काठमाडौं। बेइजिङ अटोमोवाइल वर्क (बीएडब्लू)को इलेक्ट्रिक उत्पादन ब्राउन ई-७ प्रो नेपाली बजारमा भित्रिएको छ। नेपालका लागि बिएडब्लुको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले बिएडब्लुको ब्राउन ई-७ प्रो नेपाली बजारमा ल्याएको हो।
एलआआर मोटर्सले नेपाली बजारमा ल्याएको ब्राउन ई-७ प्रो २३ लाख रुपैयाँभन्दा कममा लञ्च हुने अनुमान गरिएको छ। बिएडब्लुको ब्राउन ई-७ प्रो फास्ट चार्जिङ ईभी हो। ब्राउन ई-७ प्रोमा जडान गरिएको ब्याट्रीलाई लगभग ३५ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
बिएबडब्लुको ब्राउन ई-७ प्रो हालै मोनार्क इम्पेरियलमा श्रीलंकाली बजारमा आधिकारिक रूपमा सार्वजनिक भएको छ। बिएडब्लुको ई-७ को सिंगल चार्जमा २६० किलोमिटरको रेञ्ज दिने कम्पनीले जनाएको छ।
यो गाडीमा २२.२९ किलोवाटको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री जडान गरिएको छ। जुन यसको स्थायित्व, थर्मल स्थिरता र बृद्धि गरिएको सुरक्षा विशेषताको लागि व्यापक रुपमा मान्यता प्राप्त प्रविधि हो। कम्पनीले यसमा ३ वर्ष ६० हजार किलोमिटर भेहिकलमा वारेन्टी दिएको छ भने १० वर्ष अर्थात १ लाख २० हजार किलोमिटर ब्याट्रीमा वारेन्टी दिएको छ।

व्यावहारिकता र आधुनिकतालाई ध्यानमा राखेर डिजाइन गरिएको बिएडब्लुको ब्राउन ई- शहरी यात्राको लागि उपयुक्त ह्याचब्याक ईभी हो। यसको भित्री भागलाई समकालीन प्रविधिले सोचविचार गरी डिजाइन गरिएको छ। जसमा ९ इञ्चको फ्लोटिङ्ग इन्फोटेनमेन्ट डिस्प्ले, रिभर्स क्यामेरा र पाँच इञ्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश गरिएको छ। जसले सहज इन्टरफेसमार्फत आवश्यक ड्राइभिङ जानकारी प्रदान गर्दछ।

सुरक्षाका लागि गाडीमा डुअल एयरब्याग, एन्टी-लक ब्रेकिङ सिस्टम (एबिएस) इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन जस्ता सुविधाहरू दिएको छ। यसले चालकलाई सडकमा बढ्दो आत्मविश्वास र सुरक्षा प्रदान गर्न काम गर्दछ। बेइजिङ अटोमोबाइल वक्र्स कम्पनी लिमिटेड (बिएडब्लु) चीनको सबैभन्दा पुरानो अटोमेकरमध्ये एक हो। यो सन् १९५१ मा स्थापित कम्पनी हो।