काठमाडौं। सरकारले नेपालीको प्रमुख रोजगार गन्तव्य मुलुक साउदी अरबमा अवैध रूपमा बसोबास गरेका नेपाली श्रमिकलाई फाइनल एक्जिट भिसा दिइएपछि कूटनीतिक तवरबाट स्वदेश फर्काउने तयारी गरेको छ। अवैध रूपमा बसेका नेपालीलाई स्वदेश फर्काउनका निम्ति फाइनल एक्जिट भिसामा परेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन नेपाली कूटनीतिक नियोगले गृहकार्य अघि बढाएको हो। यद्यपि साउदी अरबमा अवैध रूपमा कति नेपाली श्रमिक बसोबास गर्दै आएका छन् भन्ने कुनै आधिकारिक तथ्याङ्क सरकारसँग छैन।
युवा, श्रम तथा रोजगार मन्त्रालयले यसरी फाइनल एक्जिट भिसा पाएका नेपाली श्रमिकको विषयमा द्विपक्षीय वार्ता र विभिन्न कूटनीतिक छलफलका क्रममा फाइनल एक्जिट भिसा प्रक्रियालाई सहज बनाउन र सो विषयसँग जोडिएका समस्या समाधान गर्न निरन्तर आवाज उठाइरहेको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले बताए। नेपालको प्रस्तावमा साउदी अरबले सकारात्मक प्रतिक्रिया दिँदै स्वदेश फिर्ती प्रक्रियामा सहयोग गरिरहेको उनले बताए।
मन्त्रालयका अनुसार अवैध रूपमा रहेका नेपाली श्रमिकहरूले एक्जिट भिसा पाएपछि स्वदेश फर्किने गरे पनि नेपाल आइसकेपछि उनीहरू सरकारी निकायको सम्पर्कमा आउने गरेका छैनन्। वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा कानुनी कागजातविना वा अवैध रूपमा बसिरहेका नेपाली श्रमिकहरूले एक्जिट भिसा अर्थात् देश छोड्ने अनुमति पाएपछि आफ्नो देश फर्किने गर्दछन्। तर निकै चुनौतीको सामना गर्दै स्वदेश फर्किएका ती नागरिकहरू नेपाल आइपुगेपछि सरकार वा सम्बन्धित सरकारी निकायहरूको सम्पर्कमा नआएको मन्त्रालयका अधिकारीहरूले बताएका छन्। उनीहरू कहाँ छन्, कुन अवस्थामा छन् भन्ने जानकारी सरकारी संयन्त्रलाई हुँदैन भनी अधिकारीहरूले जानकारी दिएका छन्।
साउदी अरब स्थित नेपाली राजदूतावासले साउदी सरकारले अवैध रूपमा त्यहाँ रहेका विभिन्न जिल्लाका ६३ जना नेपालीलाई फाइनल एक्जिट भिसा दिएको उल्लेख गरेको छ। रियाद स्थित नेपाली दूतावासका अनुसार साउदी सरकारले इकामाको म्याद समाप्त भएका श्रमिकहरूलाई फाइनल एक्जिट भिसा दिँदै आएको छ। मन्त्रालयका अनुसार रोजगारदातालाई एक्जिट भिसा सम्बन्धी सहजीकरण गर्न निरन्तर आग्रह गरिएको छ। एक्जिट भिसा प्राप्त गरेका श्रमिकलाई स्वदेश फर्काउन नेपाली दूतावासले प्रशासनिक तथा कूटनीतिक समन्वय गर्दै आइरहेको छ।
दूतावासले रोजगारदाता पक्षसँग समन्वय गरेर उद्धार तथा स्वदेश फिर्ती प्रक्रियामा सहजीकरण गर्ने गरेको प्रवक्ता घिमिरेले बताए। यसरी एक्जिट भिसा प्राप्त गरेका श्रमिकहरूलाई आवश्यक सहयोग उपलब्ध गराई स्वदेश फर्काइने गरिएको उनले जानकारी दिए। घिमिरेका अनुसार गन्तव्य मुलुकमा रहेका नेपाली श्रमिकलाई सहजीकरण अर्थात् फेसिलिटेसन आवश्यक पर्छ र दूतावासले रोजगारदातासँग समन्वय गरी प्रशासनिक तवरबाट उद्धार र स्वदेश फर्काउने काम गरिरहेको छ।
के हो फाइनल एक्जिट भिसा?
साउदी अरब स्थायी रूपमा छोडेर सधैँका लागि आफ्नो देश फर्किने विदेशी नागरिकहरूलाई जारी गरिने अनिवार्य कानुनी अनुमतिपत्रलाई फाइनल एक्जिट भिसा भन्ने गरिन्छ। कुनै श्रमिक अवैध अवस्थामा रहेका, कानुनी कागजात नभएका, आवासीय अनुमतिपत्र अर्थात् इकामा नवीकरण नभएका वा कम्पनीबाट भागेका जस्ता कारणले उनीहरू सोझै विमानस्थल गएर देश छोड्न पाउँदैनन्। यस्ता श्रमिकहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउनका लागि रियाद स्थित नेपाली दूतावास वा महावाणिज्य दूतावासले साउदीको अध्यागमन विभागसँग आवश्यक समन्वय र प्रशासनिक सहजीकरण गरेर निःशुल्क फाइनल एक्जिट भिसा निकालिदिने गर्दछ। यसरी फाइनल एक्जिट भिसा पाएका श्रमिकहरूले पुनः पुरानै भिसामा साउदी आउन पाउँदैनन् र भविष्यमा जानु परेमा नयाँ भिसा नै बनाउनुपर्ने हुन्छ।
रियाद स्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा बस्न र काम गर्नका निम्ति विदेशी नागरिकलाई दिइने आधिकारिक परिचयपत्र अर्थात् वर्क पर्मिट (इकामा) को समय सकिएमा नेपाल फर्कन चाहने नेपाली श्रमिकले दूतावासमा उपस्थित भई तीन पानाको सिफारिसपत्र लिन दूतावासले आग्रह गरेको छ।
सो पत्र प्राप्त भएपछि निर्धारित वेबसाइटमा गएर खाता खोल्नुपर्छ। सो पेजमार्फत आफ्नो इकामा नम्बर, जन्म मिति (अरबी हिज्री पात्रो अनुसार) र मोबाइल नम्बर भेरिफिकेसन कोड भरेपछि डेक्लरेसन पेजमा गएर दर्ता गर्नुपर्ने दूतावासको भनाइ छ। साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालय (एचआरएसडी) बाट मोबाइलमा सन्देश प्राप्त भएपछि सो सन्देशमा आएको पासवर्डको प्रयोग गरी सम्बन्धित पेजमा इकामा नम्बर र पासवर्डसहित प्रवेश गरी फाइनल एक्जिटमा रिक्वेस्ट गरेर फारम भर्नुपर्नेछ।
फारम भरेको सन्देश सोही समयमा प्राप्त हुनेछ र केही हप्ता वा महिनापछि साउदीको मानव संसाधन मन्त्रालयबाट सन्देश प्राप्त भएपछि सो डिस्प्याच नम्बर वा क्यूआर कोडसहित आफ्नो सक्कल इकामा र राहदानी नेपाली राजदूतावासमा पेश गर्नुपर्नेछ। यसरी पेश भएको दुई हप्ताभित्र त्यहाँको गृह मन्त्रालय (एमओआई) वा नेपाली दूतावासबाट अन्तिम एक्जिट भिसाको जानकारी प्राप्त हुने दूतावासको भनाइ छ।