भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिका–२ लुंगिनका किसानहरू पछिल्लो समय व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन्। परम्परागत अन्नबालीमा निर्भर रहेका यहाँका किसानहरू आम्दानी बढाउने लक्ष्यसहित फलफूल खेतीतर्फ उन्मुख भएका हुन्।
लुंगिन क्षेत्रको हावापानी र माटो सुन्तला खेतीका लागि उपयुक्त मानिएकाले यहाँ सुन्तला खेती विस्तार हुँदै गएको स्थानीय किसान शम्भु राईले बताए। उनका अनुसार विगतमा घरायसी प्रयोजनका लागि सीमित रूपमा गरिँदै आएको सुन्तला खेती हाल व्यावसायिक रूपमा विस्तार हुन थालेको छ।
किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न हतुवागढी गाउँपालिकाले विभिन्न अनुदान तथा प्राविधिक सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ। सुन्तलाका बिरुवा वितरण, बगैँचा व्यवस्थापन तालिम, मलखाद तथा रोग व्यवस्थापनसम्बन्धी सहयोगले किसानलाई थप हौसला मिलेको राईको भनाइ छ।
हतुवागढी–२ लुंगिनका वडाध्यक्ष बिचारी थापाले फलफूल खेतीमार्फत किसानको आयआर्जन बढाउने लक्ष्यसहित सुन्तला खेतीलाई प्राथमिकतामा राखिएको बताए। किसानलाई प्रोत्साहन गर्न वडाको बजेटमा नर्सरीसमेत विस्तार गरिएको र वडाले समयसमयमा सुन्तला, एभोकार्डो, कागतीका बिरुवासमेत वितरण गर्दै आएको उनले जानकारी दिए।
‘यहाँ सुन्तला उत्पादन हुने स्थानलाई पकेट क्षेत्र घोषणा गरेर खेती विस्तारमा जोड दिइएको छ। यहाँका वालिङ, साक्सिराङ, दितेनी क्षेत्रमा सुन्तलाको बढी उत्पादन हुने गरेको छ। त्यसैले किसानलाई उन्नत जातका बिरुवा उपलब्ध गराउनुका साथै प्राविधिक सहयोग दिँदै आएका छौँ’, वडाध्यक्ष थापाले भने, ‘यसले किसानलाई व्यावसायिक उत्पादनतर्फ उन्मुख बनाएको छ। नर्सरी स्थापना गरेर किसानलाई बिरुवा वितरण गर्दै आएका छौँ।’
स्थानीय कृषक प्रशुराम राईका अनुसार सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू यसतर्फ आकर्षित भइरहेका छन्। आफ्नो बारीमा हाल १५० बोट हाराहारी सुन्तला रहेको उनले बताए। ‘अन्नबालीभन्दा सुन्तलाबाट बढी आम्दानी हुने देखिएको छ’, राईलेले भने, ‘यसले हाम्रो जीवनस्तर सुधारमा सहयोग पुगेको छ। त्यसैले यस क्षेत्रका किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएका छौँ।’
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले लुंगिन क्षेत्र फलफूल खेतीका लागि उपयुक्त भएकाले सुन्तला खेतीलाई प्राथमिकतामा राखिएको बताए। ‘यहाँको हावापानी र माटो सुन्तलाका लागि निकै उपयुक्त छ’, उनले भने, ‘यसलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजना छ।’
गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले सुन्तला खेतीमार्फत किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताए। फलफूल खेतीको माध्यमबाट किसानको आयस्तर सुधार गर्ने लक्ष्यले भूगोलअनुसार फलफूल खेतीमा जोड दिएको उनको भनाइ छ।
‘स्थानीय उत्पादन बढाउँदै किसानको आयस्तर उकास्ने हाम्रो उद्देश्य हो। फलफूल खेतीलाई अझ व्यवस्थित र व्यावसायिक बनाउँदै लैजाने योजना बनाएका छौँ’, अध्यक्ष राईले भने। स्थानीय तहको सहयोग, उपयुक्त हावापानी र बजारको पहुँचका कारण लुंगिन क्षेत्र सुन्तला उत्पादनको उदीयमान केन्द्रका रूपमा विकास हुँदै गएको छ।