडौं । सरकारले सिंचाई र बिजुली उत्पादन हुनेगरी ३ ओटा ठुला नदी डाइभर्सन वहुउद्धेशिय परियोजनाको संभाव्यता अध्ययन गर्ने भएको छ । सरकारले पूर्वमा तमोर–चिसाङ, पश्चिममा माडी–दाङ र कालिगण्डकी–तिनाउँ गरी ३ ओटा ठुला डाइभर्सन परियोजना अघि बढाउन लागेको हो ।
यी परियोजना बनाउन डेढ खर्ब रुपैयाँ भन्दा बढी लाग्ने अनुमान गरिएको छ । प्रारम्भीक चरणमा रहेकाले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारपछि मात्र यकिन लागत आउने छ ।
तमोरको पानी चिसाङमा मिसाएर सिंचाइका साथै बिजुली उत्पादन गर्न वहुउद्धेशिय परियोजना भरखरै पहिचान भएकाले यसको संभाव्यता अध्ययन हुने भएको छ ।
पूर्वमा थप सिंचाइ सुविधा पुर्याउन यो परियोजना अघि सारिएको हो । यसैगरी माडी खोलाको पानी दाङ उपत्यकामा ल्याएर सिंचाइ सुविधा पुर्याउनुका साथै बिजुली पनि उत्पादन गर्ने लक्ष्य छ ।
सरकारले भेरीको पानी बबइमा खसाल्ने गरी १२ किलोमिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेपछि थप डाइभर्सन परियोजनाको अध्ययन सुरु गरेको हो । यो वर्ष भेरी बबईको विद्युतगृह संरचनाको निर्माण सुरु गर्ने योजना सरकारको छ ।
यस्तै सुनकोसीको पानी मरिनमा खोलामा मिसाएर तराईमा सिंचाइ सुविधा पुर्याउने योजना कार्यन्वयनको चरणमा पुगेको छ । आगामी आर्थिक वर्षदेखि सुनकोसी–मरिन सिंचाइको बाँधको काम सुरु गर्ने योजना रहेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । सुनकोसी–मरिनको काम अघि बढाउन ठेकेदार चयन भइसकेको छ ।
कालीगण्डकी नदीको पानीलाई सुरुङमार्फत तिनाउँ नदीमा खसाली रुपन्देही र कपिलवस्तमा भरपर्दो सिचाइ गराउन कालीगण्डकी तिनाउँ डाइभर्सन बहुउद्देश्यीय आयोजना अगाडि सारिएको छ ।
कालीगण्डकी तिनाउ डाइभर्सनका लागि पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीभन्दा केही किलोमिटर तलबाट सुरुङ बनाउने योजना छ । कालिगण्डकी डाइभर्सको कामका लागि ४० अर्ब रुपैयांँ लाग्ने अनुमान गरिएको छ ।
स्याङ्जाको राम्दीदेखि २ हजार २०० मिटर तल पिपलडाँडा क्षेत्रमा बाँध बनाएर २५.२ किलोमिटर लामो सुरुङमार्ग मार्फत पाल्पाको दोभानस्थित तिनाउ नदीमा कालीगण्डकीको पानी मिसाएर १२० मेगावाट विद्युत निकाल्ने योजना अघि सारेको छ ।
जलस्रोत तथा सिँचाइ विभागका अनुसार करीब ९ मिटर चौडा सुरुङमार्गबाट ८१.६ क्युसेक पानी तिनाउ नदीमा मिसाएर विद्युत उत्पादन सँगै रुपन्देही र कपिलवस्तुको १ लाख ६ हजार ६०० हेक्टर जमीन सिँचाइ गर्ने योजना छ ।
यो आयोजनाबाट दोभानमा पहिलो र बुटवल नजिकै बेलवासमा दोस्रो विद्युतगृह निर्माण हुने गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बन्दैछ ।
पहिलो विद्युतगृहबाट आधा पानी तिनाउमा मिसाइने छ भने बेलवासमा बन्ने दोस्रो विद्युत गृहबाट ३८ किलोमिटर लामो नहर बनाएर तिनाउको पश्चिम क्षेत्र हुंदै कपिलवस्तुसम्म सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ ।
पश्चिममा बाणगंगा नदीसम्म यस्तो नहर बन्ने छ । दोभानबाट तिनाउमा खसालिएको आधा पानी १४ किलोमिटर लामो पूर्वी नहर हुँदै तिनाउ पूर्वका क्षेत्रमा सिँचाइका लागि उपयोग गरिने छ ।
सरकारले परियोजनाको विस्तृत अवधारणा बनाउन आर्थिक वर्ष २०७१/०७२, २०७२/०७३ , २०७३/०७४ र २०७५/०७६ मा पनि बजेटको व्यवस्था गरेको थियो ।
आयोजनाका लागि अनुमानित लागत ४० अर्ब रुपैयाँ रहेको छ । यसमध्ये सिँचाइ पुर्वाधार बनाउन १८ अर्ब ४८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसबाहेक जलविद्युतका लागि २१ अर्ब ६२ करोड रुपैयाँ लाग्ने देखिउको छ ।
डाइभर्सन भएर आउने ८१.६ क्युसेक पानीमध्ये ७५.९६ क्युसेक सिँचाइका लागि र ६ क्युसेक खानेपानी र औद्योगिक प्रयोजनको लागि प्रयोग गरिने छ ।