म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती सुरु भएको छ। प्रविन कृषि तथा पशुपंक्षी फार्ममार्फत ३० रोपनी खेत र पाखोबारीमा स्याउखेती सुरु गरेको हो। फार्मका सञ्चालक यादव पौडेलले स्याउखेतीको परीक्षण सफल भएपछि व्यावसायिक रूपमा स्याउखेती सुरु गरेको बताए।
छ वर्ष सरकारी जागिर गरेपछि सात वर्ष इराकमा बिताएका उनले बुटवल र काठमाडौँमा केही समय व्यवसाय पनि गरेका थिए। अहिले घर फर्किएर दुई करोड लगानीमा स्याउ फार्म सुरु गरेको उनले बताए। “अहिले स्याउखेती सुरु भएको छ, आगामी दिनमा ५० रोपनीमा विस्तार गर्ने र कृषि पर्यटनको अवधारणा अनुसार ‘होमस्टे’ सञ्चालनको तयारीमा छु”, उनले भने।
गाजने समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा छ। पौडेलका अनुसार भारतको हिमाञ्चलबाट ‘रेड डेलिसियस’, गाला, ‘जोनाप्रिन्स’, ‘चकलेटी’ जातका स्याउका कलमी बिरुवा ल्याएर गत मङ्सिरमा रोपेका थिए। कलमी बिरुवा भएकाले केही बोटमा यसपालीनै फल लागेको छ। गाजने र धवलागिरी गाउँपालिकाको गुर्जामा घरायसी उपभोगका लागि स्याउ उत्पादन भएपनि व्यावसायिक रूपमा भने पहिलो पटक सुरु गरिएको हो।
बगैँचामा झारपात उम्रन नदिनका लागि प्लास्टिकको छापो हालेर ‘मल्चिङ’ गरिएको छ। स्याउ लगाइएको खेतमा यसअघि धान, गहुँ, मकै र बारीमा कोदो खेती हुने गरेको थियो। करिब तीन रोपनी पाखोबारी बाँझो थियो।
चार वर्ष हुलाकमा काम गरेका ५१ वर्षीय पौडेलले रोजगारीका सिलसिलामा करिब छ वर्ष रुकुममा सहायक लेखापालका रूपमा काम गरेका थिए।
“तलबभत्ताले आफू मात्रै पालिने अवस्था आएपछि सहायक लेखापालको स्थायी जागिर छाडेर इराक गएँ। त्यहाँ छ वर्ष काम गरे,” उनले भने। केही समय मासु पसल र केही समय शैक्षिक परामर्श सञ्चालन गरेका उनले २०७७ सालमा रु २५ लाख लगानी गरेर बोयर जातको बाख्रा पालन गरेका थिए। तर अपेक्षाकृत रूपमा सफलता हात नपरेपछि उनले केही समय भेडापालन पनि गरे। पछिल्लो समय पोखरामा रेष्टुरेष्ट व्यवसाय गरिरहेका छोरा प्रविनको योजना अनुसार आफूले स्याउ खेती सुरु गरेको उनको भनाइ छ। उनले स्याउ खेतीका साथै २५ वटा भेडा, दुई वटा भैसी र एउटा गाई पनि पालेका छन् भने एक जनालाई नियमित जागिर पनि दिएका छन्।