काठमाडौं। महालेखा परीक्षकको कार्यालयले कमर्सियल सेग्मेन्टका विद्युतीय सवारी साधन (ईभी) आयातमा सिट संख्या र वर्गीकरणको आधारमा भन्सार कार्यालयले गलत शीर्षक प्रयोग गर्दा ठूलो परिमाणमा राजस्व छुट दिएको औँल्याएको छ।
महालेखाले सार्वजनिक गरेको ६३ औँ प्रतिवेदनअनुसार तातोपानी, रसुवा र वीरगन्ज भन्सार कार्यालयबाट जाँचपास भएका विभिन्न कमर्सियल ईभीमा माइक्रोबस र मिनीबसको वर्गीकरणमा त्रुटि हुँदा करोडौंको कर छुट दिएको औँल्याएको हो।
महालेखाको ६३औँ वार्षिक प्रतिवेदनअनुसार भन्सार कार्यालयले अतिरिक्त तथा फोल्डिङ सिटलाई गणना नगरी ११ सिटका रुपमा जाँचपास गरेका कतिपय सवारी वास्तविक रूपमा ९ सिट क्षमताका देखिएका छन्। यसअघि सोही मोडलका सवारी ९ सिट कायम गरी जाँचपास भइसकेको अवस्थामा पनि पुनः माइक्रोबस शीर्षकमा वर्गीकरण गरेर महसुल छुट दिइएको प्रतिवेदनमा उल्लेख छ।
तातोपानी भन्सारबाट विभिन्न आयातकर्ताले ल्याएका ईभीलाई ‘विद्युतीय माइक्रोबस’ शीर्षक ८७०२.४०.३० अन्तर्गत जाँचपास गर्दा मात्रै ३१ करोड ७४ लाख २९ हजार रुपैयाँ राजस्व छुट भएको महालेखाको भनाइ छ।
चालू आर्थिक वर्षमै पनि त्यही मोडलका १०४ वटा सवारी माइक्रोबसमा वर्गीकरण गरी धरौटीमा जाँचपास भएको र २८३ थान सवारी माइक्रोबस शीर्षकअन्तर्गत नै आयात भएको प्रतिवेदनमा उल्लेख छ।
वीरगन्ज भन्सारबाट ट्राभलर मोडलको सवारीमा अतिरिक्त सिट गणना गरेर माइक्रोबसमा वर्गीकरण गर्दा १ करोड १४ लाख ६२ हजार रुपैयाँ र रसुवा भन्सारबाट केवाईसी भी-५ मोडलमा १५ करोड २४ लाख १३ हजार रुपैयाँ गरी कुल ४८ करोड १३ लाख ४ हजार रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनले जनाएको छ।
कुन कुन ब्रान्डमा कति बेरुजु देखियो?
फोटोन
तातोपानी भन्सारबाट एक आयातकर्ताले ८५ किलोवाट पिक मोटर पावर भएको २०६ थान ‘फोटोन’ विद्युतीय प्यासेन्जर भ्यानलाई १५ सिट उल्लेख गरी मिनीबसमार्फत जाँचपास गराएको पाइएको छ। तर, सोही मोडलका सवारी अघिल्लो वर्ष १४ सिटका आधारमा माइक्रोबस शीर्षकमा जाँचपास भएका थिए। चालू आर्थिक वर्षमै पनि त्यही मोडलका १०४ वटा सवारी माइक्रोबसमा वर्गीकरण गरी धरौटीमा जाँचपास भएको र २८३ थान सवारी माइक्रोबस शीर्षकअन्तर्गत नै आयात भएको प्रतिवेदनमा उल्लेख छ।
‘तातोपानी भन्सार कार्यालयबाट एक पैठारीकर्ताले ८५ किलोवाट पिक मोटर पावर (पीएमपी) र ५३.५८ किलोवाट ब्याट्री प्रति सवारी १७.९४ देखि २०.६२ घनमीटर आयतन र कुल वजन १ हजार ९८० किलोग्रामदेखि २ हजार ८० रहेको २०६ थान विद्युतीय प्यासेन्जर भ्यान (फोटोन) पैठारी गरेकोमा उक्त भ्यानमा १५ सिट रहेको उल्लेख गरी मिनीबसमा वर्गीकरण गरी जाँचपास गरेको पाइयो। सोही पैठारीकर्ताले गत वर्ष एक विदेशी परियोजनाका लागि सोही मोडेलका सवारी साधन पैठारी गर्दा १४ सिट रहेको आधारमा माइक्रोबस शीर्षक अन्तर्गत जाँचपास भएको छ।
त्यस्तै यस आर्थिक वर्षमा सोही मोडलका सवारीलाई बीजकमा १५ सिट उल्लेख भए तापनि कार्यालयले १०४ वटा सवारी साधनलाई माइक्रोबसमा वर्गीकरण गरी धरौटीमा जाँचपास गरेको, सोही पैठारीकर्ताले सोही मोडलको २८३ थान सवारी साधनलाई माइक्रोबस शीर्षकमा नै वर्गीकरण गरी जाँचपास गरेको समेत हुँदा मिनीबसमा वर्गीकरण भएको २०६ थान सवारी साधनमा छुट भएको महसुल तथा कर ६ करोड ७१ लाख ३९ हजार तथा रसुवा भन्सार कार्यालयको ९२ लाख १९ हजारसमेत ७ करोड ६३ लाख ५८ हजार यकिन गरी असुल गर्नुपर्दछ।’ महालेखाले ६३ औं प्रतिवेदनमा उल्लेख गरेको छ।
जोयलङ ब्राण्ड
प्रतिवेदनमा जोयलङ ब्राण्डको २ थान मिनीबस ईए४ माइक्रोबसअन्तर्गत वर्गीकरण गरी जाँचपास भइसकेको अवस्थामा सोही मोडल मिनीबसमा समेत जाँचपास भएको उल्लेख गरेको छ।
सवारी साधनमा नियमावलीको मापदण्डबमोजिम मिनीबसको आन्तरिक उचाइलगायत निर्धारित स्तरबमोजिम सिट र संकटकालीन निकासको व्यवस्था रहेको पुष्टि नरहेको र सवारी साधनमा यात्रु चढ्न र ओर्लन प्रयोग गर्ने ढोकानिर राखिएको अतिरिक्त वा अन्य फोल्डिङ सिट रहेनरहेको खुलासा नगरेको र सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम १८ (१) (घ) तोकिएको आधारबमोजिम रहेको प्राविधिक पुष्ट्याइँ नरहेको हुँदा ती सवारीलाई माइक्रोबसको शीर्षक ८७०२.४०.३० मा हुने वर्गीकरणअनुसार छुट हुने महसुल रकम जम्मा २ करोड ५८ लाख ४४ हजार छानबिन गरी असुल गर्नुपर्ने महालेखाले औँल्याएको छ।
कतिपय सवारी माइक्रोबसअन्तर्गत जाँचपास भइसकेपछि सोही मोडल फेरि मिनीबस शीर्षकमा आयात गरिएको पाइएको महालेखाले जनाएको छ।
त्यस्तै तातोपानी भन्सार कार्यालयबाट आयात गरिएका जोयलङ ब्रान्डका ईए- र ईए-६ मोडलका सवारीमा समेत वर्गीकरण विवाद देखिएको छ। कतिपय सवारी माइक्रोबसअन्तर्गत जाँचपास भइसकेपछि सोही मोडल फेरि मिनीबस शीर्षकमा आयात गरिएको पाइएको महालेखाले जनाएको छ।
नियमावलीअनुसार आवश्यक आन्तरिक उचाइ, सिट मापदण्ड र संकटकालीन निकास पुष्टि नभए पनि ती सवारीलाई मिनीबस मानेर छुट दिइएको उल्लेख छ। जोयलङ र टेलङ ईभी-५ मोडलका सवारीमा मात्रै थप २ करोड ५८ लाख ४३ हजार रुपैयाँ महसुल छुट भएको महालेखाको ठहर छ।
प्रतिवेदनमा भनिएको छ ‘तातोपानी भन्सार कार्यालयबाट विभिन्न पैठारीकर्ताले पैठारी गरेका जोयलङ ईए ५ र ईए ६ तथा टलङ्ग ईभी ५ लाई क्रमशः १७, २० र १६ सिट रहेको भनी भन्सार उपशीर्षक ८७०२.४०.२० बाट मिनीबस शीर्षकमा जाँचपास भएको छ। ‘बीजक तथा वेबपेजमा उक्त सवारी साधनको विशेषता र अधिकतम सिट संख्याको आधारमा १२० किलोवाट ईए ६ मोडलको गाडीमा १२ वा १४ सिट, ईए ५ मोडलको सवारीमा ड्राइभर समेत १४ सिट रहेको देखिन्छ।
साथै टेलङ्ग सवारी साधनको आयतन ३२.५० घनमिटर र तौल १ हजार ७०० केजी रहेकोमा सवारी तथा यातायात व्यवस्था नियमावली बमोजिम मिनीबसमा वर्गीकरण गर्न मिल्ने आधार पेस गरेको छैन। यसबाट ती सवारी साधनको आयतन तथा वजनको न्यूनताले पनि मिनीबसमा वर्गीकरण हुने आधार देखिँदैन। अतः यस सम्बन्धमा छानबिन गरी पैठारी भएका सवारी साधनलाई माइक्रोबसको शीर्षक ८७०२.४०.३० मा हुने वर्गीकरणअनुसार छुट भएको महसुल २ करोड ५८ लाख ४३ हजार निक्र्यौल गरी असुल गर्नुपर्दछ।’
नेपाली बजारमा जोयलङ ब्राण्डका भ्यानहरू भीजी मोटर्स र इनर्जी मोटर्सले आधिकारिक रूपमा बिक्री वितरण गर्दै आएका छन्। भन्सार महसुल ऐन, २०८१ अनुसार सिट संख्या गणना गर्दा नियमित सिट र चालक सिट मात्रै गणना हुने तथा अतिरिक्त र फोल्डिङ सिट गणना नहुने व्यवस्था छ।
यस्तै, सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावलीले मिनीबस र माइक्रोबसका लागि वजन, भित्री उचाइ, सिटको आकार, लेग स्पेस र सङ्कटकालीन निकाससम्बन्धी स्पष्ट मापदण्ड तोकेको छ।