काठमाडौं। चौधरी ग्रुपले भारतको एमएलए ग्रुपसँगको साझेदारीमा सिलगुडीमा पाँचतारे लक्जरी होटल ‘जेडब्लु म्यारियट’ बनाउने भएको छ। नेपालसहित विश्वभर आक्रामक रुपमा होटल तथा रिसोर्ट निर्माणसँगै सञ्चालन गरिरहेको चौधरी ग्रुपअन्तर्गतको सीजी कर्प ग्लोबलले भारतको प्रतिष्ठित व्यवसायिक एमएलए ग्रुपसँगको साझेदारीमा पाँचतारे होटल ‘जेडब्लु म्यारियट’ बनाउन लागिएको प्रबन्ध निर्देशक राहुल चौधरीले जानकारी दिए।
सीजी हस्पिटालिटी ग्लोबलमार्फत विश्व बजारमा एकपछि अर्को होटलहरु सञ्चालन गरिरहेको बेला आइतबार म्यारियट इन्टरनेशनलसँग विषेश सम्झौतासमेत गरेको छ। म्यारियटसँग काठमाडौंमा एक साथ दुई वटा लक्जरी पाँचतारे होटलका लागि गरिएको सम्झौताका क्रममा सीजी हस्पिटालिटीले भारतको सिलगुडीमा निर्माण हुने ‘जेडब्लु म्यारियट’का लागि पनि सम्झौता गरेको हो।
आइतबार भएको सम्झौता पत्रमा म्यारियट इन्टरनेशनल इंक दक्षिण एशियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोट, सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरी, सीजी ग्रुपका प्रबन्ध निर्देशक बरुण चौधरी र एमलए ग्रुपका प्रबन्ध निर्देशक सुशीलकुमार अग्रवालले संयुक्त रुपमा हस्ताक्षर गरे।
हस्ताक्षरपछि क्यापिटल नेपालसँग कुरा गर्दै सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुलले तीन वर्षपछि सञ्चालनमा आउने गरी सिलगुडीमा जेडब्लु म्यारियटको निर्माण हुने जानकारी दिए।
पछिल्लो समय सिलगुडीमा बढ्दो विदेशी पर्यटकहरुको संख्यालाई ध्यानमा राख्दै लक्जरी होटल निर्माण गर्न लागिएको उनको भनाइ छ। भारतको प्रतिष्ठित व्यवसायिक साझेदारको कारणले आफूहरुलाई अझ धेरै सहज हुने उनले बताए।
यद्यपि, होटलमा कति वटा कोठाहरु हुने र कति लगानी हुन्छ? भन्ने जानकारी सार्वजनिक गरिएको छैन। चौधरी ग्रुपअन्तर्गतको हस्पिटालिटी शाखा सीजी हस्पिटालिटीसँग १२ देशका १३० गन्तव्यमा फैलिएका २२० भन्दा बढी होटल तथा रिसोर्ट र १३ हजार ८३५ भन्दा बढीको विविध पोर्टफोलियो छ।
सीजी हस्पिटालिटीको पोर्टफोलियोमा माल्दिभ्सको ताज एक्सोटिका रिसोर्ट एण्ड स्पा, श्रीलंकाको जेटविङ विल उयाना तथा ताज समुद्र, फिलिपिन्सको द फार्म एट सान बेनिटो, नेपालको मेघौली सेराइ-अ ताज सफारिज लज, दुबईको ताज जुमेराह लेक्स टावर्स तथा केन्याको फेयरमन्ट द नोरफोक र फेयरमन्ट मारा सफारी क्लब, न्यूयोर्कको डबल ट्री बाई हिल्टन जेएफके एयरपोर्ट लगायतका विश्वप्रसिद्ध प्रपटिहरू समावेश छन्।
एमएलए समूह
भारतको एमएलए समूहले औद्योगिक कच्चा पदार्थ तथा विशेष रसायन उत्पादनमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै विभिन्न उद्योगका लागि आवश्यक उत्पादनहरू उपलब्ध गराउँदै आएको जनाएको छ।
कम्पनीले मेटालिक स्टियरेट्स, पीभीसी हीट स्टेबिलाइजर, प्रेसिपिटेटेड सिलिका, एल्युमिनियम सिलिकेट, एडीसी (ब्लोइङ एजेन्ट), एस्टर लुब्रिकेन्ट, एक्टिभ जिंक अक्साइड, स्नो ह्वाइट चाइना क्ले, पीई वेक्स, वन–प्याक लुब्रिकेन्ट तथा औषधि उद्योगमा प्रयोग हुने एक्सिपियन्ट्स समावेश छन्। यी उत्पादनहरू प्लास्टिक, पेन्ट, रबर, डिटर्जेन्ट र औषधि लगायतका उद्योगहरूमा व्यापक रूपमा प्रयोग हुँदै आएका छन्।