काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयले आजदेखि देशैभर दोस्रो आर्थिक गणना सुरु गरेको छ। स्थलगत रूपमा तथ्यांक संकलनका लागि खटिएका सुपरिवेक्षकलाई दुइ महिनाको समय सीमा निर्धारण गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार तथ्यांक संकलन गर्न पाँच हजार जनशक्ति परिचालन गरिएका छन् भने गणनाका लागि ८४ कार्यालय स्थापना गरिएका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले भिडियो सन्देश जारी गर्दै, समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्यांक संकलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेका छन् ।
स्थलगत रूपमा खटिएका सुपरिवेक्षकले उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन गर्नेछन्। ठूला साना व्यापारिक प्रतिष्ठान्, रोजगारीमा उल्लेखीय योगदान दिएका प्रतिष्ठान्, उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, सरकारी, गैरसरकारी सङ्घ संस्था, संस्थान, सरकारी विद्यालय, सामुदायीक विद्यालय निजी विद्यालय, सबै प्रकारका अस्पताललगायतको गणना गरिनेछ।
नेपालमा २०७५ सालदेखि राष्ट्रिय आर्थिक गणना गर्न थालिएको हो। सात वर्षपछि पुनः गणना सुरू हुँदै छ। पहिलो राष्ट्रिय आर्थिक गणनामा नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसायको तथ्याङ्क संकलन गरिएको थियो।