काठमाडौं। नेपालको औद्योगिक कोरिडोर बारामा सञ्चालित अशोक स्टील इन्डस्ट्रिजले व्यापारमा सुधार गरे पनि ऋणको उच्च भार र न्यून नाफाका कारण वित्तीय रूपमा दबाब झेल्नुपरेको छ।
केयर रेटिङ नेपालको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०२५ मा कुल ४ अर्ब ३४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ। यो अघिल्लो वर्षको ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँको तुलनामा करिब २१ प्रतिशतको वृद्धि हो।
बजारमा डन्डीको मागमा आएको क्रमिक सुधार र ‘अशोक टीएमटी’ ब्रान्डको देशव्यापी पहुँचका कारण व्यापार बढेको देखिए पनि कम्पनीको वित्तीय साख (रेटिङ)मा सुधार हुन सकेको छैन। केयर रेटिङ नेपालले कम्पनीले बैंकहरूबाट उपयोग गरिरहेको कुल ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको ऋण सुविधाका लागि ‘सिंगल बी प्लस’ र ‘एफोर’ रेटिङलाई पुनः पुष्टि गरेको छ।
केयर रेटिङले दीर्घकालिन कर्जाको ‘बि प्लस’ रेटिङलाई घटाएर सिंगल बि र एफोर रेटिङ पुन: पुष्टी गरेको हो। यी रेटिङले कम्पनीको ऋण भुक्तानी क्षमतामा उच्च जोखिम रहेको र वित्तीय सुरक्षाको आधार कमजोर रहेको संकेत गर्छ।
सन् १९८४ मा स्थापना भई १९८६ देखि सञ्चालनमा आएको यस उद्योगमा नेपालका दुई प्रख्यात व्यावसायिक घराना विशाल ग्रुप र गोल्छा अर्गनाइजेसनसँग आबद्ध व्यक्तिहरूको मुख्य लगानी रहेको छ।
कम्पनीको नेतृत्व अध्यक्ष एवं प्रबन्ध निर्देशक पुनम चन्द अग्रवालले गरिरहेका छन्, जोसँग स्टील उद्योगमा ३० वर्षभन्दा लामो अनुभव छ। प्रवर्द्धकहरूले आवश्यक पर्दा कम्पनीलाई ‘डिरेक्टर लोन’मार्फत वित्तीय सहयोग उपलब्ध गराउँदै आएका छन्। तीन दशकभन्दा लामो इतिहास र स्थापित ब्रान्ड पहिचान नै कम्पनीको मुख्य सबल पक्ष हो।
अर्कोतर्फ, अशोक स्टीलको सबैभन्दा ठूलो चुनौती यसको अत्यधिक ऋणमा आधारित पुँजी संरचना हो। प्रतिवेदनअनुसार कम्पनीले बैंकहरूबाट १ अर्ब ३८ करोड ६ लाख रुपैयाँ दीर्घकालीन ऋण र २ अर्ब ४ करोड ९४ लाख रुपैयाँ अल्पकालीन ऋण गरी कुल ३ अर्ब ४३ करोड ऋण सीमा उपयोग गरिरहेको छ।
कम्पनीको ऋण र स्वपुँजीको अनुपात ६.२३ गुणा र समग्र गेयरिङ अनुपात १४.६८ गुणा रहेको छ। जसले सञ्चालकहरूको लगानीको तुलनामा बैंकको ऋण निकै बढी रहेको देखाउँछ। ऋणको यो भार आम्दानीको तुलनामा निकै उच्च भएकाले कम्पनीको वित्तीय लचकता निकै कमजोर छ रिपोर्टमा उल्लेख छ।
व्यापारको आकार बढे पनि उत्पादन लागत वृद्धिका कारण कम्पनीको नाफाको मार्जिन खुम्चिएको छ। आव २०२३/२४ मा ९.६९ प्रतिशत रहेको सञ्चालन नाफा पछिल्लो वर्ष घटेर ७.५६ प्रतिशतमा झरेको छ। कम्पनीले बैंकको ब्याज तिर्न सक्ने क्षमता अर्थात् ‘इन्ट्रेस्ट कभरेज रेसियो’ १.३० गुणा मात्र रहेको छ।
यसको अर्थ कम्पनीले आफ्नो सञ्चालन नाफाबाट बैंकको ब्याज सजिलै भुक्तानी गर्न सक्ने अवस्थामा अझै पुग्न सकेको छैन। अघिल्लो वर्ष यस्तो क्षमता १.१४ गुणा मात्र थियो। ब्याजदरमा आएको सामान्य गिरावटले गर्दा यो सूचकमा झिनो सुधार देखिए पनि यो अझै सन्तोषजनक छैन।
अशोक स्टीलले टीएमटी डन्डी उत्पादनका लागि चाहिने मुख्य कच्चा पदार्थ (स्पन्ज आइरन, पिग आइरन र स्क्राप) भारतबाट आयात गर्दछ। कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार र डलरको विनिमय दरसँग जोडिने भएकाले कम्पनीको नाफा सधैं जोखिममा रहन्छ। त्यस्तै, स्टिल उद्योगमा रहेको चर्को प्रतिस्पर्धाका बीच मूल्य निर्धारणमा कम्पनीको क्षमता सीमित छ।
कम्पनीको चालू पुँजीको व्यवस्थापन पनि चुनौतीपूर्ण देखिएको छ। कच्चा पदार्थको ठूलो मौज्दात राख्नुपर्ने र बजारको उधारो असुलीमा समय लाग्ने भएकाले यसको व्यापारिक चक्र २१९ दिनको रहेको छ। कम्पनीले बैंकबाट पाएको ऋण सीमाको ९० प्रतिशत हिस्सा सधैं उपयोग गरिरहनुपर्ने बाध्यता छ। आगामी दिनमा नाफाको मार्जिन सुधार्नु र बैंक ऋणको भार घटाउनु नै अशोक स्टीलका लागि मुख्य चुनौती हुने रेटिङ प्रतिवेदनले निष्कर्ष निकालेको छ।