काठमाडौँ । नेपालमा फाईभजी सुरु गर्न फोरजी पूर्वाधार आवश्यक रहेको सम्बद्ध अधिकारीहरुले बताएका छन्। प्रविधि पत्रकार मञ्च टीजेएफ र हुवावे नेपालले संयुक्त रुपमा आयोजना गरेको टेक फर्वार्ड मिडिया डायलग कार्यक्रममा विज्ञहरुले यस्तो बताएका हुन्।
नेपालमा मोबाइल इन्टरनेटको पाँचौ पुस्ता फाइभजी सञ्ञालनको सम्भावना चुनौती र आवश्यकताको विषयमा छलफल भएको थियो। फाइभजी शुरु गर्न फोरजीको पूर्वाधार विस्तार किन महत्वपूर्ण छ भन्ने चर्चा भयो । नेपालजस्ता देशमा तुरुन्तै स्ट्यान्ड–अलोन फाइभजी पूर्वधार विकास गर्न लगानी, भौगोलिक जटिलताजस्ता कारणले कठीनाइ हुने औँल्याउँदै विज्ञहरूले नन–स्ट्यान्ड अलोन प्रविधि विकल्प हुने उल्लेख गरे ।
कार्यक्रममा एआई, डेटा सेन्टर, फाइभजी, नविकरणीय ऊर्जा, मोबाइल ब्रोडब्यान्डजस्ता विषयमा प्रस्तुतीकरण तथा संवाद गरिएको थियो । हुवावे इन्टरप्राइजेजका निर्देशक प्रदीप पन्हुरले ‘एआई ट्रेन्ड्स एन्ड इन्टरप्राइज सोलुसन्स’ विषयमा प्रस्तुतीकरण गर्दै व्यावसायिक क्षेत्रमा एआई प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गरे । एआईको प्रयोगले उत्पादकत्व वृद्धि, लागत व्यवस्थापन र निर्णय प्रक्रियामा सुधार ल्याउने बताए ।
फरक प्रसंगमा डेटा सेन्टर विज्ञ रोहितचन्द्र शाहले ‘नेक्स्ट जेन डेटा सेन्टर सोलुसन फर एक्सिलरेटिङ डिजिटलाइजेसन’ विषयमा प्रस्तुतीकरण गरे । उनले डिजिटल अर्थतन्त्रमा डेटा सेन्टरको महत्वबारे चर्चा गरे । बढ्दो डिजिटल डेटा व्यवस्थापनका लागि सुरक्षित, दिगो र उच्च क्षमताका डेटा सेन्टर आवश्यक रहेको बताए ।
सोही क्रममा हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेन केयाङ (चेस्टर) ले नेपालमा प्रविधि क्षेत्रको विकासका लागि आफू उत्साहित रहेको बताए । पर्याप्त दक्ष जनशक्ती भए पनि आईसीटी विकासमा नेपाल छिमेकी देशहरूभन्दा अलि पछाडि रहेको उनले औँल्याए । ‘तर यो अवसर पनि हो किनभने अन्य देशको तुलनामा यहाँ सुधार गर्ने ठाउँ धेरै छन्,’ उनले भने, ‘नेपालमा दूरसञ्चार क्षेत्रको दिगो र अर्गानिक वृद्धिलाई जोड दिनुपर्ने उनको भनाई थियो।
त्यस्तै कार्यक्रममा प्रविधि पत्रकार मञ्च टीजेएफका अध्यक्ष अध्यक्ष पूर्ण दुवालले आजको युगमा प्रविधि र मिडिया एकअर्काका पूरक बनिसकेका बताए । सही सूचना प्रवाह र डिजिटल साक्षरता अभिवृद्धिका लागि प्रविधि पत्रकारिताको भूमिका झनै महत्वपूर्ण बन्दै गएको उनको बुझाई छ।