काठमाडौं। अर्घाखाँची सिमेन्टले ९ महिनामै करिब ४ अर्ब रुपैयाँको व्यापार गरेको छ। रुपन्देहीको मैनहियामा रहेको उद्योगले आर्थिक वर्ष २०२४/२५ को ९ महिनामा ३ अर्ब ९६ करोड ७० लाख रुपैयाँ (अपरिस्कृत) बराबरको कारोबार गरेको हो।
उद्योगले सन् २०२४ मा ६ अर्ब ६ करोड ६० लाख, २०२३ मा ५ अर्ब ७७ करोड २० लाख, २०२२ मा ७ अर्ब ५८ करोड ९० लाख र सन् २०२१ मा ८ अर्ब ७० करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो।
उद्योग हाल सार्वजनिक निष्कासन (आईपीओ) जारी प्रक्रियामा रहेको छ। उद्योगले चुक्ता पुँजीको १२ प्रतिशतका दरले आईपीओ जारी गर्न बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरिसकेको छ।
उद्योगले ४ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इक्रा नेपालमा गराएको रेटिङमा २ अर्ब ५० करोड ८० लाख रुपैयाँ दीर्घकालीन कर्जामा ‘एनबी बीप्लस’ र १ अर्ब ८४ करोड ९० लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि ‘ए फोरप्लस’ रेटिङ प्राप्त गरेको छ।
उद्योगले यसअघि २०२४ अप्रिलमा ४ अर्ब ६३ करोड ३० लाख रुपैयाँ बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ गराएको थियो। उक्त समय उद्योगले प्राप्त गरेको रेटिङलाई नै इक्राले पुनःपुष्टि गरेको हो।
उद्योगद्वारा प्राप्त दीर्घकालीन कर्जामा ‘एनबी बीप्लस’ रेटिङले मध्यमदेखि उच्च क्रडिट जोखिम रहेको संकेत गर्छ। यो रेटिङअनुसार उद्योगले हाल वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने क्षमता राख्छ तर, उद्योगमा तत्काल केही आर्थिक वा व्यावसायिक समस्या आए वित्तीय दायित्व समयमै तिर्न नसक्ने हुन्छ।
यसले ऋण लगानी गर्न जोखिमपूर्ण मानिन्छ। उद्योगले अल्पकालीन कर्जाका लागि हाल प्राप्त गरेको ‘ए फोरप्लस’ रेटिङले उच्च जोखिम वा क्रेडिट सुरक्षा कम रहेको संकेत गर्छ। तर, ऋण लगानीका लागि सावधानीपूर्वक लगानी गर्नुपर्ने जनाउँछ। दुवै प्रकारको कर्जामा रेटिङले उद्योगको वित्तीय स्थायित्व र ऋण तिर्ने क्षमता हाल केही कमजोर रहेको देखिन्छ।
उद्योगले अत्यधिक बैंकिङ कर्जा प्रयोग गरेको र ‘हाई वर्किङ क्यापिटल साइकल’ रहेको हुँदा नगद प्रवाहमा निरन्तर दवाबको अवस्था छ। साथै, उद्योगले विद्युत शुल्कसँग सम्वन्धित सम्भावित दायित्व भुक्तानी विषय समाधान गरेको छैन। उद्योगले ४४ करोड ८० लाख रुपैयाँ बढीको विद्युत महशुल दायित्व भुक्तानी गर्न बाँकी रहेको रेटिङ रिपोर्टमा उल्लेख छ। उक्त दायित्व भुक्तानी गर्नुपर्दा उद्योगमा नगद प्रवाहमा दबाब पर्छ।
नेपालको सिमेन्ट उद्योगको अस्वस्थ्य प्रतिस्पर्धा र सुस्त अर्थतन्त्रका कारण निर्मााण कार्यहरु घटेको हुँदा उद्योगले कारोबार अपेक्षित रुपले बढाउन सकेको छैन।
यद्यपि, सिद्धार्थ ग्रुप, केडिया अर्गनाइजेसन र मुरारका समूहजस्ता अनुभवी व्यावसायिक घरानाद्वारा सञ्चालित अर्घाखाँची सिमेन्टको पछिल्लो १२ देखि १८ महिनामा सञ्चालन नाफामा सुधार देखिएको छ। उद्योगका ठूला संस्थापक निर्माण, व्यापार, बैंकिङ, बिमालगायतका क्षेत्रमा लामो समय अनुभव सँगालेका व्यक्ति हुन्।
सन् २०२५ को मध्यमा आइपुग्दा उद्योगको कुल पुँजीमा ऋण अनुपात ०.७५ प्रतिशत मात्रै छ। भारतमा सिमेन्ट निर्यात शुरु भएसँग उद्योगको आम्दानीमा सुधार भएको हो। सन् २०२४ को कुल आम्दानीमा करिब १२ प्रतिशत हिस्सा भारत निर्यातको रहेको छ। तर, उद्योगलाई बीआईएस प्रमाणपत्र नवीकरणमा ढिलाईले निर्यातको दीर्घकालीन स्थायित्वमा चुनौती थपेको छ।
सन् १९९८ देखि सञ्चालनमा आएको अर्घाखाँची सिमेन्टमा सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरार्का ग्रुपको ३० प्रतिशत, केडिया अर्गानाइजेसनको १७.५ प्रतिशत र भारतीय सिमेन्ट उद्योग उम्मा सिमेन्ट इन्टरनेसनलको १७.५ प्रतिशत सेयर स्वामित्व छ।
उद्योगले क्लिंकर र सिमेन्ट उत्पादन तथा बिक्री गर्छ। हाल यसको क्लिंकर उत्पादन प्रतिवर्ष १ मिलियन मेट्रिक टन र सिमेन्ट पिसाइ क्षमता ०.८ मिलियन टन प्रतिवर्ष रहेको छ।