काठमाडौं। मालिका स्टील्सको वार्षिक व्यापार अर्ब नाघेको छ। सुदूरपश्चिमको कैलालीस्थित टीकापुरमा सञ्चालित फलामजन्य तार र सम्बन्धित उत्पादन गर्ने यो उद्योगले गत आथिक वर्ष २०२५ मा १ अर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो।
केयर रेटिङ नेपालको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीले अघिल्लो आव २०२४ मा ९४ करोड १० लाख रुपैयाँको व्यापार गरेके थियो। एक वर्षमा कम्पनीको व्यापार करिब २६.३३ प्रतिशतले वृद्धि भएको हो।
उत्पादन क्षमतामा गरिएको वृद्धि र बजारमा माग बढेकाले व्यापारिक ग्राफ उकालो लागेसँगै केयर रेटिङ नेपालले कम्पनीले बैंकहरूबाट उपयोग गरिरहेको कुल १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ बराबरको ऋण सुविधाका लागि साख (रेटिङ) पुनः पुष्टि गरेको छ।
केयरले कम्पनीको २७ करोड ६५ लाख रुपैयाँ बराबरको दीर्घकालीन ऋणका लागि ‘सिंगल बी प्लस’ र ९४ करोड ११ लाख रुपैयाँ बराबरको अल्पकालीन ऋणका लागि ‘एफोर’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको ऋण भुक्तानी क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
सञ्चालनको सुरुवाती वर्षहरूमा नोक्सानीमा रहेको मालिका स्टील्सले पछिल्लो वर्ष नाफामा उल्लेख्य सुधार गरेको छ। आव २०२३/२४ मा ३.५३ प्रतिशत मात्र रहेको सञ्चालन नाफा सुधारिएर ११.०४ प्रतिशत पुगेको छ। कम्पनीले आव २०२४/२५ मा ३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्ष ऋणात्मक थियो।
कम्पनीले नयाँ मेसिनरी थप गरेको र विद्युत् खर्च घटाउन सौर्य ऊर्जा (सोलर प्यानल) जडान गरेकाले सञ्चालन लागत घटेर नाफामा सुधार आएको प्रतिवेदनमा उल्लेख छ। यद्यपि, कम्पनीको पुँजीगत संरचना अझै पनि ऋणमा बढी आश्रित छ।
ऋण र नेटवर्थको अनुपात ४.०० गुणा रहेको छ। जुन अघिल्लो वर्ष ६.४३ गुणा थियो। नाफा बढेर सञ्चित भएपछि यो अनुपातमा सुधार देखिएको हो। कम्पनीको ब्याज तिर्न सक्ने क्षमता १.७३ गुणा रहेको छ।
सन् २०२१ मा स्थापना भई २०२२ नोभेम्बरदेखि व्यावसायिक उत्पादन सुरु गरेको यस कम्पनीमा ६ जना व्यक्तिगत र ३ वटा संस्थागत प्रवद्र्धकहरूको लगानी रहेको छ। कम्पनीको नेतृत्व अध्यक्ष टीकाराम जैसीले गरिरहेका छन्। जोसँग हार्डवेयर र स्टील व्यापारमा दुई दशकभन्दा लामो अनुभव छ। कम्पनीमा ‘मालिका इन्कर्पोरेट’, ‘रोशनी इन्टरनेसनल एग्रो’ र ‘श्री मालिका देवी इन्भेस्टमेन्ट’ जस्ता संस्थाहरूको संस्थागत लगानी रहेको छ।
कैलालीको टीकापुरमा रहेको यो उद्योगको वार्षिक उत्पादन क्षमता २६ हजार ८१२ मेट्रिक टन रहेको छ। कम्पनीले मुख्यतया जीआई वायर, काँटी, मेसिन मेड तारजाली, काँडेतार, पेच र सटर स्प्रिङ उत्पादन गर्दै आएको छ। सुदूरपश्चिम क्षेत्रमा यी सामग्रीको ठूलो बजार पकड रहेको मालिका स्टील्सले पछिल्लो समय भारततर्फ समेत निर्यातको सम्भावना खोजी गरिरहेको छ।
टीकापुर खानी र भारतीय सीमा (सती नाका) बाट मात्र २० किलोमिटरको दूरीमा कारखाना हुनुले कच्चा पदार्थ आयातमा ढुवानी लागतको ठूलो लाभ मिलेको छ।
कम्पनीका सामु केही प्राविधिक र व्यावसायिक चुनौतीहरू पनि छन्। तार र डन्डी उद्योगमा कच्चा पदार्थको ९० प्रतिशत हिस्सा भारतबाट आयात हुने ‘माइल्ड स्टील वायर रड’ले ओगट्छ। यसको मूल्य अन्तर्राष्ट्रिय बजार र डलरको विनिमय दरमा हुने उतार-चढावप्रति निकै संवेदनशील हुन्छ।
स्टील वायर उद्योगमा रहेको तीव्र प्रतिस्पर्धा र चालू पुँजीको सघनता अर्को चुनौती हो। कम्पनीको व्यापारिक चक्र ७८ दिनको रहेको छ भने यसले बैंकबाट स्वीकृत ऋण सीमाको करिब ९० देखि १०० प्रतिशत हिस्सा सधैँ उपयोग गरिरहनु परेको छ।
चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा कम्पनीले ७५ करोड १० लाख रुपैयाँको व्यापार गरिसकेको छ। आगामी दिनमा नाफाको मार्जिनलाई स्थिर राख्दै ऋणको भार घटाउनु नै मालिका स्टील्सको मुख्य कार्यभार हुने रेटिङ प्रतिवेदनले औंल्याएको छ।