काठमाडौं। अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि मध्यपूर्वका सात राष्ट्रले प्रत्याक्रमणको क्षति बेहोर्नुपरेको छ।
अमेरिकी/इजरायली आक्रमणपछि खाडी मुलुकमा रहेका अमेरिकी सैन्य अखडा र रणनीतिक केन्द्रमा प्रतिशोधात्मक आक्रमण जारी राख्दा नेपालीको समेत मृत्यु भएको छ।
इरानले कतार, बहराइन, जोर्डन, ओमान, कुवेत, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका विमानस्थल, आवासीय भवन र होटललाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ।
इरानी आक्रमणका कारण बहराइनको मनामास्थित मिना सलमान बन्दरगाह नजिकैको समुद्री केन्द्रमा ठूलो आगलागी भएको छ। बहराइनको गृह मन्त्रालयले यसलाई इरानी आक्रामकताको संज्ञा दिँदै नागरिक रक्षा टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको पुष्टि गरेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यमा उक्त क्षेत्रबाट बाक्लो धुवाँको मुस्लो निस्किएको देखिन्छ।
इराकको राजधानी बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको अमेरिकी सैन्य आधार शिविर भिक्टोरिया बेस’ मा दुईवटा ड्रोनमार्फत आक्रमण गरिएको छ। सुरक्षा स्रोतका अनुसार एउटा ड्रोन आधार शिविरभित्रै खसेको थियो भने अर्कोलाई खसालिएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणमा मारिएका तीन अमेरिकी सैनिकको मृत्युको बदला लिने प्रतिज्ञा गर्दै आगामी दिनमा थप मानवीय क्षति हुन सक्ने चेतावनी दिएका छन्। उनले इरानी जनतालाई इस्लामिक शासन सत्ता ढाल्न र विद्रोह गर्न आह्वान गरेका छन्।
द्वन्द्वको बाछिटा छिमेकी मुलुकमा पनि तीव्र रूपमा फैलिएको छ। इजरायलको बेइत शेमेश सहरमा इरानी मिसाइल खस्दा ९ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन्।
सिरियाको दमासकस नजिकै ऐन तेर्मामा इरानी मिसाइलको भग्नावशेष खस्दा एकै परिवारका बाबु र तीन छोरी घाइते भएका छन्।
खाडी मुलुकले इरानी आक्रमणको प्रतिकार गर्ने र आफ्नो रक्षा गर्ने प्रतिबद्धता जनाएका छन्।
बेलायतले दियो अमेरिकालाई सैन्य शिविर प्रयोग अनुमति
यसैबीच बेलायती प्रधानमन्त्री किर स्टार्मरले इरानविरुद्धको रक्षात्मक आक्रमणका लागि अमेरिकालाई आफ्ना सैन्य आधारशिविर प्रयोग गर्न अनुमति दिएका छन्।
बेलायतमा रहेका अमेरिकी सैन्य अड्डाबाट इरानमा हमला गर्न प्रधानमन्त्री केयर स्टार्मरले अनुमति दिएका हुन्। आइतबार सामाजिक सञ्जालमार्फत बेलायती प्रधानमन्त्री स्टार्मरले इरानका मिसाइल प्रक्षेपण स्थललाई लक्ष्य गरी कारबाहीका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न अनुमति दिने निर्णय भएको बताएका छन्। प्रधानमन्त्री स्टार्मरले उक्त कदमलाई विशेष र सीमित रक्षात्मक उद्धेश्यका लागि मात्रै भनेका छन्।
उनले यो निर्णयबाट इरानले क्षेत्रभरि मिसाइल प्रहार गरेर निर्दोष सर्वसाधारणको ज्यान लिने र बेलायती नागरिकको सुरक्षामा जोखिम पुर्याउने तथा युद्धमा प्रत्यक्ष संलग्न नभएका देशलाई निशाना बनाउने सम्भावनालाई रोक्न भनेका छन्। ‘इरानले क्षेत्रभर मिसाइल प्रहार गरी निर्दोष नागरिकको हत्या गर्न नपाओस् भन्ने उद्देश्यले हामीले यो अनुमति दिएका हौँ,’ स्टार्मरले भने।
गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतप्रति सार्वजनिक असन्तुष्टि जनाएका थिए। बेलायती अधिकारीले इरानमाथि सम्भावित पूर्व–आक्रमणका लागि अमेरिकी सेनालाई आरएएफ फेयरफोर्ड र हिन्द महासागरस्थित संयुक्त अमेरिकी–बेलायती अड्डा डिएगो गार्सिया प्रयोग गर्न अस्वीकार गरेपछि ट्रम्पले स्टार्मरको आलोचना गरेका थिए।–एजेन्सी