कुनै समय उद्यमशीलता भन्नासाथ परम्परागत व्यापार, पारिवारिक व्यवसाय वा सीमित बजारको कल्पना गरिन्थ्यो। तर, आजको नेपालमा नयाँ पुस्ताका उद्यमीहरूले त्यो परिभाषा नै बदलिरहेका छन्। मोबाइल एपमार्फत घर-घरमा खाना पुर्याउने सेवाबाट लिएर सिलिकन भ्यालीका कम्पनीलाई सफ्टवेयर निर्माण गर्ने टेक कम्पनीसम्म, कर्णाली किनारको जंगली प्रकृतिलाई विश्वस्तरीय लक्जरी पर्यटनमा रुपान्तरण गर्ने साहसिक सोचदेखि नास्डाकमा सूचीकृत कृत्रिम बुद्धिमत्ता कम्पनीसम्म। नेपाली युवाहरूले अब अवसर खोज्ने होइन, अवसर सिर्जना गर्ने चरणमा प्रवेश गरेका छन्।
यो फिचरमा हामीले यस्तै नेपालमा सम्भावना भएका व्यवसायबाट आफूलाई स्थापित गरेका र अन्य युवालाई प्रेरणा मिल्न सक्ने पाँच व्यवसायीको सफलताको कथा पस्किँदै छौं।
यी उद्यमीहरूको कथा केवल आर्थिक सफलताको विवरण होइन, दृष्टि, धैर्य, जोखिम उठाउने क्षमता र समयको माग चिन्न सक्ने नेतृत्वको प्रमाण पनि हो। उनीहरूले सीमित पूर्वाधार, सानो बजार, पूँजी अभाव र नीतिगत चुनौतीबीच आफ्ना कम्पनीलाई यस्तो उचाइमा पुर्याएका छन्, जसले नयाँ पुस्तालाई प्रेरणा दिन्छ। क्यापिटल बिजनेस म्यागजिनको यस विशेष कभर स्टोरीमा हामीले नेपालका विभिन्न क्षेत्रमा प्रभाव छाडिरहेका यस्ता युवा उद्यमीको यात्रा, संघर्ष, विस्तार र भविष्यको दृष्टि प्रस्तुत गरेका छौं।
काठमाडौंको व्यस्त जीवनशैलीमा अफिसमै बसेर मन पर्ने खाना मगाएर खाने सामान्य चाहनाबाट सुरु भएको विचार आज नेपालको अग्रणी फुड डेलिभरी प्लेटफर्म बनेको छ। पेसाले सफ्टवेयर डेभलपर मनोहर अधिकारीले सन् २०१० मा स्थापना गरेको फुडमाण्डु अहिले नेपालकै सबैभन्दा लोकप्रिय फुड डेलिभरी ब्रान्ड बनेको छ। सुरुमा तीन जना कर्मचारीसहित सञ्चालन भएको कम्पनीले आज प्रत्यक्ष रूपमा करिब ५०० जनालाई रोजगारी दिएको छ।
फुडमाण्डुमा ग्राहक सेवा, प्रशासन र मार्केटिङतर्फ १२० कर्मचारी छन् भने करिब ३०० डेलिभरी कर्मचारी कम्पनीबाटै तलब बुझ्छन्। बिहान ८ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने सेवाले प्रतिदिन औसत २ हजार अर्डर व्यवस्थापन गरिरहेको छ। सुरुका दिनमा अधिकांश अर्डर ल्यान्डलाइन फोनमार्फत आउने गर्थे, तर अहिले ९५ प्रतिशतभन्दा बढी अर्डर मोबाइल एप र डिजिटल माध्यमबाट आउने गरेका छन्। काठमाडौं उपत्यकासँगै पोखरा, चितवन र बुटवलसम्म सेवा विस्तार गरिसकेको फुडमाण्डुले १,५०० भन्दा बढी रेस्टुरेन्टसँग साझेदारी गरिरहेको छ।
फुडमाण्डुको वृद्धि केवल सेवा विस्तारमा सीमित छैन, लगानीकर्ताको विश्वासले पनि यसको सम्भावना प्रमाणित गरेको छ। सन् २०१६, २०२० र २०२३ मा विभिन्न लगानीकर्ताबाट पूँजी भित्र्याएको कम्पनीमा सन् २०२३ मा डोल्मा इम्प्याक्ट फन्डले करिब ४६ करोड रुपैयाँ लगानी गरेको थियो। संस्थापक अधिकारीका अनुसार अब नयाँ सेवा थप्नेभन्दा विद्यमान सेवालाई अझ प्रभावकारी बनाउने रणनीतिमा कम्पनी केन्द्रित छ।
अहिले काठमाडौं उपत्यकाभित्र जति नि रेस्टुरेन्ट सञ्चालनमा आएका छन्, तीमध्ये अधिकाशंले फडमाण्डुसँग जोडिएकै हुन्छन्।
‘विस्तारै उपत्यका बाहिरका ठूला सहरमा सेवा विस्तार गरिरहेका छौं,’ संस्थापक अधिकारीले भने, ‘नयाँ सेवा थप्नेभन्दा दिइरहेका सेवालाई नै प्रभावकारी बनाउने काममा फोकस भइरहेका छौं।’ बढ्दो प्रविधि प्रयोग र राइड सेयरिङ प्रतिस्पर्धाका बीचमा केही चुनौती पनि बेलाबेला थपिने भएकोले निगरानी र नियमनका लागि आवश्यक सफ्टवेयरसमेत निर्माण गर्न लागिरहेको उनले बताए।
अहिले काठमाडौं उपत्यकाभित्र जति नि रेस्टुरेन्ट सञ्चालनमा आएका छन्, तीमध्ये अधिकाशंले फडमाण्डुसँग जोडिएकै हुन्छन्। रेस्टुरेन्ट र फुडमाण्डु पर्यायवाची शब्दजस्तै बनिसकेको तुफानी पिज्जाका सञ्चालक माधवकुमार नेपालको भनाइ छ। ‘रेस्टुरेन्टका ३० देखि ४० प्रतिशत ग्राहक नै फुडमाण्डुमार्फत जोडिएका हुन्छन्,’ सञ्चालक नेपालले भने, ‘नाफा धेरै नभए पनि सञ्चालन खर्च धान्न फुडमाण्डुले ठूलो सहयोग पुर्याएको छ।’
...
नेपालको सूचना प्रविधि उद्योगलाई अन्तर्राष्ट्रिय नक्सामा चिनाउने कम्पनीमध्ये लिपफ्रग टेक्नोलोजी अग्रपंक्तिमा पर्छ। सन् २०१० मा स्थापना भएको कम्पनीले आज नेपाललाई मुख्य आधार बनाएर अमेरिका, भारत र श्रीलंकासम्म आफ्नो सेवा विस्तार गरेको छ। कम्पनीका संस्थापक तथा अध्यक्ष हिमाल कर्माचार्यका अनुसार लिपफ्रगले हालसम्म २५० भन्दा बढी उत्पादन विकासमा महत्वपूर्ण भूमिका खेलेको छ।

कम्पनीमा करिब ४५० जनाले काम गरिरहेका छन् भने प्रत्यक्ष रूपमा ५०० भन्दा बढीलाई रोजगारी दिएको छ। विज्ञ इन्जिनियर, अनुभवी डिजाइनर र विश्वस्तरीय कार्यप्रणालीका कारण कम्पनीले अन्तर्राष्ट्रिय बजारमा बलियो उपस्थिति बनाएको छ। लिपफ्रगका अधिकांश ग्राहक सिलिकन भ्यालीमा रहेका कारण कम्पनीको कार्यसंस्कृति पनि त्यही स्तरअनुसार सञ्चालन हुने कर्माचार्य बताउँछन्।
कर्माचार्यको उद्यम यात्रा भने सीधै सफलताको रेखामा चलेको थिएन। उनले कुमारी बैंकका लागि मोबाइल बैंकिङ सेवा ‘कुमारी क्यास’ निर्माण गरेर नेपालमै सफ्टवेयर क्षेत्रमा प्रवेश गरेका थिए। तर, त्यतिबेला प्रविधि प्रयोग सीमित भएकाले अपेक्षित सफलता मिलेन। त्यसपछि अमेरिका गएर वित्तीय प्रविधिसम्बन्धी सफ्टवेयर क्षेत्रमा काम थाले र त्यही अनुभवलाई विस्तार गर्दै लिपफ्रग निर्माण गरे। स्याङ्जामा जन्मिएका कर्माचार्यले बूढानीलकण्ठ स्कुल र अमेरिकाको एमआईटी कलेजमा अध्ययन गरेका हुन्।
विश्व बजारमा एआईको माग तीव्र रूपमा बढिरहेको बेला लिपफ्रगले पनि नयाँ उत्पादन र सेवा यही क्षेत्रमा विकास गरिरहेको छ।
अब कम्पनीको ध्यान कृत्रिम बुद्धिमत्ता (एआई) मा केन्द्रित छ। विश्व बजारमा एआईको माग तीव्र रूपमा बढिरहेको बेला लिपफ्रगले पनि नयाँ उत्पादन र सेवा यही क्षेत्रमा विकास गरिरहेको छ। कर्मचार्य भन्छन्, ‘मेरो प्राथमिकता नेपालमै कम्पनीलाई अझ ठूलो बनाउने र धेरैभन्दा धेरैलाई रोजगारी दिने हो।’
यो कम्पनीले माइक्रोसफ्ट, जेरोक्स, कनेक्ट आरएन, लाउडियो, फिल, भिरोजीलगायतका ठूला स्टार्टअपका लागि सफ्टवेयर निर्माण गरिसकेको छ। अहिले श्रीलंका र भारतको बजारबाट पनि सफ्टवेयरको ठूलो डिमान्ड रहेकाले एआई केन्द्रित काम अगाडि बढाएको उनले बताए।
...
बर्दियाको जंगली वातावरणले मोहित बनाएको एक युवतीले त्यही अनुभूतिलाई विश्वस्तरीय पर्यटन ब्रान्डमा रुपान्तरण गरिन्। हाइड्रोपावर इन्जिनियरिङ अध्ययन गरेकी, जापानमा सिभिल इन्जिनियरिङ क्षेत्रमा काम गरेकी र पछि नेपालमै एमबीए गरेकी उद्यमी प्रभा गौतमले स्थापित करियर छाडेर नयाँ बाटो रोजिन्। जलविद्युत् कम्पनीमा बिजनेस डेभलपमेन्टको काम छाडेर उनले ट्राभल व्यवसाय सुरु गरिन्, जहाँ महँगा र लक्जरी पर्यटन प्याकेजमार्फत अमेरिकी र भारतीय उच्च आय वर्गलाई नेपाल ल्याइन्।

पछि आफ्ना भाइ मनोज गौतमसँग मिलेर उनले बर्दियामा ‘बुर्हान वाइल्डनेस क्याम्प’ सुरु गरिन्। वन्यजन्तु संरक्षण र वातावरणमैत्री पर्यटनलाई केन्द्रमा राखेर सञ्चालन गरिएको यो परियोजना पूर्ण रूपमा फरक अवधारणामा आधारित छ-शून्य कंक्रिट, शून्य फोहोर, रिसाइकल पानी, पाहुना आएपछि मात्र टेन्ट लगाइने व्यवस्था, स्थानीय खानाको सत्कार र प्राकृतिक वातावरण संरक्षण।
कर्णाली नदीका दुई किनारमा फैलिएको बुर्हानले आगन्तुकलाई जंगल पदयात्रा, क्यानोइङ, वन्यजन्तु ट्रेकिङ र स्थानीय थारु संस्कृतिको अनुभव गराउँछ। यहाँ जंगली हात्ती, एकसिंगे गैंडा, बाघ, घोरल मृग, दुर्लभ पक्षी र बर्खायाममा डल्फिनसमेत देख्न पाइन्छ। सौर्य ऊर्जामा चल्ने लक्जरी ट्री-हाउस, अफग्रिड सुविधा र विलासी अनुभवका कारण बुर्हानले नेपाली पर्यटनमा नयाँ मानक स्थापित गरेको छ।
यसको अन्तर्राष्ट्रिय पहिचान सन् २०२४ मा थप उचाइमा पुग्यो, जब विश्वप्रसिद्ध टाइम पत्रिकाले बुर्हान वाइल्डनेस क्याम्पलाई भ्रमण गर्नैपर्ने विश्वका १०० गन्तव्य सूचीमा समावेश गर्यो। यो केवल एक होटलको सफलता होइन, प्रकृति संरक्षण र उद्यमशीलताको सफल संयोजन हो।
लगानी हिसाबमा अहिलेसम्म कति भयो भन्ने यकिन नभए पनि नेपालका धेरै ठाउँमा यो खाले टेन्ट राखेर वाइल्डलाइफ पर्यटनमा रुचि राख्ने पर्यटकलाई नेपालमा आकर्षित गर्न सकिने उनको बुझाइ छ।
टेन्ट क्याम्पमार्फत पर्यटकलाई सेवा दिँदै आए पनि सरकारी स्तरबाट भने कुनै पनि मान्यता नपाएको उनको गुनासो छ।
उनका अनुसार पछिल्लो समय क्याम्पिङप्रति युवा पुस्ताको आकर्षण बढ्दो छ, तर गुणस्तरीय सेवा र व्यवस्थापन अभावले अनुभव बिग्रने खतरा पनि उत्तिकै छ। ‘हामीले स्थानीय स्रोत र जनशक्तिलाई अधिकतम उपयोग गर्दै पर्यावरणमैत्री अभ्यास अपनाएका छौं,’ गौतम थप्छिन्, ‘प्राकृतिक सौन्दर्य जोगाउँदै पर्यटन विकास गर्नु नै दिगो उपाय हो भन्ने हाम्रो विश्वास हो।’
टेन्ट क्याम्पमार्फत पर्यटकलाई सेवा दिँदै आए पनि सरकारी स्तरबाट भने कुनै पनि मान्यता नपाएको उनको गुनासो छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागमा दर्ताका लागि जाँदा होटल वा रिसोर्ट के भनेर मान्यता दिने भन्ने विषय नै अन्योलमा रहेको गौतमले बताइन्। ‘सरकारको मापदण्डअनुसार कंक्रिट संरचना हुनुपर्ने हो? हाम्रोमा टेन्ट क्याम्प मात्र रहन्छ,’ सञ्चालिका गौतमले भनिन्, ‘अहिले विभागका अधिकारी नै अन्योलमा परिरहेका छन्।’
नेपालमा टेन्ट क्याम्प राखेर विदेशी एवं स्वदेशी पर्यटकलाई आकर्षण गर्न सकिने धेरै क्षेत्र रहेको बताउँदै त्यसका लागि सरकारले सहज रूपमा जग्गा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ। खासगरी संरक्षित क्षेत्रभित्र निश्चित अवधिका लागि सरकारले जग्गा भाडामा उपलब्ध गराउने हो भने धेरै रोजगारी सिर्जना हुनुका साथै पर्यटक संख्यासमेत अहिलेको भन्दै धेरै बढ्न सक्ने उनको अनुमान छ। अहिले काठमाडौं नजिकैका केही क्षेत्रमा टेन्ट क्याम्पकै रूपमा सेवा विस्तार गर्ने योजना बनाएको उनले बताइन।
...
कृत्रिम बुद्धिमत्ताको विश्वव्यापी प्रतिस्पर्धामा नेपाली उद्यमीको उपस्थिति प्रमाणित गर्ने कम्पनी हो-फ्युज मेसिन्स इंक। नेपाली उद्यमीहरूको लगानी रहेको यो कम्पनी अमेरिकाको प्रतिष्ठित नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली लगानीसम्बन्धी कम्पनी बनेको छ। न्युयोर्क मुख्यालय रहेको कम्पनीका मुख्य लगानीकर्तामा डा.समीर मास्के, अनिस जोशी, प्राग श्रेष्ठसहित केही विदेशी लगानीकर्ता छन्। कम्पनीमा झन्डै ४०० कर्मचारी कार्यरत छन्।
काठमाडौंमा जन्मिएका र कोलम्बिया विश्वविद्यालयका एसोसिएट प्रोफेसरसमेत रहेका डा. समीर मास्केले सन् २०१३ मा कम्पनी स्थापना गरेका हुन्। उनका अनुसार फ्युज मेसिन्सको उद्देश्य एआईलाई लोकतान्त्रिक बनाउनु, विश्वभर प्रतिभा र अवसरबीचको दूरी घटाउनु तथा संस्थाहरूलाई बौद्धिक स्वचालनको युगमा सक्षम बनाउनु हो। कम्पनीले स्वास्थ्य सेवा, वित्त, खुद्रा व्यापार, उत्पादन र सरकारी क्षेत्रमा एआई सेवा उपलब्ध गराउँदै आएको छ।

उत्तर अमेरिका, एसिया-नेपाल र डोमिनिक रिपब्लिकसहित ल्याटिन अमेरिकामा कार्यालय विस्तार गरेको फ्युज मेसिन्स अहिले रणनीतिक साझेदारी र अधिग्रहण अवसरमार्फत थप बजार विस्तारको तयारीमा छ। डा. मास्केका शब्दमा, ‘प्रविधि निरन्तर बदलिँदैछ र अहिलेको केन्द्र एआई हो। हामी विश्वसनीय र प्रभावकारी एआई समाधान निर्माणमै केन्द्रित छौं’।
...
नेपालमा संविधान जारी भएपछि भारतले लामो समय नाकाबन्दी लगायो। नाकाबन्दीका बेला दैनिक उपभोग्य सामानदेखि इन्धनको चरम अभाव भयो। इन्धन अभावपछि सवारी साधन सञ्चालनमा निकै मुस्किल हुन थालेको थियो। जोरबिजोर प्रणालीमा यातायात सेवा सञ्चालन भए पनि पर्याप्त मात्रामा सार्वजनिक यातायात सञ्चालन हुन सकेको थिएन। त्यही बेला एकअर्र्कालाई सहयोग गर्ने मानवीय भावनाअनुसार लिफ्ट दिने प्रचलन सुरु भयो।
आफ्नो यात्राको क्षेत्रमा पर्नेहरूलाई सवारीसाधनमा लिफ्ट दिएर सहयोग गर्ने क्रम चलिरहँदा काठमाडौंकै एक निजी कम्पनीमा काम गरिरहेका असिमान बस्न्यातको दिमागमा राइड सेयरिङ कम्पनी सञ्चालनको आइडिया फुर्यो। हुन त, त्यो बेलासम्म अहिलेजस्तो इन्टरनेटको प्रविधि बढ्दो थिएन। तैपनि काठमाडौंभित्र भने इन्टरनेटको पहुँच राम्रोसँग बढिरहेको र विदेशमा राइड सेयरिङको बढ्दो प्रयोगबारे उनले जानकारी पाइसकेका थिए। उनले त्यही नाकाबन्दीमा गरेको लिफ्टबाट सेवा दिएको विषयलाई नै बिजनेसमा ढाले।
युवालाई आम्दानीको मुख्य स्रोत बनेको पठाओले क्रमशः आफ्नो सेवा विस्तार गर्दै फुडदेखि पार्सल डेलिभरीसम्मको काम गरिरहेको छ।
काठमाडौं उपत्यकाभित्रको सार्वजनिक यातायातको चरम लापर्वाहीबाट दिक्कवाक्क भएकालाई ध्यानमा राखेर उनले सन् २०१८ को २५ सेप्टेम्बरबाट पठाओको सेवा सञ्चालनमा ल्याए। अमेरिकामा २०१५ बाट सुरु भएको पठाओ बंगलादेशबाट नेपाल प्रवेश गरेको हो।
सुरुमा ५० जना राइडरबाट सुरु गरेको पठाओमा अहिले १ लाख ५० हजारभन्दा बढी राइडर आबद्ध छन्। त्यसमध्ये १० हजार भन्दा बढी ट्याक्सी रहेको छ। युवालाई आम्दानीको मुख्य स्रोत बनेको पठाओले क्रमशः आफ्नो सेवा विस्तार गर्दै फुडदेखि पार्सल डेलिभरीसम्मको काम गरिरहेको छ।
हुन त, पठाओअघि नेपालमा नेपाली युवा व्यवसायी शिक्षित भट्टले राइड सेयरिङ कम्पनी टुटल सञ्चालनमा ल्याएका थिए। तर, तुलनात्मक रूपमा राम्रोसँग सञ्चालनमा आउन सकेन र धेरैको नजरमा समेत पर्न सकेन। जब पठाओले नेपालमा उपस्थिति जनायो, राइड सेयरिङ क्षेत्रमा क्रान्ति नै भएको भन्दा फरक पर्दैन।

बढ्दो प्रविधिलाई प्रयोग गर्दै युवालाई स्वरोजगार बनाउने पठाओको एप ५० लाखभन्दा बढी डाउनलोड गरिएको छ। योसँगै हालसम्म १ करोडभन्दा बढी यात्रुलाई सेवा दिइसकेको पठाओले आफू नेपालको १ नम्बर राइड सेयरिङ कम्पनी भएको दाबी गरेको छ।
पठाओको सफलता केवल सेवामा सीमित छैन, यसले रोजगारी सिर्जनामा पनि उल्लेखनीय योगदान दिएको छ। हजारौं युवाहरूले आफ्नो मोटरसाइकल वा कार प्रयोग गरेर आम्दानी गर्ने अवसर पाएका छन्। धेरैका लागि यो मुख्य पेसा बनेको छ भने कतिपयका लागि अतिरिक्त आम्दानीको स्रोत। विशेषगरी बेरोजगारी समस्या झेलिरहेको नेपाली समाजमा यस्तो प्लेटफर्मले आर्थिक गतिविधि बढाउन सहयोग पुर्याएको छ। बस्न्यात भन्छन्, ‘हामीले केवल सवारी सेवा मात्र दिएका छैनौं, मानिसलाई कमाउने अवसर पनि दिएका छौँ।’
यद्यपि, पठाओको यात्रा सहज मात्रै थिएन। नेपालमा राइड सेयरिङ सेवा सञ्चालनको कानुनी र नीतिगत पक्ष लामो समयसम्म अस्पष्ट रह्यो। यातायात व्यवसायीको विरोध, नियामक निकायको अनिश्चितता र सुरक्षासम्बन्धी चिन्ता कम्पनीका लागि चुनौती बने। तर, प्रयोगकर्ताको बढ्दो माग र सेवाको उपयोगिताले यी चुनौतीलाई क्रमशः कमजोर बनायो। डिजिटल सेवाप्रति सरकारको दृष्टिकोण पनि विस्तारै सकारात्मक बन्दै गयो।
पठाओको विकासले नेपाली समाजमा प्रविधि र जीवनशैलीबीचको सम्बन्धलाई पनि बलियो बनाएको छ।
सेवा विस्तारका क्रममा पठाओ काठमाडौं उपत्यकाबाट बाहिर पनि फैलिइएको छ। चितवन, पोखरा, बुटवलगायत अन्य सहरमा सेवा सुरु गर्दै कम्पनीले आफ्नो पहुँच बढायो।
पठाओको विकासले नेपाली समाजमा प्रविधि र जीवनशैलीबीचको सम्बन्धलाई पनि बलियो बनाएको छ। आज मानिस दैनिक जीवनका धेरै काम मोबाइल एपमार्फत गर्न अभ्यस्त भइरहेका छन्। यातायात, खाना, किनमेल। सबै कुरा डिजिटल माध्यमबाट सम्भव हुँदै गएको छ। यस परिवर्तनमा पठाओजस्ता कम्पनीहरूको भूमिका महत्वपूर्ण छ।
बस्न्यातको अनुभव र दृष्टिकोणले स्पष्ट पार्छ कि कुनै पनि ठूलो परिवर्तन सधैं सानो अनुभवबाट सुरु हुन्छ। ‘नाकाबन्दीका बेला दिएको एउटा लिफ्ट आजको ठूलो व्यावसायिक मोडल बन्न सक्छ भन्ने सोच त्यो बेला कसैले गरेको थिएन,’ उनी भन्छन्। यही सोचले देखाउँछ कि संकटभित्रै सम्भावना लुकेको हुन्छ, जसलाई सही समयमा पहिचान गर्न सकियो भने त्यसले नयाँ इतिहास रचना गर्न सक्छ।
यी पाँच कथा फरक क्षेत्रका हुन् तर साझा सूत्र एउटै छ-दृष्टि, साहस र विश्वस्तरीय सोच। खाना डेलिभरीदेखि सफ्टवेयर, प्रकृति पर्यटनदेखि एआईसम्म नेपाली युवा उद्यमीले अब सानो सीमामा होइन, ठूलो क्यानभासमा काम गरिरहेका छन्।