काठमाडाैं। नेपालको कुनै पनि गाउँमा जानुस्, कुनै पनि सहरको चियापसलमा बस्नुस्, कुराकानीको विषय प्रायः एउटै हुन्छ : ‘कहिले जाने विदेश?’ यो प्रश्न अब केवल सामान्य संवाद होइन, यो एउटा पुस्ताको मौन विद्रोह बनेको छ। देशप्रतिको असन्तुष्टि, व्यवस्थाप्रतिको अविश्वास र भविष्यप्रतिको अन्योलले गाँसिएको यो पुस्ता एकछिन नरोकिई सीमानातिर हिँडिरहेको छ।
अहिले नेपालमा १० कक्षा पास गरेको होस्, १२ सकेको होस्, वा अझ भनौँ भर्खर चार–पाँच कक्षामा पढ्दै गरेका बाल/बालिका नै किन नहुन्, धेरैजसोको लक्ष्य लगभग एउटै बनेको छ: विदेश जाने, पैसा कमाउने र कुनै न कुनै रूपमा नेपाल छोड्ने। यो केवल व्यक्तिगत निर्णय नभइ एउटा सामूहिक मनोविज्ञान बनेको छ, जसले समाजको बनोटलाई नै बदल्दैछ।
एकदम सीमित युवाहरू मात्र ‘देशमै केही गर्ने’, ‘व्यवसाय सुरु गर्ने’, ‘लोकसेवामा नाम निकाल्ने’, ‘परराष्ट्रमा नाम निकाल्ने’, ‘शिक्षक हुने’, ‘सेनामा भर्ती हुने’ वा ‘नेपालमै भविष्य निर्माण गर्ने’ सपना बोकेको देखिन्छन्। बाँकी अधिकांशका लागि सफलता भन्ने शब्द नै विदेशसँग जोडिन थालेको छ।
हुनेखाने वर्गको परिवारबाट आएको छ भने उसको पहिलो रोजाइ युरोप, अमेरिका वा अस्ट्रेलिया हुन्छ। पढाइमा अब्बल छ तर आर्थिक अवस्था कमजोर छ भने ऊ कोरियाली वा जापानी भाषा सिक्नतर्फ लाग्छ। यी दुवै वर्गमा नपर्नेहरू अन्ततः म्यानपावर कम्पनीको ढोका ढकढक्याउन पुग्छन्।
कसैले आफ्नो सपना खाडी मुलुकको तातो घाममा जलाउँछ, कसैले आमाको न्यानो काख बिर्सन्छ, कसैले देशप्रतिको माया नै विस्तारै त्याग्दै जान्छ। तर, यति भन्दै गर्दा विदेश जानु गलत हो भन्ने कदापि होइन। प्रश्न केवल यति हो–आखिर किन आजको युवा पुस्ताले आफ्नै देशमा भविष्य देख्ने विश्वास गुमाउँदै गएको छ ?
रेमिट्यान्सको खम्बामाथि उभिएको नेपाल
नेपालका अधिकांश मध्यमवर्गीय परिवार आज रेमिट्यान्सकै भरमा टिकिरहेका छन् भन्ने तथ्य कसैबाट लुकेको छैन। खाडी मुलुकमा रगत र पसिना बेचेर परिवारको भविष्य बनाउन संघर्ष गरिरहेका नेपालीहरूको कथा पीडादायी मात्र होइन, राज्यका लागि गम्भीर प्रश्न पनि हो। त्यही रेमिट्यान्सले छोराछोरीलाई गुणस्तरीय शिक्षा दिएको छ, बाबुआमाको उपचार गराएको छ, परिवारका साना–ठूला सपना पूरा गरेको छ। विदेशी मुद्रा भित्र्याउने प्रमुख स्रोत नै रेमिट्यान्स बनेको छ। धेरै अर्थमा नेपालको अर्थतन्त्र अहिले रेमिट्यान्सकै भरमा अडिएको छ।
एकपटक कल्पना गरौँ त–यदि रेमिट्यान्स अचानक बन्द भयो भने के हुन्छ ? संकुचित अर्थतन्त्र, बेरोजगारी, भोकमरी, सामाजिक अस्थिरता र आर्थिक हाहाकारको अवस्था। सोच्दा नै कस्तो दिक्क लाग्दो। कल्पनामा मात्र होइन, वास्तवमा नै यो परिस्थिति आउन समय लाग्दैन। यति हुँदाहुँदै एउटा गम्भीर सत्यलाई बेवास्ता गर्न पक्कै सकिँदैन : केवल रेमिट्यान्समा निर्भर कुनै पनि देशले दीर्घकालीन आर्थिक, औद्योगिक वा नीतिगत फड्को मार्न सक्दैन।
अरूले पठाएको पैसाले मात्र देश चलिरहने हो भने आत्मनिर्भरता, उत्पादन, नवप्रवर्तन र राष्ट्रिय आत्मविश्वास क्रमशः कमजोर बन्दै जान्छ। अनि युवाले देशमै भविष्य देख्ने आधार पनि हराउँदै जान्छ।
युवाले देशमै भविष्य किन देख्दैनन् ?
सीप र अवसरबीच खाडलः सामान्यतया, एक व्यक्तिले आफूले सिकेको सीप र अध्ययन अनुरूपको काम खोज्छ। आफ्नो मेहनतअनुसारको सम्मान र आम्दानी अपेक्षा गर्छ। तर नेपालमा यही कुरा सबैभन्दा कमजोर देखिन्छ।चार–पाँच वर्ष लगाएर इन्जिनियरिङ पढेको युवा प्राविधिक क्षेत्रमा अवसर नपाएर निराश हुन्छ। विज्ञान, प्रविधि, चिकित्सा, डेटा साइन्स, मेसिन लर्निङ, कानुन वा अनुसन्धानजस्ता विषयमा विशेषज्ञता हासिल गरेपछि पनि अन्ततः उसलाई असम्बन्धित क्षेत्रमा रोजगारी खोज्न बाध्य बनाइन्छ।
त्यसमाथि, लोकसेवाको तयारीमा ऐतिहासिक तथ्य र घोकन्ते प्रणालीको दबाब थपिन्छ। एउटा विषयमा त्यत्रो विज्ञता हासिल गरिसकेपछि जङ्गबहादुरका ४० वटा श्रीमतीका नाम सोधियो भने यस्तो अवस्थामा एउटा युवाले आफ्नो अध्ययन र सीपको वास्तविक उपयोग कहाँ गर्ने ? अनि किन बस्ने आफ्नै देशमा ?
डिग्री बढ्दो, रोजगारी घट्दोः हरेक वर्ष डिग्रीधारीको संख्या बढ्दै गएको छ, तर रोजगारीका अवसर घटिरहेका छन्। अवस्था यस्तो देखिन थालेको छ कि "डिग्री" र "रोजगारी" सँगै बढ्नुपर्ने ठाउँमा, डिग्री बढ्दै जाँदा रोजगारी झन् टाढिँदै गएको छ।
१० कक्षा पढाउन ब्याचलर, ११–१२ पढाउन मास्टर्स, अनि उच्च शिक्षामा पढाउन एमफिल वा पीएचडी आवश्यक पर्ने अवस्था छ। तर त्यही शिक्षा हासिल गर्न खर्चिएको लाखौँ रुपैयाँ फिर्ता कमाउनकै लागि जीवनको ठूलो हिस्सा बिताउनुपर्ने अवस्था आउँछ। यो एक दुष्चक्र हो, शिक्षामा लगानी गर्नुपर्छ, तर त्यो लगानीको प्रतिफल देशमै पाउन सकिँदैन। फलस्वरूप, शिक्षित युवा विदेशतिर आकर्षित हुन्छन्, जहाँ आफ्नो योग्यताअनुसारको काम र तलब पाउने सम्भावना बढी हुन्छ।
नातावाद, पहुँच र अनिश्चितताको चक्रः नेपालमा अवसरभन्दा पहुँच बलियो देखिन्छ। योग्यताभन्दा चिनजान प्रभावकारी हुन्छ। प्रक्रियाभन्दा सिफारिस छिटो चल्छ। सानोदेखि ठूला कामसम्म ढिलासुस्ती, राजनीतिक प्रभाव, नातावाद र कृपावाद हाबी देखिन्छ। परिणामस्वरूप, युवाहरू कठिनाइसँग होइन, देशको अनिश्चिततासँग थाकिरहेका हुन्छन्। मेहनत गर्दैमा परिणाम आउँछ भन्ने विश्वास हराउँदा, जो नेपालमा बस्छ ऊ "मूर्ख" र जो विदेश जान्छ ऊ "बुद्धिमान्" भन्ने धारणा पलाउँछ।
सामाजिक मनोविज्ञानको दबाबः आज समाजमा "विदेश गएको व्यक्ति सफल" भन्ने मान्यता बढ्दै गएको छ। विदेश जानुलाई प्रतिष्ठासँग जोड्ने सामाजिक मनोविज्ञानले देशमै केही गर्न खोज्ने युवालाई पनि मानसिक दबाबमा पारिरहेको छ।
देशमै बसेर संघर्ष गर्नुभन्दा विदेश जानुलाई ठूलो उपलब्धि मान्ने सोच नेपाली समाजमा सामान्य बन्दै गएको छ। घरपरिवारले नै "विदेश जाओ, पैसा कमाओ" भन्छन्। देशमा बसेर संघर्ष गर्ने सोचलाई प्रोत्साहन गर्नेभन्दा "किन यहाँ खेर फाल्छौ ?" भन्ने सुनाउँछन्।
राज्यको उद्यमशीलताप्रतिको उदासीनताः उद्यमशीलता, अनुसन्धान, नवप्रवर्तन र उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिन राज्य असफल देखिएको छ। नयाँ सोचलाई जोखिमका रूपमा हेर्ने, युवा उद्यमलाई पर्याप्त सहयोग नगर्ने, र सीप भएका युवालाई अवसर नदिने प्रवृत्तिले विदेश मोहलाई झन् तीव्र बनाएको छ। स्टार्टअप खोल्नु छ भने जटिल कानुनी प्रक्रिया, अनेक कार्यालयको धाउनु, र अन्ततः "बाबुसाहेब"को इशारा पर्खनुपर्ने अवस्था छ। यस्तोमा युवाको उत्साह र ऊर्जा कहाँ जाओस् ?
जनशक्ति पलायनको बहुआयामिक असर
यसको असर केवल अर्थतन्त्रमा मात्र सीमित छैन। जनशक्ति पलायनले परिवारमा दूरी बढाएको छ। बाबुआमा छोराछोरीविना बुढ्यौलीमा एक्लिन्छन्, श्रीमान्–श्रीमती वर्षौँसम्म टाढिन्छन्, बालबालिका आमाबाबुको न्यानोबिनै हुर्किन्छन्। गाउँघरमा काम गर्ने हात छैनन्। खेतबारी बाँझो छन्। जो उत्पादन गर्न सक्थे, ती नै विदेश छन्। "नेपालमा केही हुँदैन" भन्ने भाष्य तीव्र गतिमा फैलिरहेको छ। यो मानसिकताले नयाँ पुस्तालाई देशमा केही गर्ने प्रयास गर्नुअगावै निरुत्साहित गर्छ। जब एउटा युवाले आफ्नै देशमा भविष्य देख्न छोड्छ, तब देशले आफ्नो सम्भावना गुमाउन थाल्छ। हरेक प्रतिभाशाली युवाको प्रस्थान देशको सामर्थ्यमा एउटा ठूलो खाडल खन्छ।
केवल आलोचनाले मात्र देश बदलिँदैन। युवालाई रोक्न भावनात्मक भाषण मात्र पर्याप्त हुँदैन। जबसम्म शिक्षा प्रणालीलाई सीप र उद्योगसँग जोडिँदैन, स्थानीय उद्यमलाई प्रोत्साहन गरिँदैन, पारदर्शी अवसर सिर्जना हुँदैन, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिइँदैन, तबसम्म युवालाई देशमै बस्न आग्रह गर्नु केवल भाषणमै सीमित रहन्छ।
नीतिगत स्थिरता पनि त्यत्तिकै जरुरी छ। लगानीकर्ता र उद्यमीका लागि अनुकूल वातावरण निर्माण गर्न नीतिगत निरन्तरता अपरिहार्य छ। जहाँ सरकार फेरिँदासाथ नीति फेरिन्छ, त्यहाँ कोही दीर्घकालीन लगानी गर्दैन। सिफारिस र पहुँचको ठाउँमा क्षमता र योग्यतालाई प्राथमिकता दिने व्यवस्था नबनेसम्म मेहनती युवाको देशप्रतिको मोह टुट्दै जाने नै छ। युवालाई देशमै रोक्न "देशप्रेम" मात्र होइन, अवसर चाहिन्छ। भावना मात्र होइन, भविष्य चाहिन्छ।
अन्ततः प्रश्न "युवा किन विदेश गयो ?" भन्ने होइन। आखिर किन यस्तो वातावरण बन्यो, जहाँ देशमै केही गर्ने निर्णय असामान्य बन्न थाल्यो ? तर यति भन्दै गर्दा यसको अर्थ नेपालमा सम्भावना नै छैन भन्ने पक्कै पनि होइन। नेपाल अवसरविहीन देश होइन, बरु सही नीति, दृष्टिकोण र वातावरणको अभावले सम्भावनाहरू ओझेलमा परिरहेका छन्। नेपाल एउटा यस्तो देश हो जहाँ साना लघुउद्यमदेखि ठूला व्यवसायसम्म सञ्चालन हुने पर्याप्त आधार र सम्भावना छन्। मेहनत गर्न सक्ने व्यक्तिका लागि सामान्य जीवनयापन गर्न यहाँ अझै पनि धेरै देशको तुलनामा सहज वातावरण भेटिन्छ।
प्राकृतिक स्रोत, पर्यटन, कृषि, जलस्रोत, सूचना प्रविधि, भाषा, संस्कृति र सामाजिक विविधताले भरिएको नेपालमा अवसरको कमीभन्दा पनि ती अवसरलाई व्यवस्थित रूपमा उपयोग गर्न नसकिएको वास्तविकता बढी देखिन्छ। नेपालमा सम्भावना अभाव होइन। सम्भावनालाई अवसरमा रूपान्तरण गर्ने राज्यको दृष्टि, नीतिगत स्थिरता र युवामैत्री वातावरणको अभावमा छ। यही कारणले अपार सम्भावना हुँदाहुँदै पनि धेरै युवाले आफ्नै देशमा भविष्य खोज्न छोड्दै गएका छन्।
रेमिट्यान्सले आजको नेपाललाई धान्न सक्ला। भोलिको नेपाल निर्माण गर्न युवाको सीप, विश्वास, परिश्रम र सहभागिता पक्कै पनि आवश्यक पर्छ। देशलाई युवाको आवश्यकता छ। तर, युवालाई देशमै राख्न अवसरको आवश्यकता छ। जुन दिन नेपालले युवाको सीपलाई देशभित्रै सदुपयोग गर्ने वातावरण बनाउन सक्छ, त्यही दिनबाट नेपालको वास्तविक विकासयात्रा सुरु हुनेछ। त्यो दिन नआउञ्जेल रेमिट्यान्सको आँकडा बढ्दै जानेछ र त्यसँगै विदेशिने युवाको संख्या पनि।