काठमाडौँ। सरकारले चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीमा जान ६९ लाखभन्दा बढीले नयाँ श्रम स्वीकृति लिएको जनाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार २०८२/८३ मा उक्त संख्यामा नयाँ श्रम स्वीकृति लिएका हुन्।
नयाँ आर्थिक सर्वेक्षणअनुसार फागुनसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ६९ लाख २३ हजार ४ सय ४३ पुगेको छ, जसमा महिला ७ दशमलव १ प्रतिशत तथा पुरुष ९२ दशमलव ९ प्रतिशत रहेका छन्।
अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १३ दशमलव ७ प्रतिशतले संकुचन भई २ लाख ७३ हजार ५ सय ३० रहेको छ। सो अवधिमा वैदेशिक रोजगारमा जान पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १५ दशमलव ९ प्रतिशतले वृद्धि भई २ लाख ५१ हजार ९ सय ८३ पुगेको छ।
आर्थिक सर्वेक्षण अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिने कामदारको संख्या ५ लाख २५ हजार ५ सय १३ पुगेको छ। सोमध्ये महिला १२ दशमलव १ प्रतिशत र पुरुष ८७ दशमलव ९ प्रतिशत रहेको पाइएको छ। सरकारी तथ्याङ्क अनुसार गत आर्थिक वर्षको सोही अवधिमा नयाँ र पुनः श्रम स्वीकृति लिने कामदारको संख्या ५ लाख ३४ हजार ४ सय ७१ रहेको थियो।
कुन देशमा कति श्रम स्वीकृति?
सरकारले १ सय ११ वटा देशमा रोजगारीका लागि आफ्नो नागरिक पठाउनका निम्ति कूटनीतिक सम्बन्ध एवं द्विपक्षीय सम्बन्ध राखेता पनि अधिकांश नेपाली नागरिकहरू मध्यपूर्वका देश साउदी अरब, कतार, दुबई, बहराइन, कुवेत लगायतका विभिन्न देशलाई आफ्नो कर्मथलो बनाएर काम गरिरहेका छन्। परम्परागत रूपमा खाडी मुलुकहरू नेपाली कामदारको प्रमुख श्रम गन्तव्य रहेकोमा पछिल्लो समयमा खाडी मुलुकका अतिरिक्त रोमानिया, जापान, दक्षिण कोरिया, सर्विया, माल्टा र पोर्चुगलजस्ता युरोपेली एवं विकसित देश आकर्षण गन्तव्य मुलुकको रूपमा विकास भएको मन्त्रालयले उल्लेख गरेको छ।
सरकारी आँकडा अनुसार आर्थिक वर्ष २०८२/८३ को फागुनसम्ममा २ लाख ७३ हजार ५ सय ३० जनाले श्रम स्वीकृति लिएका छन्, जसमध्ये २ लाख ३५ हजार ४ सय १८ जना पुरुष तथा ३८ हजार १ सय १२ जना महिलाले श्रम स्वीकृति लिएको पाइएको छ। सोमध्ये सबैभन्दा बढी साउदी अरब, मलेशिया, कतार, कुवेत, जापान लगायतका देश जानका लागि श्रम स्वीकृति लिएको मन्त्रालयले जारी गरेको सर्वेक्षणमा उल्लेख छ।
वैदेशिक रोजगार सम्बन्धी सेवा लिनेको संख्या
यता वैदेशिक रोजगारमा गएका श्रमिकहरूमध्ये ३ लाख ८४ हजार १२ जनाले विभिन्न शीर्षकमा तालिम तथा परामर्श लिएको पाइएको छ। मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २ लाख ७१ हजार ३ सय ८२ जनाले आप्रवासी श्रोत केन्द्रमा सेवा लिएका छन्। ४ हजार ५ सय २ जनाले कानुनी सहायता तथा परामर्श लिएका छन्। मनोसामाजिक परामर्श सेवामा ४ हजार ८ सय ५८ तथा २७ हजार ६ सय ७० जनाले वित्तीय साक्षरताको तालिम लिएका छन् भने सो समयमा वैदेशिक रोजगारीको क्रममा शारीरिक रूपमा अगंभगं तथा बिरामी भएका ६ सय १ कामदारले आर्थिक सहायता प्राप्त गरेका छन्। यस्तै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली श्रमिकका ३ हजार ४ सय ८७ जना सन्ततिले विभिन्न तहको अध्ययन गर्न छात्रवृत्ति पाएको मन्त्रालयले जनाएको छ।
२ हजार २ सय २९ रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचीकृत
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म २ हजार २ सय २९ रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन्। गत वर्षको सोही समयको तुलनामा यो संख्या १ हजार ७ सय ६६ रहेको सरकारी आँकडा रहेको छ। पछिल्लो समयमा औपचारिक क्षेत्रका ६ लाख ८५ हजार ४ सय ८७, वैदेशिक रोजगारमा रहेका २१ लाख ६४ हजार १ सय ५९, अनौपचारिक क्षेत्रका ९ सय ४ र स्वरोजगार क्षेत्रका ८ सय ३२ गरी २८ लाख ५१ हजार ३ सय ८२ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।