काठमाडौं। जगदम्बा मोटर्सले ६ महिनामै ९ अर्ब बढीको व्यापार गरेको छ। नेपालमा दुई पांग्रे तथा चार पाग्रे सवारी साधनको बजारमा अग्रणी जगदम्बा मोटर्सले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै ९ अर्ब ६ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो।
अटोमोबाइल क्षेत्रमा आएको क्रमिक सुधार र विशेषगरी विद्युतीय सवारी साधन (ईभी) तथा स्मार्टफोनको व्यापार विस्तारले गर्दा कम्पनीको आम्दानीमा वृद्धि देखिएको रेटिङ एजेन्सी इन्फोमेरिक्सले उल्लेख गरेको छ।
गत वर्ष भने कम्पनीले १२ अर्ब ५५ करोड ८० लाख रुपैयाँको कारोबार गरेकोमा छोटो अवधिमै ठूलो फड्को मारेर आफ्नो बजार हिस्सा थप मजबुत बनाएको छ। अघिल्लो वर्ष २०२४ मा कम्पनीले ८ अर्ब ७७ करोड २० लाख र आव २०२३ मा ७ अर्ब ८१ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
कम्पनीको सुधारिएको व्यापारिक पृष्ठभूमिलाई मध्यनजर गर्दै इन्फोमेरिक्सले जगदम्बा मोटर्सले बैंकहरूबाट उपयोग गरिरहेको कुल ५ अर्ब ९७ करोड ९३ लाख रुपैयाँ बराबरको कर्जा सुविधाको साख (रेटिङ) लाई पुनः पुष्टि गरेको छ। एजेन्सीले कम्पनीको १ अर्ब ४९ करोड ३७ लाख रुपैयाँ दीर्घकालीन ऋणका लागि ‘ट्रिपल बी प्लस’ र ४ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ अल्पकालीन ऋणका लागि ‘ए टू’ रेटिङ दिएको छ, जसले बैंकको लगानी सुरक्षित रहेको र कम्पनीसँग ऋण तिर्ने पर्याप्त क्षमता रहेको बुझाउँछ।
सन् २०१० मा सञ्चालनमा आएको जगदम्बा मोटर्स नेपालको प्रतिष्ठित व्यावसायिक घराना शंकर ग्रुपद्वारा प्रवद्र्धित कम्पनी हो। व्यवसायी शाहिल अग्रवालको नेतृत्वमा रहेको यो कम्पनीमा शंकर ग्रुपको वित्तीय आधार र दुई दशक लामो व्यापारिक अनुभव लगानीको रूपमा रहेको छ। कम्पनीले टीभीएस मोटर कम्पनीका दुई पांग्रे र तीन पांग्रे सवारी साधनको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेताको रूपमा काम गर्दै आएको छ। पछिल्लो समय कम्पनीले व्यावसायिक विविधीकरण गर्दै प्रोटोनका कारका साथै ईभी खण्डमा जेएमईभी र चेरी जस्ता स्थापित अन्तर्राष्ट्रिय ब्रान्डहरू भित्र्याएको छ। यति मात्र नभई, कम्पनीले चालू आर्थिक वर्षदेखि जेडटीई (जेडटिइ) ब्रान्डका स्मार्टफोन वितरण सुरु गरेर आफ्नो व्यापारिक दायरालाई अझ फराकिलो बनाएको छ। देशभर फैलिएको १३४ वटा डिलर सञ्जाल र बिक्रीपछिको राम्रो सेवाले गर्दा जगदम्बा मोटर्सले बजारमा आफ्नो आक्रामक उपस्थितिलाई कायम राख्न सफल भएको हो।
कम्पनीको वित्तीय सूचकहरू हेर्दा आन्तरिक व्यवस्थापन निकै सन्तुलित देखिएको छ। कम्पनीको ब्याज तिर्न सक्ने क्षमता बुझाउने इन्ट्रेस्ट कभरेज रेसियो ३.४२ गुणा पुगेको छ। यसको अर्थ कम्पनीले आफ्नो सञ्चालन नाफाबाट बैंकको ब्याज ३ गुणाभन्दा बढी सहजै तिर्न सक्छ भन्ने हो। साथै, कम्पनीको पुँजी र ऋणको सन्तुलन देखाउने ‘ओभरअल गेयरिङ रेसियो’ १.५८ गुणा रहेको छ। यसले कम्पनीमा बैंकको ऋणको तुलनामा प्रवद्र्धकहरूको लगानीको हिस्सा बलियो रहेको र ऋणको भार नियन्त्रणमै रहेको पुष्टि गर्छ। कम्पनीको सञ्चालन नाफाको मापन गर्ने ‘ईबीआईटीडीए मार्जिन’ भने ६.१० प्रतिशत रहेको छ। अघिल्ला वर्षहरूको तुलनामा यो मार्जिनमा केही संकुचन देखिए पनि व्यापारको आकार (भोल्युम) बढ्दै जाँदा समग्र नाफाको अवस्था भने सकारात्मक नै देखिएको छ।
यद्यपि, उच्च व्यापारिक वृद्धिका बावजुद जगदम्बा मोटर्सका सामु केही गम्भीर चुनौती र जोखिमहरू पनि विद्यमान छन्। नेपालको अटोमोबाइल बजारमा बजाज, होन्डा र यामाहा जस्ता स्थापित ब्रान्डहरूसँगको चर्को प्रतिस्पर्धाले कम्पनीको नाफाको मार्जिनलाई निरन्तर दबाबमा पारेको छ। सन् २०२३ मा १० प्रतिशतको हाराहारीमा रहेको सञ्चालन नाफा अहिले घटेर ६ प्रतिशतमा झर्नुले बजारमा देखिएको तीव्र प्रतिस्पर्धालाई झल्काउँछ।
यसका साथै सवारी साधनको माग देशको समग्र आर्थिक अवस्था, बैंकको ब्याजदर र सरकारको आयात नीतिमा हुने फेरबदलप्रति निकै संवेदनशील हुन्छ। कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव र वैदेशिक मुद्राको दरमा आउने परिवर्तनले पनि कम्पनीको लागतलाई प्रभावित पार्न सक्ने जोखिम रहन्छ। तर, शंकर ग्रुप जस्तो अनुभवी प्रवद्र्धक र टीभीएस जस्तो विश्वासिलो ब्रान्डको साथले जगदम्बा मोटर्सले आगामी दिनमा पनि बजारमा आफ्नो नेतृत्वदायी भूमिकालाई सुरक्षित राख्ने देखिन्छ। व्यावसायिक दक्षता अभिवृद्धि गर्दै खर्च कटौती गर्नु र नाफाको मार्जिनलाई सन्तुलनमा राख्नु नै कम्पनीको आगामी दिनको मुख्य कार्यभार हुने रेटिङ प्रतिवेदनले औंल्याएको छ।