काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक ढिलो गरी सुरु भएको छ। बिहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो १ बजे सुरु भएको हो।
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि नेपाली कांग्रेसलगायतका विपक्षी दलले रोस्ट्रममै उभिएर माफी माग्नुपर्ने मागसहित संसद् बैठक अवरुद्ध गर्दै आएका छन्।
उक्त अभिव्यक्ति पुष्टि हुने प्रमाण दिन वा रेकर्डबाट उक्त अभिव्यक्ति हटाउन प्रतिपक्षी दलहरूले माग गर्दै आएका छन्।
आजको बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए। एमाले संसदीय दल उपप्रमुख पद्मा अर्यालले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन आग्रह गरिन्।
एमाले प्रमुख सचेतक ऐन महरले नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदमा विरोध जारी रहने बताए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै महरले विरोध जारी रहने बताएका हुन्।
बैठकमा रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमण र संसदमा देखिएको गतिरोध अन्त्यको विषयमा छलफल भएको थियो। तर, दुवै विषयमा रास्वपाको प्रस्ट धारणा नआएको महरले बताए।
संसद्को अवरोध हटाउने विषयमा पनि कुनै सहमति भएन। यसबारे सभापति लामिछानेले पार्टीभित्र र प्रधानमन्त्रीसँग छलफल गरेर मात्र निर्णयमा पुग्न सक्ने जवाफ दिएकाले संसद् अवरोध निरन्तर रहने निर्णय गरिएको उनको भनाइ छ।
महरले भने, ‘संसद् अवरोध गर्ने हाम्रो चाहना होइन । प्रधानमन्त्रीले तुरुन्तै संसदमा आएर जवाफ दिनुपर्छ भन्यौं। सार्वभौम संसदमा जवाफ दिने विषयमा सभापतिले पार्टीभित्र छलफल गर्छौं तर अहिले संसदमा जवाफ दिनुहुँदैन भन्नुभयो। त्यसो हुँदा संसद् अवरोध गर्छौं।’