काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
कुल बजेटमध्ये चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् ५९.८ प्रतिशत विनियोजन गरिएको छ। त्यस्तै पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ अर्थात् २०.३ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत बजेट छुट्याइएको छ।
सरकारका अनुसार आगामी वर्षको कुल खर्च अनुमान चालू आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा २५.२ प्रतिशतले बढी हो।
बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनतर्फ सरकारले राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ जुटाउने लक्ष्य लिएको छ। तर, यी स्रोतबाट पनि ६ खर्ब ५७ अर्ब २९ करोड रुपैयाँ अपुग हुने अनुमान गरिएको छ।
सो अभाव पूर्ति गर्न सरकारले २ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ वैदेशिक ऋण परिचालन गर्ने योजना बनाएको छ। त्यसैगरी बाँकी ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण मार्फत जुटाइनेछ।
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षमा २ खर्ब ४५ अर्ब ८९ करोड रुपैयाँ आन्तरिक ऋणको साँवा भुक्तानी गर्नुपर्ने भएकाले खुद रूपमा १ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ मात्र नयाँ आन्तरिक ऋण परिचालन हुने जानकारी दिए।
सरकारले बजेटमार्फत आर्थिक वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास तथा निजी क्षेत्रको लगानी विस्तारलाई प्राथमिकता दिएको बताएको छ।