काठमाडौं। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा योजनामाथि छलफल सुरु गरेको छ। मन्त्रालयको बजेट महाशाखाले राष्ट्रिय स्रोत अनुमान समितिले दिएको आगामी बजेट तथा योजनामाथि छलफल सुरु गरेको हो। महाशाखाले मन्त्रालयगत बजेट र योजनामाथि छलफल गरिरहेको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले अहिले बजेट महाशाखामा बजेट र योजनामाथि छलफल कार्य चलिरहेकाले बजेट लेखन कार्य अघि नबढेको बताए। अहिले बजेट लेख्नका लागि विभिन्न निकायबाट सूचना संकलन कार्य भइरहेको प्रवक्ता पाण्डेयको भनाइ छ।
प्रवक्ता पाण्डेयले भने, ‘बजेट लेख्न आवश्यक किसिमका सूचना, तथ्य, तथ्यांक संकलन बजेट समितिले आफ्नो काम गरिरहेको छ।मन्त्रालयहरुकाे बजेट र योजना सिलिङका विषयमा बजेट महाशाखाले छलफल गरिरहेको छ।’
सरकारले आगामी आर्थिक वर्षका लागि १८ अर्ब ९० अर्ब ४४ करोड रुपैयाँको बजेट ल्याउने अनुमान छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार प्रत्येक मन्त्रालयले प्राप्त बजेट सीमा र मार्गदर्शनको अधीनमा रही आफ्नो मातहतका निकायको नीति, कार्यक्रम र बजेट प्रस्ताव तयार गरी समयसीमाभित्र राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पेस गर्नुपर्ने व्यवस्था छ।
मन्त्रालयले आगामी आर्थिक वर्षका लागि राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। समिति सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा.सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमख डा.धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहेका छन्।