काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र अनुशासन समितिका बैठक बस्दै छन्। केन्द्रीय कार्यसम्पादन समिति बैठक दिउँसो २ बजे र अनुशासन समिति बैठक ११ बजेदेखि सानेपामा मुख्यालयमा सुरु हुँदै छ।
आजको बैठकमा विषय नखुलाइए पनि कांग्रेसले आज नै प्रतिनिधिसभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने बताएको छ। त्यसबारे पनि छलफल हुनेछ।
यस्तै १५औं महाधिवेशन तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि बैठकमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
कांग्रेस अनुशासन समिति बैठकले पार्टीको लेटरप्याडमा अनधिकृत रूपमा कार्यवाहक सभापति लेखेर पूर्वसभापति शेरबहादुर देउवा कार्यकालको हैसियत दुरुपयोग गरिरहेका पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गरिरहेको विषयमा पनि बैठकमा छलफल हुनेछ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अनुशासन समितिको चेतावनीका बाबजुद पुनः पदको दुरुपयोग गरेको भन्दै समितिले कारबाहीको प्रक्रिया अघि बढाउने तयारी छ।
केन्द्रीय सदस्य तारामान गुरुङ संयोजक र केन्द्रीय सदस्यहरू धना खतिवडा र सुवास पोखरेल सदस्य रहेको समिति बैठकको एजेन्डा निवर्तमान कार्यवाहक सभापति खड्काले पार्टीको लेटरप्याडमा कार्यवाहक सभापति लेखेर सोमबार विज्ञप्ति जारी गरेको विषय पनि एजेन्डा रहेको छ।
खड्काले यसअघि चैत १४ गते कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएका थिए ।
चैत १७ गते कार्यवाहक सभापतिकै हैसियतमा उनले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएका थिए।
त्यसपछि केन्द्रीय अनुशासन समितिको चैत १८ गते बसेको बैठकले खड्कालाई पार्टीको नक्कली लेटरप्याड प्रयोग गर्दै कार्यवाहक सभापतिको हैसियतमा अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएको भन्दै सचेत गराउने निर्णय गरेको थियो।
चेतावनीलाई चुनौती दिँदै खड्काले सोमबार फेरि पहिलेजस्तै कार्यवाहक सभापतिकै हैसियतमा पार्टीको लेटरप्याड प्रयोग गरेर विज्ञप्ति जारी गरेपछि अनुशासन समिति बैठक बोलाइएको हो।