काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिमा सिंहदरबारमा प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठक सुरु भएको छ। बैठकमा विभिन्न राजनीतिक दल सम्बद्ध समिति सदस्यले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम, सीमामा गरिएको कडाइ, अर्थतन्त्र चलायमान गराउन चालिएका कदमबारे अर्थमन्त्री वाग्लेसँग जिज्ञासा राखेका छन्।
छलफलमा सहभागी सत्तारुढ रास्वपा सांसद विदुषी राणाले नेपालमा उद्योग र उत्पादन क्षेत्रको प्रवर्द्धनका लागि सबैभन्दा पहिले स्वच्छ र सुरक्षित व्यावसायिक वातावरण निर्माण गरिनुपर्ने धारणा व्यक्त गरिन्।सांसद राणाले सीमा क्षेत्रमा कडाइ गरिए पनि नेपालमा अवैध व्यापार झन् बढ्दै गएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराइन्।
उनले भनिन्, ‘अवैध सामान बाहिरबाट मात्र नभई देशभित्रै पनि दर्ताबिनाका उद्योग खोलेर उत्पादन भइरहेका छन्। अवैध व्यवसायले राज्यलाई कर पनि तिर्दैनन्। यसले गर्दा कानुनी प्रक्रिया पूरा गरेर चलेका इमानदार उद्योगी र कर तिर्ने व्यवसायी निरुत्साहित भएका छन्।’
अवैध व्यापार आर्थिक समस्या मात्र नभई देशको व्यावसायिक संस्कृतिमा फैलिएको गम्भीर विकृति भएको उनको भनाइ थियो। यस्तै, उद्योग व्यवसाय अनुगमनका लागि सरकारी निकायबीच समन्वय अभाव रहेको उनले औंल्याइन्।
यसका लागि वाणिज्य, अर्थ, गृह, भन्सार र उद्योग मन्त्रालयका साथै सुरक्षा निकायको सहभागितामा एकद्वार प्रणालीमार्फत प्रभावकारी संयुक्त अनुगमन संयन्त्र’ तत्काल बनाउनुपर्ने उनले बताइन्। अवैध व्यापार रोक्न सके मात्रै स्वदेशी उद्योग बाँच्ने, राज्यको राजस्व बढ्ने र अन्ततः देशको अर्थतन्त्र बलियो हुने राणाले दाबी गरिन्।